इलाम । गत असोजमा आएको अविरल वर्षा र भीषण बाढी-पहिरोले मेची राजमार्गको माइखोला-राजदुवाली खण्डमा ठूलो विनाश गरेको थियो । सडक संरचनाको क्षतिका कारण यो क्षेत्र लामो समयसम्म यातायात अवरुद्ध रह्यो । तर, यही प्राकृतिक विपत्तिको बीचमा अहिले इलाम नगरपालिका-९ राजदुवाली माइखोला क्षेत्र आस्थाको, विश्वासको र पुनर्जागरणको केन्द्र बनेको छ ।
भौतिक विनाशपछि पनि मनोबल नहारेका स्थानीय बासिन्दाले अब यो ठाउँलाई “दैवी चमत्कारको भूमि” को रूपमा लिन थालेका छन् । माइखोला नदीको किनारमा हालै पाँचवटा पवित्र शिलाहरू प्रकट भएपछि, स्थानीयहरू र धार्मिक श्रद्धालुहरूका बीच यो स्थल “पञ्चकन्या पाथीभरा देवी” को प्रतीकका रूपमा स्थापित भएको छ ।
वडा अध्यक्ष गोपाल चौहानकाअनुसार, सोमबार औपचारिक नामाकरण कार्यक्रम सम्पन्न गरिएपछि मंगलबारदेखि यो स्थल भक्तजनका लागि खुला गरिएको छ । अहिले उक्त क्षेत्रमा दैनिक सयौंको संख्यामा भक्तजन दर्शन र पूजा गर्न आउन थाल्नुभएको छ ।
स्थानीय नबिन दाहालकाअनुसार, इलाम नगरपालिका-४ की प्रमिला कार्कीले सपनामा देखेकी संकेतको आधारमा गएको कार्तिक १७ गते ती पाँचवटा शिलाहरू पत्ता लगाउनुभएको हो । उहाँले बिहानै नदी किनारमा गई उत्खन्न गर्दा शिलाहरू देखेपछि त्यसको जानकारी स्थानीय समुदायलाई दिनुभएको थियो । त्यसपछि उक्त घटनालाई दैवी चमत्कारका रूपमा लिँदै विभिन्न धर्मावलम्बीहरूले ती शिलाहरूलाई शक्तिपीठको रूपमा पूजा-आराधना गर्न थाल्नुभएको छ ।
यता पर्यटन व्यवसायी देबी पौडेलकाअनुसार, पञ्चकन्या पाथीभरा स्थल इलामको धार्मिक पर्यटनका लागि वरदान बन्न सक्छ । उहाँले भन्नुभयो्, “इलाममा पहिले नै माइपोखरी, गजुरमुखी धाम, कुटिडाँडाको पाथीभरा जस्ता आस्थाका केन्द्रहरू छन् । अब माइखोला जोडिँदा ‘धार्मिक करिडोर’ को अवधारणा अझ बलियो बन्न सक्छ । यसले स्थानीय अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पार्नेछ ।”
इलाम, पाँचथर हुँदै ताप्लेजुङ्खतर्फ जाने यो मार्गलाई धार्मिक र प्राकृतिक सौन्दर्य दुवै दृष्टिले आकर्षक बनाउने योजनासमेत तयार पारिँदैछ ।
तर, आस्थाको केन्द्र उदाउँदै गर्दा यस क्षेत्रका लागि चुनौतीहरू पनि उस्तै छन् । माइखोलाको किनार लामो समयदेखि शवदाह स्थलको रूपमा प्रयोग हुँदै आएको छ । त्यहाँको फोहोर व्यवस्थापन र स्वच्छता अभावले अब धार्मिक स्थलको पवित्रता कायम राख्न कठिन चुनौती उपस्थित गरेको छ ।
वडा अध्यक्ष चौहान भन्नुहुन्छ, “फोहोर व्यवस्थापन, किनार सफाइ र नदी प्रदूषण रोकथाम हाम्रो पहिलो प्राथमिकता हुनेछ । नगरपालिका तत्काल सरसफाइ र पूर्वाधार सुधारका काममा जुट्नेछ ।”
त्यस्तै, यो क्षेत्र भौगोलिक रूपमा असुरक्षित मानिन्छ - बारम्बार पहिरो र बाढी आउने सम्भावना रहने भएकाले धार्मिक स्थलको सुरक्षाका लागि दिगो र सुरक्षित पूर्वाधार आवश्यक रहेको सरोकारवालाहरूको सुझाव छ ।
स्थानीय समुदायले अब विकासका नाममा वातावरण बिगार्ने होइन, बरु प्रकृतिसँग मिलेर धार्मिक स्थलको संरक्षण गर्न माग गरेका छन् । उनीहरूले पञ्चकन्या पाथीभरा धार्मिक स्थललाई घेराबारासहित व्यवस्थित पार्किङ, बत्तीको व्यवस्था, शौचालय र सरसफाइका स्थायी व्यवस्थाको माग गरेका छन् ।
इलामका युवा नेता निरोज खड्गी भन्नुहुन्छ, “यो स्थल केवल आस्थाको प्रतीक होइन, हाम्रो सांस्कृतिक पहिचानसँग पनि जोडिएको ठाउँ हो । त्यसैले यहाँको विकास योजनामा वातावरण र स्थानीय समुदायको भावना दुबैलाई प्राथमिकता दिनुपर्छ ।”
अहिले पञ्चकन्या पाथीभरा देवी स्थलको चर्चा केवल इलाममै सीमित छैन - हाल पूर्वका विभिन्न जिल्ला सहित काठमाडौबाट समेत श्रद्धालुहरू आउन थालेका छन् । धार्मिक पर्यटन, स्थानीय उद्यम र पूर्वाधार विकासको दृष्टिले यो स्थलले इलामलाई नयाँ परिचय दिलाउने अपेक्षा गरिएको छ ।
तर यो सम्भावना तभ साकार हुनेछ, जब यहाँका प्राकृतिक जोखिमहरूलाई सम्बोधन गर्दै, आस्था र वातावरणबीच सन्तुलन कायम राख्ने दीर्घकालीन रणनीति अपनाइनेछ । इलामका जनप्रतिनिधि, स्थानीय समुदाय र धार्मिक संघसंस्थाहरूको संयुक्त प्रयासले “माइखोला पञ्चकन्या पाथीभरा” केवल आस्थाको केन्द्र मात्र नभई, दिगो धार्मिक पर्यटनको उत्कृष्ट उदाहरण बन्न सक्ने सम्भावना अत्यन्त प्रबल देखिन्छ । यस्कालागि तिनै तहका सरकारले समन्यकारी भुमिका निर्वाह गर्दै भौतिक पुर्वाधार निमार्णमा तत्काल लाग्नुपर्ने देखिन्छ ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच