नयाँदिल्ली । पाकिस्तानको राजधानी इस्लामावादमा मङ्गलबार भएको आत्मघाती विस्फोटमा पाकिस्तानी तालिवान (टीटीपी) समूहले संलग्नता रहेको दाबी गरेको छ।
सो आक्रमणमा कम्तीमा १२ जनाको मृत्यु र २७ जना घाइते भएका छन्। पाकिस्तानी गृहमन्त्री मोहसिन नकवीका अनुसार विस्फोट न्यायिक परिसरभित्र भएको हो, जहाँ धेरै जिल्ला अदालतहरू रहेका छन्।
तालिवान समूहले विज्ञप्ति जारी गर्दै भन्यो, “हाम्रा लडाकुहरूले इस्लामावादमा न्यायिक आयोगमाथि आक्रमण गरे। पाकिस्तानको गैर–इस्लामिक कानुन अन्तर्गत फैसला गर्ने न्यायाधीश, वकिल र अधिकारीहरूलाई निशाना बनाइएको हो।” समूहले मुस्लिम बहुल देश पाकिस्तानमा ‘इस्लामिक शरिया कानून लागू नभएसम्म’ थप आक्रमण गर्ने चेतावनी पनि दिएको छ।
विस्फोटपछि प्रहरी र उद्धार टोली घटनास्थलमा पुगेका थिए। शव र घाइतेहरूलाई पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेसमा लगिएको छ।
नयाँदिल्ली विस्फोटबारे अनुसन्धान जारी
सोमबार साँझ भारतको राजधानी नयाँदिल्लीको लालकिल्ला नजिकै पनि एउटा कारमा शक्तिशाली विस्फोट भएको थियो। घटनाबारे भारतीय प्रशासनले छानबिन सुरु गरेको छ।
यसअघि भारतीय प्रहरीले पाकिस्तानमा आधारित आतङ्कवादी समूह जैश–ए–मोहम्मद र अल–कायदाको काश्मीर शाखा अन्सार गजवत–उल–हिन्द सँग सम्बन्धित गिरोहका सदस्यहरूलाई पक्राउ गरी विस्फोटक पदार्थ र आक्रमणकारी राइफलहरू बरामद गरेको थियो। यी दुवै समूह भारतमा प्रतिबन्धित छन्।
भारत सरकारले नयाँदिल्ली विस्फोटलाई पाकिस्तान समर्थित आतङ्कवादी गतिविधिसँग जोड्दै कडा प्रतिक्रिया दिएको छ, तर पाकिस्तानले ती आरोप अस्वीकार गरेको छ।
गत अप्रिलमा पहलगाममा भएको आक्रमणपछि दुवै आणविक शक्ति सम्पन्न देशबीच तनाव तीव्र बनेको थियो। त्यसयता तोपखाना, गोलीबारी र ड्रोन आक्रमणमा ७० जनाभन्दा बढीको मृत्यु भएपछि मे महिनामा मात्र युद्धविराम कायम गरिएको थियो।
सन् २०११ को सेप्टेम्बरमा दिल्ली उच्च अदालत बाहिर भएको बम विस्फोटपछि हालको घटना भारतमा सबैभन्दा गम्भीर सुरक्षा चुनौतीको रूपमा हेरिएको छ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच