काठमाडौं । पार्टीका पूर्वकेन्द्रीय सदस्य एवं पूर्वमन्त्री मोहम्मद अफताव आलमको निधन भएपछि दुई दिन स्थगित भएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक मंगलबारदेखि पुनः सुरु भएको छ । हुन त गत असोज २८ गतेदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा जानाजानी आलटाल भइरहेको छ । झण्डै एक महिनादेखि केन्द्रीय समिति बैठक जारी छ तर कुनै निर्णय लिन भने सकेको छैन । विगतमा यति लामो समय केन्द्रीय समिति बैठक बसेको थिएन ।
कांग्रेस केन्द्रीय समिति बैठक बढीमा एक साताभित्रै सकिन्थ्यो । तर, यसपटक भने नियमतवश नै बैठक तन्काइएको छ । भदौ २३ र २४ गतेको ‘जेन-जी’ पुस्ताको आन्दोलनको भावनाअनुसार महाधिवेशन गरी नीति तथा नेतृत्व चयन गर्न दबाबबीच केन्द्रीय समिति बैठकलाई जानाजान निरन्तरता दिइएको र अनिर्णयको बन्दी बनाइएको आरोप लाग्न थालेको छ । उपचारका लागि सिंगापुर जानुभएका पार्टी सभापति शेरबहादुर देउवा कात्तिक २८ वा २९ गते स्वदेश फर्कने र त्यसपछि मात्र बैठक एउटा निष्कर्षमा पुग्ने केही नेताहरूको दाबी छ । सभापति देउवाले असोज २८ गते सानेपास्थित केन्द्रीय कार्यालय उपस्थित भएर उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिनुभएको थियो । समयमै महाधिवेशन हुने र नेतृत्व हस्तान्तरण गर्ने देउवाको भनाइ थियो ।
२०७८ मंसिर २४ देखि २८ गतेसम्म भएको १४औँ महाधिवेशनबाट देउवा सभापति बन्नुभएको थियो । विधानअनुसार देउवा नेतृत्वको कार्यसमितिको नियमित कार्यकाल चार वर्ष हो जुन यही मंसिरमा सकिँदै छ । सभापति देउवाले समयमै महाधिवेशन हुने र नेतृत्व हस्तान्तरण गर्ने भने पनि त्यसअनुसार केन्द्रीय समिति बैठक अघि बढ्न सकेको छैन । महामन्त्री गगन थापाले महाधिवेशनसहित १० वटा एजेण्डा केन्द्रीय समितिमा पेस गर्नुभएको थियो । तर, चुनावअघि महाधिवेशन गर्ने कि चुनावपछि, नियमित गर्ने कि विशेष भन्नेमा केन्द्रीय सदस्यहरू विभाजित छन् । जारी केन्द्रीय समिति बैठकमा नेताहरूले नयाँ नयाँ प्रस्ताव ल्याउने क्रम जारी छ । महामन्त्री थापाले कात्तिक १८ को केन्द्रीय समितिमा पुस १६ देखि १९ गतेसम्म १५औँ महाधिवेशन गर्न प्रस्ताव गरे पनि लगत्तै सहमहामन्त्री महेन्द्र यादवले वैशाख अन्तिम साता महाधिवेशन गर्नुपर्ने प्रस्ताव गर्नुभएको थियो ।
केन्द्रीय सदस्य मधु आचार्यले यही मंसिर २४ गते पार्टीको विशेष महाधिवेशन गर्न प्रस्ताव राख्नुभएको थियो । मंगलबारको बैठकमा केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर संकलन गरेका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिलाई समेटेर आगामी फागुन २१ गतेको निर्वाचनअघि नीति महाधिवेशन गर्नुपर्ने प्रस्ताव गर्नुभएको छ । विकास, स्थायित्व, समृद्धि र संविधान रक्षाका लागि पार्टी एक भएर अगाडि बढ्नुपर्ने धारणा राख्दै कार्कीले भन्नुभयो, ‘५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरलाई बढाएर ६० पु¥याउने वा ३० मा झार्न ऊर्जा खर्च गरेर बर्बाद गर्ने कि घोषित मितिमा आमनिर्वाचनमा गएर संविधान रक्षा र लोकतन्त्र रक्षाका लागि हामी अघि बढ्ने ? ५४ प्रतिशत साथीहरूले विशेष महाधिवेशन माग गर्नुभएको छ । चुनावअघि यसलाई नीति महाधिवेशनका रूपमा सम्पन्न गरौँ ।’
शीर्ष नेताहरूले क्रियाशील सदस्यता टुंगो लगाउन मद्धत गरेनन् : रसाइली
केन्द्रीय सदस्य प्रकाश स्नेही रसाइलीले क्रियाशील सदस्यता टुंग्याउन पार्टीका शीर्ष नेताहरूले नै सहयोग नगरेको आरोप लगाउनुभएको छ । जारी केन्द्रीय कार्यसमिति बैठकमा रसाइलीले भन्नुभयो, ‘शीर्ष तहका नेताहरूले आफ्नै स्थानको क्रियाशील सदस्यता टुंगो लगाउन सहयोग गर्नुभएन । क्रियाशील सदस्यता नवीकरण नगरे कारबाही गर्ने अधिकार समितिलाई छैन । महामन्त्री र समिति सदस्यले गरेनन् भनेर हुन्छ ? ३६ पटक ताकेता गरिएको छ ।’
चुनावअघि महाधिवेशनको मिति घोषणा गरौँ ; विश्वकर्मा
कांग्रेसका सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले निर्वाचनअघि नै केन्द्रीय महाधिवेशनको मिति घोषणा गर्नुपर्ने धारणा राख्नुभएको छ । केन्द्रीय समितिको मंगलबारको बैठकमा प्रमुख विश्वकर्माले २१ फागुनको निर्वाचनअघि नै १५औँ महाधिवेशनको मिति घोषणा गर्नुपर्ने धारणा राख्दै भन्नुभयो, ‘मलाई लाग्छ दुवै तोकिएको समयमा हुन जरुरी छ । यसका लागि छलफल र बहसमा अल्झिएर समय बर्बाद नगरौँ । महाधिवेशनको माध्यमबाट निर्वाचनको तयारी गरौँ । यसको मतलव निर्वाचनभन्दा अघि नै केन्द्रीय महाधिवेशनको मिति घोषणा गरौँ । सोहीअनुसार सबै तहका अधिवेशनको तालिका सार्वजनिक गरौँ ।’
चुनावको परिस्थिति हेरेर मात्रै महाधिवेशनको मिति तोक्न आग्रह
केन्द्रीय सदस्य भीम पराजुलीले पार्टीमा ‘जेन-जी’ पुस्ताको सहभागिता सुनिश्चित गर्न विधान संशोधन आवश्यक रहेको बताउनुभएको छ । विधान संशोधनका लागि आगामी पुसभित्र पार्टीको विधान अधिवेशन आयोजना गरिनुपर्ने धारणा राख्दै पराजुलीले भन्नुभयो, ‘मंसिर-पुसभित्रै पार्टीको विधान अधिवेशन गरी पार्टीको स्थानीय नेतृत्वदेखि केन्द्रीय नेतृत्वसम्मका आठै तह तथा क्रियाशील वितरणमा ‘जेन-जी’ र युवाको न्यूनतम ३० प्रतिशत सहभागिता सुनिश्चित हुनेगरी विधानमा आवश्यक संशोधन परिमार्जन गरौँ ।’
कांग्रेसभित्र सामाजिक सञ्जालमै लाञ्छना लगाउने प्रवृत्ति आत्मघाती : प्रवक्ता महत
नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीभित्र सामाजिक सञ्जालमार्फत एक-अर्कामाथि लाञ्छना लगाउने तथा आफ्ना सहकर्मीलाई होच्याउने प्रवृत्ति बढ्नु आत्मघाती भएको टिप्पणी गर्नुभएको छ । मंगलबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै डा. महतले यस्तो प्रवृत्तिले पार्टी संगठन र एकतालाई कमजोर बनाउने बताउनुभयो । उहाँका अनुसार हाल जारी केन्द्रीय समिति बैठकमा महाधिवेशन छिटोभन्दा छिटो गर्ने विषयमा नेताहरूबीच एकमत भए पनि अन्तिम सहमति जुट्न बाँकी रहेको छ । बैठकमा विशेषगरी आसन्न राष्ट्रिय निर्वाचनको सन्दर्भमा आन्तरिक निर्वाचन (महाधिवेशन) गर्नु कति उपयुक्त हुन्छ ? भन्ने विषयमा छलफल केन्द्रित रहेको उहाँले जानकारी दिनुभयो । डा. महतले भन्नुभयो, ‘महाधिवेशन गर्नुपर्छ भन्नेमा सबै एकमत छ । तर, राष्ट्रिय निर्वाचनको संघारमा आन्तरिक निर्वाचन गर्नु उपयुक्त हुन्छ कि हुँदैन, र त्यसका लागि पार्टी तयार छ कि छैन ? भन्ने विषयमा गम्भीर छलफल भइरहेको छ । बैठकको अन्त्यसम्ममा समान निष्कर्षमा पुग्ने विश्वास छ ।’
आन्तरिक एकतामा जोड
केन्द्रीय सदस्य दीपक गिरीले भण्डारखाल पर्वभन्दा डरलाग्दो अवस्थामा लामो इतिहास बोकेको पार्टीको बैठक चलिरहेको टिप्पणी गर्नुभएको छ । मंगलबार केन्द्रीय कार्यसमिति बैठकमा गिरीले ‘जेन-जी’ आन्दोलनलाई भण्डारखाल पर्वसँग तुलना गर्दै भन्नुभयो, ‘नेपालको इतिहासमा बडो डरलाग्दो घटना पहिलो भण्डारखाल पर्व भनिन्छ । त्योभन्दा पनि डरलाग्दो अवस्थामा एउटा इतिहास बोकेको पुरानो पार्टीको यो मिटिङ भइरहेको छ । किन रुमलिरहेका छौँ त ? एउटै चिज हो चार तारा, रूख र एकता । यसरी धेरै व्यक्तिवादी मात्र गरेर केही हुनेवाला छैन । एकतामा जाऊँ, धेरै नाटक नगरौँ ।’






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच