रियाद । पोर्चुगलका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले आगामी वर्ष हुने फिफा विश्वकप आफ्नो अन्तिम विश्वकप हुने घोषणा गर्नुभएको छ।
९५० भन्दा बढी गोल गर्ने इतिहास रचिसकेका ४० वर्षीय रोनाल्डोले साउदी अरेबियाको एक फोरमसँग भिडियो संवादका क्रममा आफूले आगामी दुई वर्षभित्र फुटबलबाट सन्यास लिने बताउनुभयो।
“यो निश्चित हो,” रोनाल्डोले भन्नुभयो, “सन् २०२६ मेरो अन्तिम विश्वकप हुनेछ। म ४१ वर्षको हुने छु, र मलाई लाग्छ—यो अन्तर्राष्ट्रिय फुटबलबाट विदा लिन उपयुक्त समय हुनेछ।”
सन् २०२३ मा साउदी अरबको अल नासर क्लबसँग आकर्षक सम्झौतामा आबद्ध भएका रोनाल्डोले हालै आफूले “अझै एक वा दुई वर्ष मात्र खेल्ने” सम्भावना रहेको बताउनु भएकाे थियाे ।
पाँच पटकका बालोन डि’ओर विजेता रोनाल्डोले सन् २००६ देखि २०२२ सम्म पाँच पटक विश्वकपमा सहभागिता जनाइसक्नुभएकाे छ। सन् २००६ मा पोर्चुगलले उनको नेतृत्वमा सेमिफाइनलसम्मको यात्रा गरेको थियो, जुन हालसम्म विश्वकपमा पोर्चुगलको उत्कृष्ट प्रदर्शन मानिन्छ।
पोर्चुगलले अझै सन् २०२६ को विश्वकपका लागि छनोट सुनिश्चित गरेको छैन, तर बिहीबार आयरल्यान्डविरुद्धको जितले टुर्नामेन्टका लागि प्रवेश सुनिश्चित गर्नेछ।
२०२२ मा दोस्रो पटक म्यानचेस्टर युनाइटेड छोडेपछि रोनाल्डो अल नासरमा आउनु भएकाे थियाे। उहाँको आगमनसँगै साउदी अरब विश्वका शीर्ष खेलाडीहरूका लागि नयाँ आकर्षण बन्दै गएको छ।
साउदी अरबले हालै सन् २०३४ को विश्वकप आयोजनाको अधिकार प्राप्त गरेको छ, जसलाई देशको दीर्घकालीन आर्थिक विविधीकरण योजना अन्तर्गत खेलकुद र मनोरञ्जन क्षेत्रमा गरिएको लगानीको परिणामका रूपमा हेरिएको छ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच