म्याग्दी । जलविद्युतको जिल्लाका रुपमा परिचित म्याग्दी जिल्लाको रघुगङ्गा गाउँपालिकामा ८४ मेगावाट क्षमताका दुई जलविद्युत आयोजना निर्माण भएका छन् ।
राहुघाट नदीमा तुँदी पावर कम्पनीले ३५ दशमलव पाँच मेगावाट क्षमताको चिमखोला–राहुघाट–मङ्गले र त्यसको ‘क्यासकेड’का रूपमा ४८ दशमलव पाँच मेगावाट क्षमताको अपर राहुघाट जलविद्युत् आयोजना निर्माण गरेको हो । चिमखोला–राहुघाट–मङ्गलेले गत साउन २० गतेदेखि व्यापारिक उत्पादन सुरु गरेको हो भने अपर राहुघाट व्यापारिक उत्पादनको चरणमा रहेको निर्माण कम्पनि तुँदी पावरका व्यवस्थापक पुष्प डाँगीले जानकारी दिनुभयो ।
उहाँका अनुसार रघुगङ्गा गाउँपालिका–४, ७ र ८ नम्बर वडाको भूगोलमा निर्माण भएका ८४ मेगावाट क्षमताको दुईवटै आयोजनाको विद्युत् केन्द्रीय प्रणालीमा जोडिएको छ । ‘रन अफ द रिभर’ प्रकृतिका आयोजनाको परीक्षण सकिएपछि व्यावसायिक उत्पादन थालिएको डाँगीले बताउनु भयाे । उहाँका अनुसार दुईवटै आयोजनाको अनुमानित लागत रु १३ अर्ब हो ।
यी आयोजनाबाट उत्पादन भएको विद्युत् रघुगङ्गा गाउँपालिका–३ तिल्केनीचौरस्थित राहुघाट जलविद्युत् आयोजनाको ‘स्विचयार्ड’बाट अस्थायी रूपमा राष्ट्रिय प्रणालीमा जोडिएको आवासीय इञ्जिनियर प्रकाश तिमिल्सिनाले बताउनुभयो । उहाँका अनुसार चिमखोलाबाट राहुघाटसम्म ३९ वटा टावर निर्माण भएका छन् ।
चिमखोला–राहुघाट–मङ्गलेको रघुगङ्गा गाउँपालिका–८ बन्दीमा बाँध र नजिकै ११० मिटर लामो, आठ मिटर अग्लो र ३० मिटर चौडाई भएको पानी थिग्रयाउने पोखरी निर्माण भएको छ । बाँधबाट पाँच किलोमिटर ३०० मिटर लामो सुरुङबाट ल्याइएको पानी रघुगङ्गा–७ चिमखोलाको बगरस्थित विद्युतगृहमा खसाल्न ९५० मिटर पेनस्टक पाइपलाइन जडान भएको छ । विद्युत्गृहबाट सुरुङको आउटलेटको उचाइ ३६० मिटर रहेको इञ्जिनियर तिमिल्सिनाले जानकारी दिनुभयो ।
चिमखोला–मङ्गले–राहुघाटको विद्युत्गृहबाट निस्कने र चिमखोलाको बगरखोलाको पानी प्रयोग गरेर अपर राहुघाटबाट विद्युत् उत्पादन गरिएको हो । रघुगङ्गा गाउँपालिका–४ दग्नामको फेदीमा विद्युत्गृह रहेको अपर राहुघाटको सुरुङ चार हजार ९०० मिटर लामो छ । आउटलेटबाट विद्युत्गृहसम्म ६८० मिटर लामो पेनस्टक पाइपलाइन जडान भएको छ ।
दुईवटै आयोजनाको इलेक्ट्रोमेकानिकल ठेकेदार एभरेष्ट हाइड्रो हो भने हाइड्रोमेकानिकल ठेकेदार माछापुच्छ्रे« मेटल एण्ड मेसिनरी हो । यी आयोजनाको सिभिल ठेकेदार रामेछाप शेर्पा कन्स्ट्रक्सन हो । साउथ एशियन इन्फ्रास्ट्रक्चरले सुरुङ बनाएको इञ्जिनियर तिमिल्सिनाले जानकारी दिनुभयो ।
राहुघाटको सहायक ठूलोखोलामा संयुक्त ऊर्जा लिमिटेडले निर्माण गरेको २१ दशमलव तीन मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजनाले गत भदौदेखि व्यावसायिक उत्पादन थालेको थियो । बन्दीस्थित ठूलोखोलाको विद्युत्गृहबाट चिमखोलास्थित चिमखोला–राहुघाट–मङ्गलेको विद्युत्गृहसम्म आठ किलोमिटर १३२ केभी क्षमताको प्रसारण लाइन ठूलोखोला र २२ दशमलव पाँच मेगावाटको माथिल्लो ठूलोखोला जलविद्युत् आयोजनाले साझेदारी गरेर बनाएका छन् ।
चिमखोलाबाट तिल्केनीसम्म २२० केभी क्षमताको प्रसारण लाइन ठूलोखोला, माथिल्लो ठूलोखोला, चिमखोला–राहुघाट–मङ्गले र अपर राहुघाट जलविद्युत् आयोजनाले बनाएका हुन् ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच