काठमाडौं । नेपालका कम्युनिष्ट पार्टीहरूमा संस्थापना कालदेखि नै फुट्ने र जोडिने क्रम निरन्तर जारी छ । नेपाल कम्युनिष्ट पार्टी ७६ वर्षको इतिहासमा बारम्बार फुट्दै र जुट्दै आएको छ । २००६ साल वैशाख १० गते भारतको कोलकातामा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएयता, यो पार्टी विभिन्न चिरामा विभाजित हुँदै आएको छ । नेकपाका संस्थापक नेता पुष्पलाल श्रेष्ठ, नरबहादुर कर्माचार्य, नीरञ्जन गोविन्द वैद्य, नारायणविलास श्रेष्ठ र मोतीदेवी हुन् । ७६ वर्षको लामो इतिहासमा नेकपा माओवादी केन्द्र र नेकपा एमाले सबैभन्दा बढीपटक फुटेका र फेरि एकत्रित भएका छन् ।
१० वर्षे सशस्त्र क्रान्ति गरेर २०६२/६३ सालको जनआन्दोलनपछि शान्तिपूर्ण राजनीतिमा आएको नेकपा माओवादी छोटो अवधिमा सबैभन्दा बढीपटक फुटेको छ । शान्तिपूर्ण राजनीति सुरु गरेपछि फुट्न सुरु गरेका माओवादी अहिले झण्डै एक दर्जन चिरामा विभाजित हुन पुगेको छ । २०६४ सालमा भएको संविधानसभापछि माओवादीबाट मोहन वैद्य नेतृत्वमा पार्टी फुट्यो । २०७२ सालमा संविधानसभाबाट संविधान जारी भएपछि डा. डाबुराम भट्टराईको नेतृत्वमा एक समूहले पार्टी छोड्यो । माओवादीबाट छुट्टिएर बनेको मोहन वैद्य नेतृत्व पार्टी पनि विभिन्न भागमा बाँडियो । वैद्यबाट नेत्रविक्रम चन्द नेतृत्वमा छुट्टै दलको गठन भयो । विप्लव नेतृत्वको दल पनि अहिले विभिन्न चिरामा विभाजन भइसकेको छ ।
माओवादी केन्द्रपछि ७६ वर्षको इतिहासमा नेकपा एमाले धेरैपटक फुटेको छ । २०१० मा पार्टीको पहिलो महाधिवेशनमा मनमोहन अधिकारी महासचिवमा निर्वाचित भए । १४ सालको दोस्रो महाधिवेशनबाट केशरजंग रायमाझी महासचिव बने । राजालाई मानेर अघि बढ्नुपर्छ भन्ने लाइनका रायमाझीकै कारण २०१७ सालपछि कम्युनिष्ट पार्टी पहिलोपटक विभाजन भयो । २०२३ सालसम्म आइपुग्दा नेकपाको पूर्व मेची कोसी प्रान्तीय कमिटी गठन भयो । यस्तै, रायमाझीको समूह अलग भयो । एक वर्षपछि पुष्पलालले नेकपाको तेस्रो महाधिवेशन गराए । २०२५ सालमा तुलसीलाल अमात्य र पुष्पलाल अलग भए । २०४६ को आन्दोलनअघि मनमोहन अधिकारी र सिपी मैनालीको पार्टीबीच एकता भएर नेकपा एमालेको गठन भएको थियो । एमालेको महासचिवमा मदन भण्डारी थिए । तर, भारतसँग गरेको महाकाली सन्धिलाई लिएर पार्टीभित्र तीव्र मतभेद चल्यो । माधवकुमार नेपाल र केपी ओली सम्झौताको पक्षमा उभिँदा वामदेव गौतम विपक्षमा उभिए । अन्ततः गौतमले २०५४ सालमा एमाले फुटाएर नेकपा माले अस्तित्वमा आयो ।
नेपाल कम्युनिष्ट पार्टीको ७६ वर्षे इतिहासमा केही ठूला एकता पनि भएका छन् । २०७५ सालमा माओवादी र एमालेबीच एकता भएर नेकपा बन्यो । नेपालको कम्युनिष्ट पार्टीको इतिहासमा यो नै सबैभन्दा ठूला एकता मान्ने मत पनि छ । मुलुकका दुई ठूला कम्युनिष्ट पार्टीबीचको एकतापछि नै संघीय प्रतिनिधिसभामा झण्डै दुई तिहाइको सरकार बन्यो । सात प्रदेशमध्ये ६ वटा प्रदेशमा नेकपाकै सरकार थियो । २०७७ फागुन २३ गते सर्वोच्च अदालतले एमाले र माओवादीबीचको एकतालाई पुरानै अवस्थामा फर्काइदिएपछि विवादमा रुमल्लिँदै आएको एमाले विभाजन भयो । एमालेबाट छुट्टिएर पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी गठन भयो ।
गत भदौ २३ र २४ मा भएको ‘जेन-जी’ प्रदर्शनपछि नेपालका राजनीतिक पार्टीहरू ध्रुवीकरण र विभाजन हुन थालेका छन् । ‘जेन-जी’ प्रदर्शनपछि राजनीतिक, सामाजिक र आर्थिक रूपमा नै देशमा उथलपुथल भएको छ । ‘जेन-जी’ प्रदर्शनको सबैभन्दा बढी प्रभाव नेपालका कम्युनिष्ट पार्टीहरूमा पुनःदेखिएको छ । लामो समय समाजवादी मोर्चामा रहेका तीन पार्टी र अन्य सातवटा पार्टीबीच एकता भएको छ । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र महेन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी र अन्य सातवटा पार्टीबीच यही कात्तिक १९ गते एकता भएको छ । तर, एकताले माओवादी केन्द्र र नेकपा एसमा भने विग्रह सुरु भएको छ । माओवादी केन्द्र र नेकपा एसबाट विग्रह गरेका नेताहरू पार्टी पुनर्गठन गर्ने तयारीमा जुटेका छन् ।
एकतामा सामेल नभएका माओवादीका तत्कालीन उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’, एसका महासचिव घनश्याम भुसाल र नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ तीनैजना मिलेर अगाडि बढ्ने भन्दै छलफल अगाडि बढाएका छन् । माओवादीसँग एकतामा नगई वाम प्रगतिशील अभियान सुरु गरिएको शर्माको भनाइ छ । १० कम्युनिष्ट पार्टीबीच भएको एकतालाई विप्लवले वृद्धहरूको क्लबको संज्ञा दिएका छन् । यस अघिका चुनाव बहिष्कार गरेका विप्लवको पार्टीले आगामी निर्वाचनमा भाग लिने बताएको छ । अर्कोतिर नेकपा एकीकृत समाजवादीलाई आगामी ५ मंसिरमा पुनर्गठन गर्ने तयारी अन्तिम चरणमा पुगेको नेता दामोदर अर्यालको भनाइ छ । शर्मा, भुसाल र विप्लव निरन्तर छलफलमा छन् । उनीहरूको छलफल आ-आफ्ना पार्टीबाट विद्रोह गरेपछि मात्र भएको होइन, गत वर्ष दशैँको समयमा नै तीनजना नेताबीच कपिलवस्तुमा छलफल भएको थियो । उक्त समयमा तीनजना नेताहरू भेटेर एउटै कम्युनिष्ट केन्द्र बनाउनेबारे छलफल भएको थियो ।
विभिन्न कालखण्डमा विभाजन हुँदै आएको नेकपा एमाले भने ‘जेन-जी’ विद्रोहपछि भने फुटफुटबाट हालसम्म बचेको छ । मुलुकका क्रियाशील कम्युनिष्ट पार्टीहरूमध्ये सबैभन्दा ठूलो दल रहेको एमाले अहिले पार्टीको ११औँ महाधिवेशनको तयारीमा छ । पार्टीभित्र नेतृत्वप्रति तीव्र असन्तुष्टिका स्वरहरू रहे पनि एमाले कम्तीमा पनि मंसिर अन्तिम साता काठमाडौंमा हुने ११औँ महाधिवेशन अघि फुट्ने सम्भावना छैन । यद्यपि, नेकपा एमालेमा अहिले पार्टी फुट्नेसम्मको आन्तरिक विवाद भने जारी छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्वबाट हटाउने आन्तरिक प्रयत्न तीव्र ढंगले अघि बढेको छ । कम्युनिष्ट पार्टी स्थापनादेखि हालसम्म फुटफुटका बेलाबखत विभाजन हुँदै आएको छ । यसबीचमा एकताका घटना भए पनि लामो समयसम्म भने टिक्न सकेको छैन । सैद्धान्तिकभन्दा पनि व्यक्तिगत स्वार्थ र इगोको कारण कम्युनिष्ट पार्टीहरूमा विभाजन भएको देखिन्छ । आगामी दिनमा पनि नेतृत्व गर्ने आकांक्षा र व्यक्तिगत इगोका कारण कम्युनिष्ट घटकहरूमा विगतको प्रवृत्ति दोहोरिने सम्भावना भने अन्त्य भइसकेको छैन ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच