काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो सिजनको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले दोस्रो सिजनको खेल तालिका सार्वजनिक गरेको हो । मंसिर १ देखि २७ गतेसम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने दोस्रो सिजनको उद्घाटन खेलमा साबिक विजेता जनकपुर बोल्ट्स र काठमाण्डु गोर्खाजबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो ४ बजे सुरु हुनेछ । जनकपुरले गत वर्ष सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले पराजित गर्दै पहिलो संस्करणको एनपिएल उपाधि जितेको थियो । करण केसीको कप्तानीमा रहेको काठमाण्डु गोर्खाज गत सिजन पाँचौं स्थानमा रहेको थियो ।
क्यानको तालिकाअनुसार पहिलो खेलसहित लिग चरणका १९ खेल फ्लडलाइटमा खेलाइनेछ । लिग चरणका खेलहरू मंसिर २१ सम्म चल्नेछन् । त्यसपछि क्वालिफायर र इलिमिनेटरका दुई खेल अनि फाइनल हुनेछ । यी सबै खेल पनि फ्लडलाइटमा हुनेछन् । हरेक दिनको एक खेल साँझ टुंगिने गरी क्यानले खेल तालिका प्रकाशित गरेको छ । जनकपुर र काठमाण्डुको खेल ४ बजे सुरु भएपछि फ्लडलाइट बल्नेछ । दिउँसो सुरु हुने खेल ३ः३० बजे र ४ बजे सुरु हुनेछ र फ्लडलाइटमा टुंगिनेछ । नेपालमा पहिलोपटक फ्लडलाइटमा क्रिकेट खेल हुन लागेको हो । एनपिएल सुरु हुन एक साता बाँकी रहेको अवस्थामा पुनर्निर्मित कीर्तिपुर मैदानमा हाल फ्लडलाइटका कामहरू भइरहेका छन् ।
सुदूरपश्चिमले प्रतियोगिताको तेस्रो दिन काठमाण्डुसँगै आफ्नो पहिलो खेल खेल्नेछ । दोस्रो दिन (मंसिर २) मा चितवन राइनोज र कर्णाली याक्स तथा विराटनगर किंग्स र पोखरा एभेन्जर्सबीच खेल हुनेछ । गत सिजन पुछारमा रहेको लुम्बिनी लायन्सले चौथो दिन आफ्नो पहिलो खेल चितवनसँग खेल्नेछ । कर्णाली याक्स र लुम्बिनी लायन्सबीच मंसिर २१ गते लिग चरणको अन्तिम खेल हुनेछ ।
सहभागी आठ फ्रेन्चाइज टोलीले एकअर्काविरुद्ध प्रतिस्पर्धा गरेपछि शीर्ष चार टोली प्लेअफमा पुग्नेछन् । मंसिर २३ गते क्वालिफायर एक, मंसिर २४ गते इलिमिनेटर र मंसिर २५ गते क्वालिफायर दुई हुनेछ । क्वालिफायर एकको पराजित र इलिमिनेटरको विजेता टोलीबीच क्वालिफायर दुई खेलिनेछ । यी सबै चरण पार गरेर फाइनलमा पुग्ने दुई टोलीले फाइनल खेल्नेछन् । फाइनल मंसिर २७ मा हुनेछ ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच