जनकपुरधाम । मधेश प्रदेशमा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेको घटनापछि सात राजनीतिक दलले त्यसलाई असंवैधानिक भन्दै अदालत जाने तयारी गरेका छन्।
प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले आज बिहान आफू अस्वस्थ भएको भन्दै काठमाडौं जान लागेको पूर्वमुख्यमन्त्री जितेन्द्र सोनललाई जानकारी गराउनु भएकाे थियाे। तर बाटोमै महोत्तरीस्थित एक होटलमा एमाले नेता यादवलाई गोप्य रूपमा शपथ गराउनु भएकाे थियाे ।
यो घटनालाई सात दल - जनमत पार्टी, नेकपा माओवादी केन्द्र, जसपा नेपाल, नेकपा (एस), नागरिक उन्मुक्ति पार्टी, नेपाली कांग्रेस र लोसपा नेपालले संवैधानिक उल्लङ्घन ठहर गर्दै संयुक्त रूपमा रिट दायर गर्ने निर्णय गरेका हुन्।
कांग्रेस संसदीय दलका नेता कृष्णा यादवका अनुसार ७४ जना सांसदले अदालतमा रिट दायर गर्न हस्ताक्षर गरेका छन्। उहाँले प्रदेश प्रमुखले “एकलौटी र लज्जास्पद निर्णय” गरेको आरोप लगाउँदै सभामुख रामचन्द्र मण्डलविरुद्ध महाभियोग दर्ताको तयारी पनि भइरहेको जानकारी दिनुभयाे ।
यादवले भन्नुभयाे, “प्रदेश प्रमुखले संविधानमाथि प्रहार गरेकी छन्। संघीयता नै धरापमा पार्ने राजनीतिक खेल भइरहेको छ।”
यता नेकपा एमालेका मधेश प्रदेश सभा प्रमुख सचेतक हरिनारायण महतोले आफ्नै पार्टीको नेतृत्वमा गठन भएको सरकारले एमालेलाई नै हानी पुर्याउने चेतावनी दिनुभएकाे छ ।
उहाँका अनुसार गत कात्तिक २२ गते एमाले संसदीय दलको बैठकबाट तत्कालीन मुख्यमन्त्री जितेन्द्र सोनल नेतृत्वको सरकारलाई विश्वासको मत नदिने र विपक्षमा बस्ने निर्णय गरिएको थियो। तर त्यसपछि कुनै पनि नयाँ संस्थागत निर्णय नभएको उहाँले स्पष्ट पार्नुभयाे ।
महतोले भन्नुभयाे, “प्रदेश सभा विघटन हुने अवस्था आयो भने त्यसको अपजस र कलंकको भागीदार एमाले नै बन्नेछ।”
उहाँले एमाले नेतृत्वमा बनेको हालको सरकारले पार्टीलाई फाइदाभन्दा नोक्सानी नै बढी हुने बताउनु भएकाे छ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच