तेह्रथुम । चारैतिर टल्किएका हिमालहरू, आफ्नै छायाँ प्रतिबिम्बित गर्ने सुन्दर पोखरी, गुराँसे बनको काखमा सुस्तरी हावाको बेगसँगै छल्किंदै गरेको पोखरी - यी सबैले मन लोभ्याउने दृश्य दिन्छन् । सानो र चिटिक्क परेको गुफा बजार र त्यसको नजिकै अवस्थित गुफापोखरी अहिले पर्यटकहरूको आकर्षणको केन्द्र बनेको छ ।
तेह्रथुम, सङ्खुवासभा र ताप्लेजुङको सङ्गमस्थलमा रहेको यो पोखरीमा आन्तरिक तथा बाह्य पर्यटकहरू रमाउने गर्छन् । विशेष गरी गुराँस फुल्ने मौसममा यहाँ पर्यटकहरूको घुइँचो लाग्ने गर्छ । चाडपर्व मात्र होइन, वर्षभर नै यहाँ आगन्तुकहरूको कमी हुँदैन । जाडो सिजन सुरु भएसँगै हिउँ परेपछि हिउँ खेल्ने पर्यटकहरू सयौँको संख्यामा पोखरी र आसपासका क्षेत्रमा रमाइरहेका देखिन्छन्।
गुराँसको राजधानी मानिने तिनजुरे, मिल्के र जलजलेको काखमा रहेको यो पोखरी पूर्वको एक परिचित पर्यटकीय गन्तव्यका रूपमा चिनिन्छ । समुद्र सतहदेखि २,८०० मिटरको उचाइमा रहेको यो पोखरी अत्यन्तै मनमोहक देखिन्छ। पोखरीभन्दा केही पर रहेको मेन्छयायेम डाँडाको पछाडि गुफा भएको कारण यही नामबाट पोखरीको नाम “गुफापोखरी” रहन गएको स्थानीय हिमा खनाल बताउनुहुन्छ ।
उहाँका अनुसार, विसौँ शताब्दीमा गुफामा बसेर पुजारीहरूले ध्यान गर्ने गर्थे र ती पुजारीहरू पोखरीमा आएर नुहाउने भएकाले यही पोखरीलाई “गुफापोखरी” नामले चिनिन थाल्यो भन्ने किंवदन्ती छ। पोखरीको सुन्दरता र प्राकृतिक वातावरणसँगै प्रकृतिले बरदान दिएको ठाउँ जस्तै लागेको मोरङबाट घुम्न आएकी एल्जिना लावतीले बताइन्। “म पहिलो पटक आएको हुँ, यति सुन्दर पोखरी जहाँ हिमालको छायाँसँगै रमाउन पाउँदा एकदमै खुशी छु,” उहाँले भनिन्। ।
पोखरीको छेउमा मन्दिर पनि रहेको छ । यो स्थल हिन्दु तथा किरात धर्मावलम्बीहरूको तिर्थस्थल समेत हो । आन्तरिक र बाह्य पर्यटकहरूको रोजाइमा पर्दै आएको यो स्थल चैत्र-बैशाख महिनामा गुराँस फुलेको मनमोहक दृश्यका कारण अझ आकर्षक बन्छ । सुक्रबार र शनिबार यहाँ आउने पर्यटकहरूको संख्या बढी हुने गरेको छ ।
तेह्रथुम-ताप्लेजुङ हुँदै गुफापोखरी पुग्दा बिचैमा पर्ने तिनजुरे-मिल्के-जलजले क्षेत्रमा नेपालमा पाइने ३२ मध्ये २८ प्रजातिका गुराँस फुल्ने घना जंगल देख्न सकिन्छ । मौसम खुलेको बेला गुफा बजारबाट मकालु, कञ्चनजङ्घा, ल्होत्से र सगरमाथा हिमाल समेत अवलोकन गर्न सकिन्छ । आन्तरिक तथा बाह्य पर्यटकलाई सहजता दिलाउन भने पहिलो सडक निर्माणसँगै पोखरी र गुफा दुवैलाई प्रवर्द्धन गर्न स्थानीय, प्रदेश र संघीय सरकारले ध्यान दिनुपर्ने चैनपुर नगरपालिका-१ का स्थानीय सुहाङ लिम्बूले बताउनु भयो ।
पोखरी आसपासको जंगलमा करिब ३० प्रकारका स्तनधारी जनावर, २७४ प्रकारका चरा, २५ प्रकारका किरा, ८ प्रकारका माछा, ६ प्रकारका सर्प-घस्रने जीव र ३ प्रकारका भ्यागुता पाइने तथ्याङ्क स्थानीयहरूले दिएका छन्। । गुफापोखरीसँगै गुफा बजार नामक मानव बस्ती र नजिकै सुके बजार पनि रहेका छन्। गुफा बजारमा खान र बस्नका राम्रा सुविधा उपलब्ध छन्। यहाँ चौरी, भेडाको घिउ, छुर्पी, दुध-दही, मह जस्ता वस्तु पाइन्छन् । याङवेन, तङ्वा, सुकुटी र बंगुरको मासुका परिकारका लागि यो ठाउँ निकै प्रसिद्ध छ ।
अधिकांश होटलमा स्थानीय परिकार-याकको मासु, भेडाको मासु, लोकल कुखुरा र हिमाली सिमीको दाल पाइन्छ । सरकारले नयाँ पर्यटकीय गन्तव्यका रूपमा घोषणा गरेको तेह्रथुम, सङ्खुवासभा र ताप्लेजुङको संगमस्थल तिनजुरे-मिल्के-जलजले क्षेत्रभित्र गुफा बजार र गुफापोखरी पनि समावेश छन् ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच