भ्रष्टाचार र कुशासन संसारका प्रायः सबै देशहरूले झेल्दै आएको असाध्य रोग हो । विज्ञान भ्रष्टाचार र कुशासनको उपचारमा किन असफल भन्ने प्रश्न सधैं अनुत्तरित छ । सबै देशका सरकार भ्रष्टाचार र कुशासन रूपी रोगको उपचार गर्ने प्रतिबद्धताका साथ सत्तामा आउँछन् । जब सत्ता हत्याउँछन्, त्यसपछि भ्रष्टाचार, कुशासनविरुद्धको सोच र अभियानको यात्राले ठीकविपरीत दिशा अख्तियार गर्छ । उनीहरूको भ्रष्टाचार न्यूनीकरण र सुशासनप्रतिको प्रतिबद्धता मित्थ्या प्रमाणित हुँदै आएको छ । परिणामस्वरूप त्यो नवगठित सरकार अघिल्लो सरकारभन्दा भ्रष्ट हुन्छ ।
त्यसपछि त्यो देशमा भ्रष्टाचार र कुशासन उत्पादन गर्ने कारखाना अझ सशक्त हुन्छ । दुर्भाग्य नेपालमा हाल त्यही शृंखलाले निरन्तरता पाएको छ । नेताहरू सबैको मुखमा विकास र सुशासन झुण्डिएको हुन्छ तर व्यवहारमा सबैले विकासलाई व्यक्तिगत, पारिवारिक र गुटगत उपलब्धिको विषय बनाए । सुशासन सधैं मजाकको विषय बन्यो । भाषणमा गरिबलाई आय र निमुखालाई न्याय, घर-घरमा ग्यास, पानीजहाजका उडन्ते गफ दिनेहरू व्यवहारमा त्यसलाई आफ्नाको हितमा आय र न्यायलाई केन्द्रीकृत गर्ने रोगले नेतृत्व बिटुलिएको मात्रै छैन घृणाको पात्र बनेको छ । भ्रष्टाचार नियन्त्रण होइन भ्रष्टाचारका नयाँ-नयाँ विधि र शृंखलाको सुरुवात नै नयाँ सरकारका विशेषता हुने विषय अनौठो मानिँदैन ।
भ्रष्टाचार चेतना र चरित्रगत कमजोरीसँग सम्बन्धित रोग भएकाले नेतृत्वमा हुनेहरूको चारित्रिक सुधारविना भ्रष्टाचार रूपी रोगको निवारण सम्भव छैन । भ्रष्टाचारको दिगो उपचार कानुनको डर–त्रासबाट भन्दा सात्विक भोजन र जीवनशैलीको अनुशासनको पालना गर्ने प्रशिक्षण र अभ्यासले सशक्त हुन्छ ।
देशमा एकपछि अर्को भ्रष्टाचारका नयाँ-नयाँ काण्ड सतहमा आउने क्रम कहिल्यै रोकिएन । सबै नेता सुशासनको गीत गाउँछन् तर व्यवहारमा कुशासनले देशलाई खोक्रो बनाउने क्रम अविछिन्न छ । राजनीतिक व्यवस्था परिवर्तनको शृंखला सँगसँगै समाजमा भ्रष्टाचार र कुशासनको शृंखलाले निरन्तरता पाएको विषयले समाजमा भ्रष्टाचारी नेताहरूप्रति असन्तुष्टि चुलिएको छ । भ्रष्टाचार रोक्ने आधार कानुन र संविधानलाई मात्रै बनायौँ । कानुनले भ्रष्टाचार गर्न डर देखायो तर मानिसभित्रको भ्रष्ट सोच र प्रवृत्तिको उपचारतर्फ हाम्रो यथेष्ट ध्यान नजाँदा परिस्थिति दिनप्रतिदिन विकराल बन्यो । सत्तासीनहरूले कानुनका छिद्रलाई छल्दै शासनको अर्को नाम नै भ्रष्टाचार हो भन्ने मान्यतालाई स्थापित गरे ।
भ्रष्टाचार नियन्त्रणको कानुनीविधि पूर्णतःअसफल प्रमाणित भएकाले जेन-जी युवाहरूको सामूहिक आक्रोशको सिकार नेतृत्वमा रहने भए । जब कानुनले र सरकारले भ्रष्टहरूलाई संरक्षण दिन्छ त्यसपछि जनआक्रोशले भ्रष्टाचारीहरूको उछित्तो काड्छ । जेन–जी आन्दोलन पनि भ्रष्टाचार र भ्रष्टाचारीको उछित्तो काड्न नै भएको हो । सुशासन सदाचारको दिगो र भरपर्दो औषधि अब फेरि खोज्नै पर्छ । त्यो औषधि के हो ? त्यसको खोजी समयको आवश्यकता हो । परिवर्तनको आसय व्यवस्था परिवर्तन, व्यक्ति परिवर्तनमात्रै नभएर जनताको अवस्था परिवन नै गन्तव्य हो, तर त्यस गन्तव्यतिर नेपाली राजनीति किन जाँदैन ?
भ्रष्टाचार, चेतना र चरित्रगत कमजोरीसँग सम्बन्धित रोग भएकाले नेतृत्वमा हुनेहरूको चारित्रिक सुधारविना भ्रष्टाचार रूपी रोगको निवारण सम्भव छैन । भ्रष्टाचारको दिगो उपचार कानुनको डर-त्रासबाट भन्दा सात्विक भोजन र जीवनशैलीको अनुशासनको पालना गर्ने प्रशिक्षण र अभ्यासले सशक्त हुन्छ । नेपाल अहिले भ्रष्टाचारको उर्वर भूमि भएको छ । भ्रष्टाचार र कुशासन कुनै दल वा प्रणालीसँग सम्बन्धित समस्या नभएर यो जीवनशैली, सोच र आचरणसँग सम्बन्धित रोग हो ।
कानुनका दफाहरू र कानुनी दण्ड वास्तवमा भ्रष्टाचारको भरपर्दो औषधि किमार्थ होइनन् । भ्रष्टाचारमा हुने लेनदेनको मुख्य कारण मन र शरीरको असन्तुलनको उपज हो । जब राजनीतिक व्यक्तिको जीवनविलासी, खानपिन असन्तुलित र सोच असंयमी हुन्छ त्यस्ता व्यक्तिबाट हुने निर्णय पनि विकृत हुन्छन् । तसर्थ जीवनशैली, सोच र आचरण नसुध्रदासम्म कानुनी दण्डलेमात्रै भ्रष्टाचार रोकिँदैन । जहाँ भ्रष्टाचार रोकिँदैन त्यहाँ सुशासनको कल्पना गर्नु व्यर्थ हुन्छ । भनिन्छ जस्तो भोजन उस्तै मन हुन्छ । परिणाम स्वरूप भ्रष्टाचारको भ्रुण नै उत्तपत्ति हुने सम्भावना नै हँुदैन जुन नेता वा कर्मचारी सादा खाना र संमयमित जीवनमा बाँच्छ उसको आचरणमा व्यवहारमा पनि पारदर्शिता झल्कन्छ । जिम्मेवारीप्रति ऊ सदैव इमानदार हुने मन, वचनबाट नै प्रयत्न गर्छ ।
कसरी भ्रष्ट हुन्छ ? कसरी कुशासक हुन्छ ? तसर्थ प्राकृतिक जीवनशैली र अनुशासन केवल स्वास्थ्यको अभ्यासमात्रै होइन यो सुशासन, सदाचारको संस्कारको प्रवद्र्धनको प्रयास हो । शासन शुद्ध, स्वच्छ र निष्पक्ष त्यति बेलामात्रै हुन्छ जति बेला शासक र नागरिक दुबैको शरीर र मन स्वस्थ र सन्तुलित हुन्छ । रासायनिक खाना, कृत्रिम पेय र विलासी जीवनले शरीरलाई मात्रै होइन सोच, क्रियाकलाप समेतलाई प्रदूषित बनाउँछ । अस्वस्थ शरीरले मनलाई अस्थिर बनाउँछ भने अस्थिर मनले कुशासन जन्माउँछ ।
सुशासनको बहाली कानुनले होइन, सादा भोजन र जीवनशैलीको प्रशिक्षणले सम्भव हुन्छ । भ्रष्टाचारको दिगो, भरपर्दाे र अत्यन्तै विश्वासिलो उपचार अदालतबाट वा दण्डबाट यदि अपेक्षा गरियो भने त्यो असम्भव विषय हो ।
भ्रष्टाचारको दिगो, भरपर्दाे र अत्यन्तै विश्वासिलो उपचार अदालतबाट वा दण्डबाट यदि अपेक्षा गरियो भने त्यो असम्भव विषय हो । भ्रष्टाचार केवल कानुनी वा आर्थिक समस्या होइन यो शरीर, मन र चेतनाको असन्तुलन हो । जनप्रतिनिधि र कर्मचारीहरूमा अस्वस्थ जीवनशैली, तनाव, लोभ र स्वार्थले नै भ्रष्टाचारलाई मलजल गर्छ । भ्रष्टाचार नियन्त्रणमा कानुनी बाटोमात्रै दीर्घकालीन र भरपर्दाे समाधान किमार्थ होइन । भ्रष्टाचार न्यूनीकरण गर्न शिक्षाले व्यक्तिमा आत्म–अनुशासन, संयम, सादाजीवन र उच्च मूल्य र मान्यताको विकास गर्छ । नियमित ध्यान, मौन अभ्यास, प्राणायाम आदिले मानसिक स्पष्टता, निर्णय क्षमतामा सुधार ल्याउँछ । परिणामस्वरूप शिक्षले नेतृत्व र नीतिनिर्माणमा स्वतः पारदर्शिताका लक्षण प्रतिविम्बित हुन्छन् । शिक्षाले सम्बन्धित सबैमा भ्रष्टाचारप्रति शून्यसहनशीलता विकास गर्न सहयोग गर्छ । स्थिर मन र सन्तुलित जीवनशैली भएका नेताहरूले पारदर्शी निर्णय गर्छन्, अनावश्यक विलास र स्वार्थबाट टाढा रहन्छन् ।
मन र चेतनाको शुद्धीकरणमार्फत जनप्रतिनिधि र कर्मचारीलाई भ्रष्टाचारप्रति संवेदनशीलमात्रै होइन पूर्णतः असहिष्णु बनाउनेछ । सादा भोजनको अभावमा भ्रष्टाचार र कुशासनको बिगबिगी हुनु कुनै संयोग होइन, यो सामाजिक, नैतिक र मानसिक पतनको नतिजा हो । जब मानिस आफ्नो जीवनशैलीमा कृत्रिमता, विलासिता र भोगवादमा डुब्छ, उसको चेतना शुद्ध रहँदैन । भोगप्रधान जीवन र दृष्टिकोणले इच्छा र आकांक्षाको घेरा बढाउँछ । इच्छाले लोभको बीजारोपण गर्छ र लोभले भ्रष्टाचारको बीउ रोप्छ । जसको थालमा सादगी छ उसको मनमा सन्तोष बस्छ । सन्तोषी मानिसलाई अनैतिक धन, पद वा प्रभावप्रति आकर्षण हुँदैन ।
हाम्रो मूलमन्त्र हो स्वास्थ्य, सरलता र सत्यता । जब मानिस यसबाट विचलित हुन्छ त्यसबेला व्यक्ति आफ्नो स्वार्थका लागि नियम उल्लंघन गर्न, कर्तव्यप्रति बेवास्ता गर्न र अवसरको दुरुपयोग गर्न तयार हुन्छ । यो मानसिकता र क्रियाकलाप कुशासनको जरो हो । जो मानिस आफ्नो शरीर र मनलाई नियन्त्रण गर्न सक्दैन उसले देश र समाजमा अनुशासन ल्याउन सक्दैन । यस कारण सादा भोजन र प्राकृतिक जीवनशैलीको पुनस्र्थापना नै भ्रष्टाचार र कुशासनविरुद्धको सांस्कृतिक र सामाजिक क्रान्ति पनि हो । जब नेतादेखि नागरिकसम्म सबैले जीवनमा सादगी, संयम र आत्मनियन्त्रणलाई उच्चप्राथमिकता दिन थाल्दछन् तबमात्र सदाचार, नैतिकता र सुशासनको बिउ उम्रन्छ र राष्ट्रमा नैतिक पुनर्जागरणको युग प्रारम्भ हुन्छ ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच