नवलपरासी । बर्दघाटमा सहकारीलाई सुशासन, पारदर्शी र आत्मनिर्भरतामा जोड दिइएको छ । बर्दघाट नगरपालिकाभित्र सञ्चालनमा रहेका सहकारी संस्थाहरूको आर्थिक वर्ष २०८१÷८२ को समीक्षा तथा अन्तरक्रिया कार्यक्रममा नगरप्रमुख शम्भुलाल श्रेष्ठले सहकारी सुशासित र पारदर्शीरूपमा सञ्चालन गर्नुपर्ने बताउनुभयो । उहाँले सहकारीको कारोबारमात्र नभई त्यसले व्यावसायिक र कृषकमुखी भूमिकामा उभिनुपर्ने उल्लेख गर्दै नगरपालिकाले असल अभिभावकको भूमिका निर्वाह गर्ने बताउनुभयो । हालको जटिल आर्थिक अवस्थाबाट सहकारी जोगाउन नीति, विधि र प्रविधि प्रयोग गर्दै जिम्मेवाररूपमा सञ्चालन गर्नुपर्ने श्रेष्ठको भनाइ थियो । उहाँले अधिकारको मागसँगै कर्तव्य पालनामा पनि ध्यान दिनुपर्ने भन्दै अहिलेको चुनौतीपूर्ण परिस्थितिमा संस्था जोगाउने र सक्रियरूपमा परिचालन गर्ने समय आएको बताउनुभयो ।
नगरपालिकाले पकेट क्षेत्रका कृषकलाई मल र बीउ सहकारीमार्फत् वितरण गर्ने कार्यलाई सफलतापूर्वक अघि बढाएको पनि उहाँले जानकारी गराउनुभयो । श्रेष्ठका अनुसार कृषक कार्डमार्फत् ५० प्रतिशत अनुदानमा पाँचवटा सहकारीबाट बीउ वितरण गरिएको छ ।
नगर उपप्रमुख रुद्रप्रकाश उपाध्यायले नगर सहकारी सञ्जालको सक्रियता र सहकारी शिक्षामा जोड दिनुभयो । तीनखम्बे अर्थनीतिअन्तर्गत सहकारीलाई कृषक र व्यवसायीबीचको सेतुका रूपमा प्रयोग गरिनुपर्ने उल्लेख गर्दै मल, बीउ र बिरुवा व्यवस्थापनमा नगर तयार रहेको बताउनुभयो । सहकारीमार्फत् बजारीकरण गर्दा बिचौलियाको समस्या हट्ने र उत्पादकले उचित मूल्य पाउने वातावरण तयार हुने उहाँको भनाइ थियो ।
प्रमुख प्रशासकीय अधिकृत बाबुराम पौडेलले ‘मर्यादित सहकारी, समुन्नत समाज’ भन्ने मूल विषय प्रस्तुत गर्दै सहकारी ऐन र नियमावलीका विषयमा सहजीकरण गर्नुभएको थियो । स्थानीय तहलाई सहकारीसम्बन्धी अधिकार तोकिए पनि सीपयुक्त जनशक्ति अभावले अनुगमनमा केही कमजोरी रहेको उहाँले बताउनुभयो ।
बर्दघाट नगरका कृषि तथा पशु विकास शाखाका नवीन ढकालले भूमिहीन किसानलाई उत्पादनमा जोड्न नगरले योजना बनाएको र कृषि पकेट क्षेत्रमा तरकारी र मकै पकेटलगायतका क्षेत्रलाई सहकारीबाट प्रवद्र्धन गर्न सकिने बताउनुभयो । पशुपन्छी विकास शाखाका प्रमुख भरत लम्सालले बर्दघाट नगरले पाडा प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्न लागेको, हाल पाँचवटा दुग्ध सहकारीमार्फत् बजार व्यवस्थापन भइरहेको र मासु प्रशोधन केन्द्र स्थापना गर्ने योजनासमेत रहेको जानकारी गराउनुभयो । सहकारीकर्मी ग्रामीण वाल्मीकि बचत तथा ऋण सहकारीका अध्यक्ष रविन्द्रविक्रम हमालले राज्य अभिभावक बन्न नसक्दा सहकारी समस्यामा परेको भन्दै सहकारीका उद्देश्यअनुरूप कार्य गर्न नगर र राज्य निकाय दुवै जिम्मेवार हुनुपर्ने बताउनुभयो । सहकारीकर्मी विष्णु बराल, विष्णु बस्नेत, जितबहादुर श्रेष्ठ, रविन शर्मा चापागाईंलगायतले सहकारी सञ्जाल सुदृढीकरण, सामाजिक उत्तरदायित्व, तरलता व्यवस्थापन, स्थानीय उत्पादनको बजार विस्तार, वित्तीय साक्षरता र असल अभ्यास आदिमा जोड दिएका थिए ।
सहकारी शाखा प्रमुख सिर्जना अर्यालका अनुसार बर्दघाट नगरपालिकामा स्थानीय तहस्तरका २३, प्रदेशस्तरका १६ र संघस्तरका चार गरी कुल ४३ सहकारी संस्था सञ्चालनमा छन् ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच