विराटनगर । विराटनगरका युवा कवि नेत्र खतिवडाको पहिलो मुक्तकसंग्रह ‘ढुङ्गो फुलेपछि’ लोकार्पण गरिएको छ । उहाँको यो पहिलो कृति हो । नेपाल मुक्तक प्रतिष्ठान, कोशी प्रदेश शाखाले आयोजना गरेको कार्यक्रममा मुक्तकसङ्ग्रहको लोकार्पण गरिएको छ । कार्यक्रममा प्राज्ञ विवश पोखरेल, अग्रज साहित्यकारहरू बलराम पोखरेल, कविराज न्यौपाने, सरला चापागाई, उमेश लुइटेल, भुषण ढुङ्गेल, प्रयाग न्यौपाने, आयोजक संस्थाका अध्यक्ष बाबुराम पोखरेललगायतले संयुक्त रूपमा कृतिको लोकार्पण गर्नुभएको थियो ।
कृतिमाथि समालोचकद्वय उमेश लुँइटेल र भुषण ढुङ्गेलले समीक्षा गर्नुभएको थियो । समालोचक लुँइटेलले मुक्तकसंग्रहभित्रका मुक्तकहरूमा बिम्ब र प्रतीकको यथोचित उपस्थापन सहित समसामयिक, श्रृङ्गारिक तथा राष्ट्रप्रेमसँग सम्बन्धित विषयवस्तुहरूलाई कलात्मक ढङ्गले उठान गरिएकोले मुक्तकसङ्ग्रह उत्कृष्ट रहेको उल्लेख गर्नुभयो । अर्का समालोचक भुषण ढुङ्गेलले जुनसुकै विषयवस्तुलाई पनि सुत्रात्मक र चमत्कारिक ढङ्गले उठान गर्न सक्ने दख्खलता भएका मुक्तककार खतिवडाका मुक्तकहरूमा मुक्तकमा हुनुपर्ने सबै गुण भएको उल्लेख गर्नुभयो ।
प्रमुख अतिथी प्राज्ञ विवश पोखरेलले मानवीय संवेदनायुक्त यस कृतिले समाज र वर्तमान समय बोलेको धारणा राख्नु भयो । नेपाल मुक्तक प्रतिष्ठान, कोशी प्रदेश शाखाका अध्यक्ष बाबुराम पोखरेलले भविष्यको उज्यालो आशाले जीवनलाई सार्थक बनाउने बताउदै सिर्जनाधर्मितालाई निरन्तरता दिनसके मुक्तककारको भविष्य उज्वल देखिएको खुलासा गर्नुभयो । कार्यक्रममा नानुमैया दाहाल, नवराज पोखरेल ‘नवशिला’, प्रज्ञा कट्टेल, पुष्पा सायरा लगायतका मुक्तककारहरूले लोकार्पण गरिएका संग्रहभित्रका २/२ वटा मुक्तकहरू वाचन गर्नुभएको थियो ।
विराटनगर र आसपासका क्षेत्रका साहित्यकारहरूको बाक्लो उपस्थिति रहेको कार्यक्रमको सञ्चालन आयोजक संस्थाका सचिव मदन भण्डारीले गर्नुभएको थियो । कार्यक्रममा सदस्य लक्ष्मी रायमाझीले स्वागत मन्तब्य राख्नु भएको थियो ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच