काठमाडौं । भारतको राजधानी नयाँदिल्लीमा सोमबार राति कारमा भीषण विस्फोट गराइएको छ । जसमा मृत्यु हुनेको संख्या १२ पुगेको र कम्तीमा २१ जना घाइते भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । दिल्लीको ऐतिहासिक लालकिल्ला नजिकै भएको उक्त विस्फोटपछि वरपरका अन्य सवारी साधनमा समेत आगलागी भएको थियो । एएफ्पीका अनुसार मंगलबार बिहान घटनास्थलमा जलेका गाडीका भग्नावशेष अझै देखिन्थे । फरेन्सिक विज्ञ र आतंकवादविरोधी एकाइका अधिकारीहरूले प्रमाण संकलन जारी राखेका छन् ।
प्रधानमन्त्री नरेन्द्र मोदीले मृतकका परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ । उहाँले गृहमन्त्री अमित साहसँग परिस्थितिको प्रत्यक्ष समीक्षा पनि गर्नुभएको बताइएको छ । ‘दिल्लीमा भएको यो विस्फोट अत्यन्त पीडादायक छ’, मोदीले भन्नुभएको छ, ‘आफ्ना प्रियजनहरू गुमाउने परिवारप्रति समवेदना व्यक्त गर्दछु ।’
विपक्षी नेता राहुल गान्धीले पनि घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै दोषीहरूलाई शीघ्र कारबाही गर्न सरकारसँग आग्रह गर्नुभएको छ । यसैबीच, अमेरिकी विदेश मन्त्रालयले वक्तव्य जारी गर्दै घटनाप्रति दुःख व्यक्त गरेको छ । ‘हाम्रो ह्दय यस भयानक विस्फोटबाट प्रभावितहरूसँगै छ’, वक्तव्यमा भनिएको छ ।
सुरक्षा कडाइ
विस्फोटपछि दिल्ली र आसपासका क्षेत्रमा सुरक्षा कडाइ गरिएको छ । सार्वजनिक यातायातका केन्द्रहरू, भिडभाडयुक्त स्थानहरूमा प्रहरीको उपस्थिति बढाइएको छ । मुम्बईलगायत अन्य प्रमुख सहरहरूमा पनि उच्च सुरक्षा सतर्कता अपनाइएको छ । ऐतिहासिक लालकिल्ला तीन दिनका लागि बन्द गरिएको छ ।
पुलवामाका डाक्टरसँग जोडिएको आशंका
हिन्दुस्तान टाइम्सका अनुसार विस्फोटमा पारिएको हुण्डाई आई-२० कार जम्मु-कस्मिरका डा. उमर उन नबीले चलाइरहेको आशंका गरिएको छ । प्रहरीको स्पेसल सेलका अनुसार उमरको सम्बन्ध हालै हरियाणाको फरीदाबादमा पक्राउ परेका आतंकवादी मोड्युलसँग जोडिएको देखिएको छ । उक्त मोड्युलबाट ठूलो मात्रामा विस्फोटक पदार्थ बरामद गरिएको थियो ।
अनुसन्धानकर्ताहरूले विस्फोट कारमा लगिँदै गरेको अवस्थामा दुर्घटनावश पड्किएको हो कि, भन्ने आशंका गरेका छन् । विस्फोटको तीव्रता र तापक्रमले अमोनिया जेल वा यस्तै प्रकारको उच्च तीव्रताको विस्फोटक पदार्थको प्रयोग भएको संकेत गरेको अनुसन्धान अधिकारीहरूले बताएका छन् ।
प्रधानमन्त्री कार्कीद्वारा दुःख व्यक्त
प्रधानमन्त्री सुशीला कार्कीले दिल्ली विस्फोटप्रति दुःख व्यक्त गर्नुभएको छ । ट्वीटर (एक्स)मार्फत उहाँले विस्फोटप्रति दुःख व्यक्त गर्नुभएको हो । उहाँले मृतकका परिवारप्रति समवेदना प्रकट गर्दै घाइतेको स्वास्थ्य लाभको कामना गर्नुभएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई मेन्सन गरिएको पोस्टमा प्रधानमन्त्री कार्कीले दुःखको घडीमा नेपाल भारतको साथमा रहेको उल्लेख गर्नुभएको छ । ‘सोमबार साँझ भएको दुःखद दिल्ली विस्फोटबाट म स्तब्ध र दुःखी छु । शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना र घाइतेको शीघ्र स्वास्थ्यलाभको लागि प्रार्थना गर्दछु’, प्रधानमन्त्री कार्कीले लेख्नुभएको छ । एजेन्सीको सहयोगमा






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच