नेपाली कांग्रेस नेपाली इतिहासको पुरानो दल । लोकतान्त्रिक मूल्यमान्यता र आदर्शलाई अपनाउने बाचा गरेर आजभन्दा आठ दशकअगाडि गठित दल । बीपी कोइराला, सुवर्णशमशेर, गणेशमान सिंह, सूर्यप्रसाद उपाध्याय जस्ता नेताहरूले गठन गरेर इतिहास बनाएको पार्टी । १०४ वर्षे राणातन्त्रबाट जनतालाई रैतीबाट नागरिक बनाउने क्रान्तिको नेतृत्व गरेको दल । जनताको बलबाट स्थापित प्रजातन्त्रलाई राजाले अपहरण गरेपछि पञ्चायतविरुद्ध नथाकेर संघर्ष गर्ने कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइरालाहरूको विरासत बोकेको पार्टी । इतिहासमा २००७, २०४६ र २०६३ सालका सफल जनसंघर्षहरूको नेतृत्व गरेको दल । पटक-पटक सत्ता सञ्चालनको अवसर पाउँदा नागरिकको अपेक्षा पूरा गर्न नसकेको आरोप खेप्न बाध्य संगठन । आन्दोलनहरूको नेतृत्व गरेको जस लिइरहँदा परिवर्तनलाई दिगो र जनताको आकांक्षा पूरा गर्न नसकेकामा आलोचित नेतृत्व ।
पार्टी स्थापनाको ८० वर्षे इतिहासमा आन्तरिक संघर्ष र जिम्मेवारी व्यवस्थापनको कमजोरीले आफैं नेतृत्वको सरकार ढाल्नेदेखि टुटफुटको चरणबाट गुज्रिँदै आएको छ, कांग्रेस । २००७ को परिवर्तनपछि आफ्नै नेताको नेतृत्वमा बनेको सरकार र पार्टीबीचको टकरावले नवस्थापित व्यवस्थालाई नै अस्थीर बनायो । कांग्रेसीहरूबीचको कलह चर्किएकै समयमा शक्ति आर्जनका लागि राजाले सुँढ छिराए । परिणाम संविधानसभाको चुनाव हुन नसकेको मात्र होइन राजाले दिएको संविधानमा रहेर संसद्को चुनाव गराउन अर्को आठ वर्ष संघर्ष गर्नुप¥यो । २०१५ सालमा भएको संसदीय निर्वाचनबाट जनताको प्रतिनिधिका रूपमा विश्वेश्वरप्रसाद कोइराला देशको प्रधानमन्त्री त भए तर दलभित्रकै व्यक्तिहरू राजा महेन्द्रतर्फ मिल्नपुगे । परिणाम जननिर्वाचित सरकारलाई राजा महेन्द्रले डेढ वर्षमै अपदस्थ गरेर सम्पूर्ण सत्ता आफ्नो हातमा लिए ।
विशेष महाधिवेशनको माग गर्ने कांग्रेसका ५४ प्रतिशत हिस्सालाई कसरी सम्बोधन हुन्छ ? फागुन २१ का लागि तोकिएको निर्वाचन अगावै नियमित महाधिवेशन गराएर विशेष महाधिवेशन मागिरहेकाहरूलाई सम्बोधन गर्न सक्छ कांग्रेस नेतृत्व ? मंसिरमै महाधिवेशन गर्नुपर्ने दबाब बढाइरहेका महामन्त्री द्वयले सहमतिमै नियमित महाधिवेशनका लागि मिति प्रस्ताव गर्न खोज्दा नपाएपछि आफ्नातर्फबाट बैठकमा मिति प्रस्ताव गरेका छन् ।
राजाको निरंकुश सत्तामा कांग्रेसीहरू तितरबितर भए । देशभित्र जेलमा वा बाहिर निर्वासनमा रहनुपर्ने अवस्था सिर्जना भयो । ३० वर्षे पञ्चायत सत्तामा धेरै कांग्रेसी नेताहरू पञ्चायतमा पलायन भए । नेतृत्व क्षमता भएका धेरै कांग्रेसीहरू पञ्चायतको शरणमा पुगे । एकार्काको सुराकीसम्ममा समेल भएको आरोप उनीहरूमा चले । २०४६ को परिवर्तनपछि २०५१ मा पुग्दानपुग्दै आफ्नै कारणबाट कांग्रेस सरकार पतन भयो । २०५८ सालको वरिपरि पुग्दानपुग्दै कांग्रेस फेरि फुट्यो । तात्कालीन पार्टी सभापतिसँग मतभेद राख्दै प्रधानमन्त्री पदमा रहेका नेता शेरबहादुर देउवाले पार्टी विभाजन गरे । अहिले २५ वर्षछि फेरि देउवा नै सभापति रहेका बेला कांग्रेस जीवनको कठिन मोडमा पुगेको छ । कतै कांग्रेस विभाजनमै पुग्ने त होइन आशंका बढेको छ ।
२३, २४ भदौको जेनजी विद्रोहले तत्कालीन सत्ता सहायक कांग्रेसलाई सत्ताधारी एमालेसँगै सडक किनारामा धकेलिदिएको छ । भौतिक प्रहारसम्म ब्यहोर्न बाध्य सभापति देउवाले सभापतिको कार्यकारी जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्कालाई सुम्पेका छन् । बदलिँदो जनआकांक्षा अनुरूप पार्टी चलाउनुपर्ने विषयको नेतृत्व महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्माले गर्दा यथास्थितिमा कांग्रेसको रथ घिच्याउन देउवा निकटका केही नेता बल लगाइरहेका छन् । पार्टीका करिब ५५ प्रतिशत नेता कार्यकर्ता नियमित नगरिए विशेष महाधिवेशन गरेरै भए पनि नयाँ नेतृत्व चुन्नुपर्ने पक्षमा उभिएका छन् । विशेषम हाधिवेशनको राप र चाप परेकै समयमा झण्डै एक महिनायता केन्द्रीय समितिको बैठक लम्ब्याएर नेतृत्व समय गुजार्दैछ ।
यही बेलादेशमा रहेका कम्युनिष्ट दलहरूभित्र व्यापक ध्रुवीकरण हुँदैछ । नेकपा एमालेभित्र ठूलो असन्तोषका बीच अध्यक्ष केपी ओलीले शक्ति एकीकृत गरेका छन् । पार्टी सत्ता त्याग्नुपरेको दबाबविपरीत उनी आफ्नो विकल्प नभएको रेट लगाइरहेका छन् । नेकपा माओवादी फुटे गएका माओवादी चोइटाहरू जोड्ने आकांक्षाबीच आफ्नै दललाई सगोल राख्न सकिरहेको छैन । नेकपा एस सबैभन्दा बढी ध्वस्त बनेको छ । माधव नेपाल, झलनाथ खनालले प्रचण्डको पोल्टामा पार्टी विसर्जन गराउन खोज्दा तीन टुक्रा भएको छ । घनश्याम भुषालसहितका नेता समूह एकातिर र रामकुमारी झाक्रीसहितका नेता पुरानै पार्टी एमालेमा फर्किएका छन् । एमालेमा विद्या भण्डारी समूह कुनै पनि बेला चोइटिन सक्ने प्रबल सम्भावना जीवित देखिन्छ ।
यस्तोमा विशेष महाधिवेशनको माग गर्ने कांग्रेसका ५४ प्रतिशत हिस्सालाई कसरी सम्बोधन हुन्छ ? फागुन २१ का लागि तोकिएको निर्वाचन अगावै नियमित महाधिवेशन गराएर विशेष महाधिवेशन मागिरहेकाहरूलाई सम्बोधन गर्न सक्छ कांग्रेस नेतृत्व ? मंसिरमै महाधिवेशन गर्नुपर्ने दबाब बढाइरहेका महामन्त्री द्वयले सहमतिमै नियमित महाधिवेशनका लागि मिति प्रस्ताव गर्न खोज्दा नपाएपछि आफ्नातर्फबाट बैठकमा मिति प्रस्ताव गरेका छन् । पुस मसान्तभित्र महाधिवेशन गरेर जान सकिए विशेष महाधिवेशन मागकर्ताको माग सम्बोधन हुने यो समूहको तर्क छ तर कतिपय नेताले २१ फागुनमा हुने भनिएको चुनावपछि महाधिवेशन गर्नुपर्ने भन्दै बैठकमा उक्त प्रस्तावको प्रतिरोध गरिरहेका छन् । महामन्त्री थापाले चुनाव अगावै महाधिवेशन गर्न सकिने भन्दै आगामी पुस १६–१९ मा सम्पन्न हुनेगरी कार्यतालिका प्रस्ताव गरे । तर, उनको प्रस्तावको प्रतिकारमा एकैदिन (१८ कात्तिकमा) सहमहामन्त्री महेन्द्र यादवले चुनाव सम्पन्न गरिसकेपछि मात्रै महाधिवेशन गर्नुपर्ने प्रस्ताव बैठकमा गरेका छन् ।
नेताहरूबीच तिक्तता यति बढेको छ कि एकार्कामा आरोप-प्रत्यारोपको शृंखला नै छल्दो छ । पूर्वमहामन्त्रीकृष्ण सिटौलाले त वर्तमान महामन्त्री थापाले नेताहरूविरुद्ध साइबर शक्ति प्रयोग गरेर नियमित आक्रमण गरिरहेको र सामाजिक सञ्जालबाट सभापति बन्न खोजेको आक्षेप नै लगाएका छन् । उनको साथमा उभिएका छन्, पूर्वमहाममन्त्री एवं उपसभापति प्रकाशमान सिंह, विमलेन्द्र निधि, गोपालमान श्रेष्ठ, शशांक कोइराला, प्रकाशशरण महतलगायत सात भाइ नेता । जसका कारण यी पक्षबीच केन्द्रीय समिति बैठकमै एकार्कालाई घोचपेच गर्ने शैली चलिरहेको छ । माथिदेखि तलसम्मै नेताकार्यकर्ता चिरिएका छन् ।
२ हजार ४८८ महाधिवेशन प्रतिनिधिले हस्ताक्षरसहित विशेष महाधिवेशनको माग गर्दै कार्यबाहक सभापति खड्काको टेबलमा २९ असोजमा बुझाइएको लिखित निवेदनबारे कुनै टुंगो लगाइएको छैन । सबैको आँखा कांग्रेस बैठक र कार्यबाहक सभापति खड्कातिर सोझिएको छ । इतिहासको चाप बुझेर खड्काले कांग्रेसलाई स्वस्फूर्त रूपमा आगाडि बढ्न सघाउने छन् वा आफ्नो गुटका केही नेताको स्वार्थमा कांग्रेस र आम कांग्रेसीजनको अपेक्षामाथि कुठाराघात गर्नेछन् भन्ने प्रश्न उनी समक्ष तेर्सिएको छ ।
निर्वाचन अगाडि महाधिवेशन सम्पन्न गरेर नयाँ नेतृत्व र नीतिसहित जनतामा जाँदा कांग्रेस क्षति कम गरेर राष्ट्रिय राजनीतिमा फेरि फर्कन सक्ने बिन्दुमा देखिन्छ । तर, पूर्ववर्ती सत्ता गठबन्धनका नेता केपी ओलीकै झैँ अहंकार, दम्भ र लालसाको गर्तमा फस्यो भने कांग्रेसले आफूलाई कसरी राष्ट्रिय राजनीतिमा सान्दर्भिकता देखाउँला भन्नेहरू धेरै देखिएका छन् । उपचारका लागि काठमाडौंबाट सिंगापुर पुगेका देउवातिर आशाका आँखा तेस्र्याउने र आशंका गर्नेहरू दुबै छन्, कांग्रेसमा । तर, सार्वजनिक रूपमा देउवाले बाटो छाडिदिएका छन् । त्यसलाई सम्हालेर पार्टीलाई एक ढिक्का राखेर समाधान खोज्नुपर्ने दायित्व बाँकी नेताको काँधमा छ ।
विशेष महाधिवेशनको माग गर्नेमा कुनै एउटा समूहका मात्र छैनन् । इतर र संस्थापन दुबैतर्फका पार्टीमा सुधार चाहने देशैभरका नेताकार्यकर्ता उक्त पक्षमा उभिएका छन् । विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्नेहरूलाई समय गुज्रिसकेको भन्दै अपमानित गरेकामा पनि उनीहरू आक्रोशमा छन् ।
सहमतिका साथ नियमित महाधिवेशनको मिति नतोकिए ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षरसहित माग गरे तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने विधानको बाध्यकारी व्यवस्था लत्याउन पाइने छैन । यस्तोमा जबरजस्त विशेष महाधिवेशनमा पुगेमा कांग्रेस फुटको डिलमा उभिनेछ । जेनजी विद्रोह केही होइन । यो अपराधीहरूको विध्वंशबाट मेरो सत्ता गुमेको हो भनेर बताउने एमाले अध्यक्ष केपी ओलीकै शैलीमा कांग्रेसभित्र पनि केहीले आवाज उठाइरहेका छन् । उनीहरूको निशाना परिवर्तित सन्दर्भमा पार्टीभित्र सुधार खोज्नेविरुद्ध छ । २३ भदौमा मारिएका दर्जनौं युवाको रगत र २४ भदौको विध्वंशका बारे जवाफ नखोजी जनताकाबीच जाँदा पार्टीको अस्तित्व के होला ? पार्टी नेतृत्व र नीति परिवर्तनले नै त्यो आक्रोशलाई मतपेटिकासम्म ल्याउँदा मत्थर पार्नसक्ने बुझाइमा रहेकाहरू दिन बित्दै जाँदा पार्टीपंक्तिका हार्डलाइनर र परिवर्तन नचाहने पक्षको मनोबल बढ्को महसुस गरिरहेका छन् ।
उसो त, विशेष महाधिवेशनको माग गर्नेमा कुनै एउटा समूहका मात्र छैनन् । इतर र संस्थापन दुबैतर्फका पार्टीमा सुधार चाहने देशैभरका नेताकार्यकर्ता उक्त पक्षमा उभिएका छन् । विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्नेहरूलाई समय गुज्रिसकेका भन्दै अपमानित गरेकामा पनि उनीहरू आक्रोशमा छन् । स्वयं देउवा पक्षका भनिएका दुई दर्जनभन्दा बढी केन्द्रीय सदस्यहरूले पनि महाधिवेशन नगरी चुनावमा जाँदा पार्टी नराम्ररी पराजित हुने निष्कर्ष निकालेका छन् । उनीहरू पनि महाधिवेशन चाँडो गरेर चुनावमा केन्द्रित हुन माग गरिरहेका छन् । महाधिवेशन अगाडि गर्दा संस्थापन पक्षमा रहेकाहरूमा हारको त्रासले बाटो रोकेको छ ।
उनीहरू केन्द्रीय समितिमा मात्र होइन त्यसपछिको लगत्तै हुने निार्वचनमा आफू र आफ्ना पक्षले टिकटसमेत नपाउन सक्ने लघुताभाषको शिकार भइरहकेका छन् । व्यक्ति, गुट र गिरोह केन्द्रित यस्ता कुत्सित मानसिकतामा फसेर कांग्रेस अनिर्णयको बन्दी बनिरहन सक्ला र ? इतिहासले अगाडि ल्याएका चुनौतीलाई सामना गरेर देश र जनताका अघिल्तिर जिम्मेवार दलका रूपमा उभिएला वा फेरि एकपटक फुटको चुलो चौकातिर भान्सा लगाउँला ?






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच