काठमाडौं । बंगलादेशसँग मैत्री खेल र मलेसियासँग एएफसी एसियन कप छनोट खेल्न जाने नेपाली फुटबल टोलीको बिदाइ गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले एक कार्यक्रम गर्दै टोलीको बिदाइ गरेको हो । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता, एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङ, महासचिव किरण राईलगायतले शुभकामनासहित नेपाली टिमको बिदाइ गर्नुभएको थियो ।
राष्ट्रिय फुटबल टिमका प्रशिक्षक हरि खड्काले बंगलादेश र मलेसियासँगको खेलमा नेपालले प्रतिष्ठाका लागि खेल्ने बताउनुभयो । अन्तरिम प्रशिक्षक खड्काले भन्नुभयो, ‘राम्रो नतिजा निकाल्ने प्रयास गर्नेछौँ । हामी एएफसी एसियन कपमा छनोट हुने होडबाट बाहिरिइसकेका छौँ तर देशको प्रतिष्ठाका लागि खेल्नेछौँ । यसका लागि तयारी गरेको छु ।’
प्रशिक्षक खड्काले तयारीका लागि छोटो समय पाए पनि खेलाडीमा राष्ट्रका लागि खेल्नुपर्छ भन्ने भावना रहेको जानकारी दिनुभयो । उहाँले लिग नहुँदा भने हालको लयभन्दा पछिल्लो खेलमा देखाएको लयलाई ध्यानमा राखेर र आफ्नो योजनामा फिट हुने खेलाडी समेटेर टिम चयन गरेको बताउनुभयो । खड्काले चयन गरेको टिममा प्रायः पुरानै खेलाडी छन् ।
उहाँको टिममा डिफेन्सिभ मिडफिल्डर दिपेश गुरुङ भने नयाँ खेलाडीका रूपमा रहनुभएको छ । अस्ट्रेलियाली प्रशिक्षक म्याट रसले आफ्नो कार्यकाल सकिनु चार महिनाअघि नै प्रशिक्षक पदबाट राजीनामा दिएपछि एन्फाले खड्कालाई राष्ट्रिय टिम हेर्ने जिम्मेवारी दिएको थियो ।
नेपालले नोभेम्बर १३ मा बंगलादेशसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्नेछ । त्यसपछि नेपालले नोभेम्बर १८ मा मलेसियासँग उसको मैदानमा एएफसी एसियन कप छनोट खेल खेल्नेछ । नेपाल एसियन कपमा सुरुका चार खेल जितेर छनोट हुने होडबाट बिदा भइसकेको छ । नेपालका कप्तान किरण लिम्बूले आधिकारिकरूपमा तीन दिनको तयारी भए पनि दुवै खेलमा राम्रो नतिजा निकाल्ने बताउनुभयो ।
नेपाली टिममा किरण लिम्बू (कप्तान), अभिषेक लिम्बू, आदित्य शाक्य, अनन्त तामाङ, अञ्जन विष्ट, एरिक विष्ट, आयुष घलान, विशाल सुनार, दीप कार्की, दिनेश हेन्जन, दिपेश गुरुङ, जिलेस्पीजंग कार्की, कुशल देउवा, लाकेन लिम्बू, मणि लामा, मनिष डाँगी, रोहित चन्द, रोहन कार्की, सनिश श्रेष्ठ, सुवास बम, सुमित श्रेष्ठ, सुमन श्रेष्ठ र योगेश गुरुङ हुनुहुन्छ ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच