काठमाडौं । संविधान दिवसको अवसरमा चलचित्र विकास बोर्डले नेपाली चलचित्र क्षेत्रको सामाजिक तथा सांस्कृतिक रूपान्तरणमा योगदान पुर्याउने १५ जना कलाकर्मीलाई सम्मान गरेको छ । बोर्डले सोमबार आफ्नै परिसर चाबहिलमा आयोजना गरेको ‘सांस्कृतिक रूपान्तरण सम्मान तथा पुरस्कार’ कार्यक्रममा युवा र वरिष्ठ कलाकार, निर्देशक, निर्माता, प्राविधिक तथा पत्रकारितासँग सम्बन्धित व्यक्तित्वलाई नगद र सम्मानपत्र प्रदान गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल रहनुभएको थियो । उहाँले नेपाली चलचित्र क्षेत्र देशको सांस्कृतिक शक्ति र अन्तर्राष्ट्रिय पहिचानको माध्यम भएको उल्लेख गर्दै चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीको नेतृत्वमा क्षेत्रले नयाँ मोड लिने विश्वास व्यक्त गर्नुभयो । ‘अध्यक्ष डिसीले उत्कृष्ट काम गरेर चलचित्र क्षेत्रको इतिहास रच्ने अपेक्षा सरकारको छ’, मन्त्री खरेलले भन्नुभयो, ‘उहाँको नेतृत्वमा चलचित्र क्षेत्रको रूपान्तरणमा ठूलो योगदान हुनेमा म निश्चिन्त छु ।’
कार्यक्रममा कलाकार संघ, निर्माता संघ, प्राविधिक संघ, पत्रकार संघ, तालिम तथा केन्द्रीय छनौट समितिका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति थियो । कार्यक्रम सांगीतिक प्रस्तुति र सांस्कृतिक कार्यक्रमसहित सम्पन्न गरिएको थियो । मन्त्री खरेलले सम्मानित व्यक्तित्वलाई २० हजार नगद रुपैयाँ पुरस्कार र सम्मानपत्र प्रदान गर्नुभएको थियो ।
सम्मानित व्यक्तित्वहरूमा शिव श्रेष्ठ (कलाकार), सबिता गुरुङ (कलाकार), तीर्थ थापा (निर्देशक), यस कुमार (संगीतकार/गायक/निर्देशक), ध्रुव लम्साल (चलचित्र पत्रकार), रम्यता लिम्बू (चलचित्र महोत्सव व्यवस्थापक), सम्झना रौनियार (निर्देशक), युवराज लामा (निर्माता/निर्देशक), हेमन्त बुढाथोकी (कलाकार), किशन पोखरेल (निर्माता), स्व. केशव भट्टराई (कलाकार-मरणोपरान्त), नाजिर हुसेन (कलाकार), रिमेश अधिकारी (निर्देशक), रेनीश फागो (रंग संयोजक/प्राविधिक) र अञ्जु पन्त (गायिका) रहनुभएको छ ।
कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्दै बोर्डले आगामी दिनमा पनि नेपाली चलचित्र उद्योगको सुदृढीकरण र विश्वस्तरीय पहिचानका लागि यस्ता कार्यक्रम निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ ।
रक्तदानमा कलाकारको उत्साहजनक सहभागिता
यस्तै बोर्डद्वारा आयोजना गरेको रक्तदान कार्यक्रममा कलाकारले उत्साहजनकरुपमा सहभागिता जनाएका छन् । ‘राष्ट्रिय चलचित्र दिवस २०८२’ को अवसरमा आइतबार आयोजना गरिएको कार्यक्रममा चलचित्रकर्मीको उल्लेखनीय उपस्थिति देखिएको थियो ।
जेनजी आन्दोलनबाट अस्पतालमा रगतको अभाव भएकोले परिपूर्ति गर्न कार्यक्रम आयोजना गरिएको जनाइएको छ । बिहानदेखि सुरु भएको कार्यक्रममा फिल्मकर्मी, पत्रकार, निर्देशक र निर्माताको सहभागिता थियो । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले रक्तदानजस्ता मानवीय कार्यले नेपाली चलचित्र क्षेत्रलाई प्रेरणादायी बनाएको बताउनुभयो । ‘चलचित्रकर्मी पर्दामा मात्र होइन, रियल लाइफमा पनि नायक हुन्,’ उहाँले भन्नुभयो ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच