काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले ‘उज्यालो नेपाल पार्टी’को स्वामित्व लिँदै निर्वाचन आयोगमा नयाँ नामावली विवरण अद्यावधिक गर्नुभएको छ।
आज ५१ जनाको नामसहित आयोगमा अद्यावधिक विवरण दर्ता गरिएको छ। पार्टीमा पूर्व ऊर्जासचिव अनुप उपाध्यायलाई अगाडि सारिएको छ भने चुनाव नजिकिएपछि मात्रै घिसिङ औपचारिक रूपमा सक्रिय हुने समझदारी बनेको स्रोतले जनाएको छ। यसअघि नै निर्वाचन आयोगमा रहेको उज्यालो नेपाल पार्टीमा केन्द्रीय कमिटी र विधान थप गर्दै मंगलबार उक्त सूची बुझाइएको हाे ।
तीन महिनाअघि दल दर्ताका लागि पेश भएको उज्यालो नेपाल पार्टीको अध्यक्षता प्रारम्भमा ज्ञानबहादुर तामाङले गर्ने उल्लेख थियो। तर, पछिल्लो संशोधनपछि उपाध्यायलाई नेतृत्वमा प्रस्ताव गरिएको छ।
पार्टीले ५१ सदस्यीय केन्द्रीय समिति प्रस्ताव गरेको छ । जसमा पूर्व संयोजक तामाङसहित पाँचथरका पहिचानवादी डा. महेन्द्र लावती, इलाम–२ का पूर्वउम्मेदवार डकेन्द्र थेगिम, र ताप्लेजुङकी सरस्वती लिम्बू पनि समावेश हुनु हुन्छ ।
उज्यालो नेपाल पार्टीमा सुदूरपश्चिमबाट निर्वाचित स्वतन्त्र सांसद ताराप्रसाद जोशी पनि सहभागी हुनु भएकाे छ। उहाँले नेकपा (एस) बाट विद्रोह गरी डडेल्धुराबाट प्रतिनिधि सभा सदस्य पद जित्नुभएकाे थियाे ।
कुलमाननिकट स्रोतका अनुसार पार्टीमा काठमाडौं महानगरका मेयर बालेन्द्र साह, राष्ट्रिय स्वतन्त्र पार्टीकी पूर्वसांसद सुमना श्रेष्ठ र जेन–जी अभियान्ता सुदन गुरुङ समावेश छैनन्।
पार्टी दर्ता अद्यावधिक प्रक्रियामा चुनाव चिन्हका रूपमा “बलेको चिम” माग गरिएको छ। हाल ५१ सदस्यीय सूचीमा कुलमान घिसिङको नाम समावेश छैन । उहाँ मन्त्री पद त्यागेपछि पार्टीको नेतृत्व लिने तयारीमा रहेको बताइएको छ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच