काठमाडौं । ‘जेन-जी’ आन्दोलनपछि नयाँ राजनीतिक दल दर्ता गर्ने क्रम बढेको छ । आन्दोलनपछि आगामी फागुनमा तोकिएको निर्वाचनलक्षित गर्दै धमाधम दल दर्ता गर्ने क्रम बढेको हो । आन्दोलनपछि नयाँ पुस्ताका युवाहरूले नेतृत्व गर्ने पार्टीहरू दर्ता गर्न खोज्दै गर्दा पुरानाहरू पनि दल दर्ता गर्न तँछाडमछाड गरिरहेका छन् । यसअघि नै निर्वाचन आयोगमा १२५ दल दर्ता थिए । आन्दोलनपछि थप १८ दल दर्ताका लागि आएको आयोगले जनाएको छ । आयोगका अनुसार उनीहरू दर्ता प्रक्रियामा छन् । मंसिर १ देखि १० गतेसम्म निर्वाचन प्रयोजनका लागि दल दर्ता खुला गरिएको छ । शुक्रबार मात्रै पाँच नयाँ दलले दर्ता निवेदन दिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो । निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता मंसिर १ देखि १० गतेसम्म राखिएको र कार्तिक मसान्तसम्म दल दर्ताको प्रमाणपत्र प्राप्त गरिसकेका दलहरूले निर्वाचनमा भाग लिन दल दर्ता गर्नसक्ने आयोगले जनाएको छ ।
निर्वाचन हुने/नहुनेमा प्रमुख दलहरूले आशंका गरिरहेका बेला देशभर मतदाता नामावली संकलन पनि उत्साहजनक रहेको आयोगले जनाएको छ । एमालेले संसद् पुनःस्थापनालाई प्राथमिकता दिएको छ । कांग्रेसले स्पष्ट धारणा सार्वजनिक गरिसकेको छैन । कात्तिक ३० गतेसम्म मतदाता नामावली दर्ता खुला गरिएको छ । आयोगका अनुसार शुक्रबारसम्म एक लाख १४ हजारभन्दा बढी नयाँ मतदाता नामावलीमा दर्ता भइसकेका छन् ।
भदौ २३ र २४ गते ‘जेन-जी’ आन्दोलन भएको थियो, आन्दोलनमा कम्तीमा ७५ जनाको ज्यान गएको थियो । आन्दोलनकारीहरूले संसद् भवन, सिंहदरबार, सर्वोच्च अदालत र राजनीतिज्ञहरूका घरहरूमा आगजनी गरेका थिए, जसले देशलाई अराजकतातर्फ धकेलेको थियो । आन्दोलनको दबाबमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २४ गते राजीनामा दिनुभएको थियो । आन्दोलनपछि पूर्व–प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएको छ, जसले संसद् विघटन गरी फागुन २१ गते निर्वाचन घोषणा गरेको छ ।
निर्वाचनका लागि ६० प्रतिशत काम सकियो
माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचन र फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ६० प्रतिशत काम सम्पन्न भएको आयोगले जनाएको छ । सिंहदरबारमा बसेको राष्ट्रियसभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा निर्वाचनको तयारी ६० प्रतिशत सकिएको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बताउनुभयो । उहाँका अनुसार शुक्रबारबाट कानुनअनुसार निर्वाचनको अवधि प्रारम्भ भएको छ । चार महिना निर्वाचन अवधि हुने कुरा विश्वव्यापी मान्यता रहेको उहाँले बताउनुभयो । चार महिनामा निर्वाचन सम्पन्न गराउन आयोगलाई कुनै आपत्ति नरहेको पनि उहाँले स्पष्ट पार्नुभयो । विदेशमा रहेका नेपालीका लागि मतदान गर्ने व्यवस्थामा सरकारले कानुन बनाएर दिए निर्वाचन आयोग कुनै पनि समयमा कार्यान्वयन गर्न तयार रहेको उहाँको भनाइ छ ।
विदेशमा रहेका मतदाताका लागि मताधिकार सुनिश्चित गर्न तत्कालका लागि कठिन रहेको भण्डारीले बताउनुभयो । आयोगले मतदाता नामावली संकलनको काम घनिभूत रूपमा गरेको र उत्साहजनक उपस्थिति रहेको उहाँले दाबी गर्नुभयो ।
नेपाली मतदाताहरू विश्वका १७० भन्दा बढी मुलुकमा रहेकाले विधेयक ल्याएर मात्रै पनि सम्भव नहुने उहाँको भनाइ छ । ती देशहरूमा रहेका मतदाताहरूको मत संकलन गर्न कठिन रहेको उहाँले बताउनुभयो । नेपालको करिब ३९ वटा मुलुकमा मात्रै कूटनीतिक सम्बन्ध रहेकाले अन्य मुलुकमा जाने प्रयोजनका लागि सरकारले सहजीकरण गर्न जरुरी रहेको उहाँले स्पष्ट पार्नुभयो ।
मतदाता नामावली संकलन उत्साहजनक : आयोग
आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि देशव्यापी मदाता नामावली संकलन जारी छ । पछिल्लो समयमा नागरिकको उत्साहजनक रूपमा मतदाता नामावली संकलन अगाडि बढिरहेको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो । आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन हुँदै छ । निर्वाचनका लागि मतदाता नामावलीमा नाम दर्ता भएकामध्ये फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुने मतदाताले मात्र मतदान गर्न पाउनेछन् । आयोगका अनुसार सो मितिसम्म १८ वर्ष उमेर पूरा हुने र नागरिकताको प्रमाणपत्र प्राप्त गरेका सबै नेपाली नागरिकले यही कात्तिक ३० गतेभित्र मतदाता नामावलीमा नाम दर्ता गराउन पुनः अनुरोध गरिएको छ । मतदाता नामावली दर्तामा अधिक सहभागिताका कारण मतदाता नामावली दर्ता सर्भरमा अत्यधिक चाप पर्न गई सेवाग्राहीलाई सेवा लिन असहज भएको गुनासो आउने गरेको आयोगले जनाएको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएपश्चात् विगतमा जस्तै १६ वर्ष उमेर पूरा भई नागरिकताको प्रमाणपत्र प्राप्त गरेका सबै नेपाली नागरिकले मतदाता नामावलीमा नाम दर्ता गर्न पाउनेछन् । निर्वाचन घोषणा भएपछि मात्रै करिब डेढ लाख नागरिकले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । निर्वाचन आयोगका अनुसार शुक्रबार साँझसम्म एक लाख १४ हजार ६५७ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका हुन् । जसमा ८७ हजार ९७४ जना पुरुष, ५८ हजार ६६३ महिला र २० जना यौनिक तथा लैंगिक अल्पसंख्यक अर्थात् अन्य व्यक्तिले मतदाता नामावलीमा नाम दर्ता गराएको आयोगले जनाएको छ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच