समकालीन नेतृत्वहरू मध्येमा अत्यन्त सम्मानपूर्वक सक्रिय राजनीतिक यात्राबाट बिदाइ लिएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवामात्रै हुन् । भदौ २४ गते उच्छृंखल, अराजक एवं प्रायोजित समूहले अपमानित गरेको कुरा बेग्लै हो तर समयको चाप र माग बुझेर विश्राम लिने उनैमात्रै एक्ला राजनीतिज्ञ हुन् । मुलुकको विकसित परिस्थिति र युवाहरूको चासो बुझेर तत्काल कदम चाल्न सक्ने नेता भन्ने परिचय देउवाले मात्रै कायम गर्न सके । विगत केहीअघिदेखि समग्र समाजले विभिन्न दलका छ जनाले अब आराम गर्नुपर्दछ भन्दै आएकोमा अन्यले घुमाइफिराइ नेतृत्व नछाड्ने संकेत दिइसकेका छन् भने देउवाले उपसभापतिलाई कार्यवाहक तोकिसकेका छन् ।
नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको भूमिका प्रदान गर्दै गर्दा महाधिवेशन समयमै हुने र उपयुक्त निकास केन्द्रीय समितिको बैठकले चाँडै निकाल्ने कुरा कांग्रेस केन्द्रीय समितिको बैठकमा भनेका थिए । कांग्रेस केन्द्रीय समितिको पछिल्लो बैठक सुरु भएको आज एक महिना पुग्दैछ तर खड्काको नेतृत्वमा रहेका कांग्रेस अन्यौलको भूमरीमा फस्दै गएको छ । कलश चिह्न लिएर प्रजातान्त्रिक कांग्रेसको सभापति भएको दुई चार वर्षबाहेक समग्र जीवन कांग्रेसमा बिताएका र सक्रिय राजनीति गरेका देउवाले विश्राम लिँदै गर्दा राखेको चाहना यति लामो समयसम्म पूरा गर्न नसक्नु केन्द्रीय समितिकै लागि लज्जाको विषय बन्नुपर्ने हो ।
वर्तमान केन्द्रीय समितिका पदाधिकारी र सदस्यहरूले बुझ्नुपर्ने कुरा के हो भने समयमै भनेको विधानले तोकेको चार वर्षभित्र हो । समयमै भन्नुको अर्थ विशेष कारणवस हुन नसकेमा एक वर्ष थप्न सकिनेछ भनेको समय समेतलाई लिएर देउवाले भनेका हुन् भन्ने भाष्य बनाइयो भने त्यसले देउवाको अपमान गर्नु सिवाय केही गर्दैन । एक महिना बैठक बस्दा पनि निष्कर्ष निकाल्न नसक्नेहरूले एक वर्ष म्याद थप गरी साह्रै राम्रो निर्णय ल्याउने छन् भन्ने अपेक्षा गर्न पनि मुस्किल नै हुन्छ । यदि मंसिर महिनाभित्रमा एक वर्ष म्याद थप्ने निर्णय भएन भने विधानले यो केन्द्रीय समितिलाई चिन्दैन भन्ने पनि सबैलाई थाहै होला जस्तो लाग्दछ । विधान मिच्दै पार्टी चलाउँदै जाने हो भने बेग्लै कुरा हो ।
वर्तमान केन्द्रीय समितिका पदाधिकारी र सदस्यहरूले बुझ्नुपर्ने कुरा के हो भने समयमै भनेको विधानले तोकेको चार वर्षभित्र हो । समयमै भन्नुको अर्थ विशेष कारणवस हुन नसकेमा एक वर्ष थप्न सकिने छ भनेको समय समेतलाई लिएर देउवाले भनेका हुन् भन्ने भाष्य बनाइयो भने त्यसले देउवाको अपमान गर्नु सिवाय केही गर्दैन ।
कुनै एक नेताको अपमान हुनु सार्वजनिक विषय बन्न सक्दैन । देउवाको सम्मान होस् कि अपमान त्यसले आम सर्वसाधारणलाई केही फरक पर्ने पनि होइन । कुनै एक राजनीतिक दल उकालो लाग्दैछ कि ओरालो भन्नेमा पनि आमचासो रहन्न । पुरानो दललाई नयाँ दलले उछिनेर वर्षौं सत्तामा रहेका दल माटो मुनि पुग्ने हो कि भन्ने डर पनि आम नागरिकमा हुँदैन तर चासोका विषय के हो भने लोकतन्त्रको मूलमर्म बोकेको मुलुकको एउटैमात्र पार्टी नेपाली कांग्रेस खिइँदै गयो भने मुलुककै भविष्य कता पुग्छ भन्ने चर्चा चाहिँ सबैले गर्दछन् । त्यही सन्दर्भमा विधान बमोजिम समयमै महाधिवेशन गर्नु भनी लामो समय नेतृत्व गरेका देउवाले जाँदाजाँदै भनेका कुरा कांग्रेसले मान्छ कि मान्दैन भन्ने हो ।
नेपाली कांग्रेसमात्रै होइन, त्यत्तिकै पुरानो दल नेकपा एमाले पनि अस्तित्वमा रहनै पर्ने राजनीतिक दल हो । संघर्षका विभिन्न कालखण्डमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको एमालेले पनि समयको मागलाई बुझेर तदनुरूप आफूलाई रुपान्तरण गर्नु पर्दछ भन्ने आममान्यता छँदैछ । यो दलका अध्यक्ष केपी ओलीले बाँचुञ्जेल अध्यक्ष पद नछाड्ने संकेत गरे पनि समयलाई सम्बोधन गर्दै अर्ली महाधिवेशन आयोजना गर्नुलाई स्वीकार गर्नैपर्दछ । महाधिवेशनले पार्टीको नेतृत्व, संरचना र कार्यशैलीमा परिवर्तन गर्छ कि के गर्छ भन्ने त्यही दलका महाधिवेशन प्रतिनिधिहरूलाई जिम्मामा छाड्नु सिवाय सर्वसाधारणका हातमा केही छैन तर राम्रै होला भन्ने आशा राखिएको छ । त्यसैगरी कांग्रेसले पनि सकिएको कार्यकाल नलम्ब्याई महाधिवेशन गर्दा के बिग्रने रहेछ कसैले बुझ्न सकेको छैन ।
समय घर्किँदै गएको छ । मंसिर मसान्त आउन धेरै दिन बाँकी पनि छैन । एकातिर ५४ प्रतिशत महाधिवेशन समितिहरूले विशेष महाधिवेशनको माग राखेर निवेदन हालेको पनि लगभग एक महिना नै हुनलागेको छ भने तीन महिनाभित्रमा महाधिवेशन बोलाउनुपर्ने केन्द्रीय समितिको दायित्व हो । विधान बनाउने बेलामा पार्टी फुटाउनका लागि यो दफा राखिएको पक्कै होइन होला र कांग्रेस केन्द्रीय समिति कुनै अप्ठेरोमा परेमा त्यसलाई फुकाउन नै होला । त्यसैले अनेक बहाना बनाई यसलाई टार्न खोज्नु पनि विधानविपरीत सञ्चालित हुन खोजेसरह नै हुन्छ भन्ने पनि बुझ्नै पर्दछ । जब केन्द्रीय समिति नै विधान बाहिर जान थाल्छ भने उसले मातहतका अरू समितिहरूलाई विधान बमोजिम कार्य गर भन्ने हैसियत गुमाउँछ भन्ने पनि सोच्न सक्नुपर्दछ ।
विशेष महाधिवेशनको मागलाई एउटै निर्णयले मात्रै टार्न सक्दछ, त्यो भनेको नियमित महाधिवेशनमात्रै हो । नियमित महाधिवेशन पनि विशेष महाधिवेशन बोलाउनुपर्ने तीन महिनाको समयभित्रैमा बोलाएमात्रै त्यसको औचित्य सकिएको ठान्न सकिन्छ । अन्यथा सारा महाधिवेशन प्रतिनिधिहरूको अपमान हुने त निश्चित नै छ साथसाथै ती महाधिवेशन प्रतिनिधिहरूले प्रतिनिधित्व गर्ने सबै क्रियाशील सदस्यहरूको समेत अपमान हुनजान्छ । यस्ता क्रियाकलापले पार्टीलाई झन्झन् कमजोर बनाउनेभन्दा अरू कुनै काम गर्दछन् भन्ने कसैले ठान्ला जस्तो लाग्दैन ।
नियमित महाधिवेशन भयो भने एउटा कुरा के निश्चित छ भने महाधिवेशनमा हारेपछि पनि चाकडी, चाप्लुसीका भरमा केन्द्रीय समितिमा पुगेकाहरूको भोलिको बाटो बन्द हुनसक्दछ । महाधिवेशनमा कहिल्यै चुनाव नडकेका तर नेता र गुटको दैलो चहारेर केन्द्रमा पुगेकाहरूको राजनीतिक यात्रा अब आउने महाधिवेशनले अन्त्य गरिदिन सक्दछ । त्यस्ताले एक वर्ष भए पनि रजगज गरौं भनेर महाधिवेशन पर धकेल्ने प्रपञ्च रचेका हुन सक्दछन् र त्यसैका पछि भोलिको भविष्य उज्वल भएका नेताहरू पनि दौडिए भने कांग्रेसका लागि त्यो भन्दा ठूलो दुर्भाग्य केही हुन सक्दैन ।
नियमित महाधिवेशन भयो भने एउटा कुरा के निश्चित छ भने महाधिवेशनमा हारेपछि पनि चाकडी, चाप्लुसीका भरमा केन्द्रीय समितिमा पुगेकाहरूको भोलिको बाटो बन्द हुनसक्दछ । महाधिवेशनमा कहिल्यै चुनाव नडकेका तर नेता र गुटको दैलो चहारेर केन्द्रमा पुगेकाहरूको राजनीतिक यात्रा अब आउने महाधिवेशनले अन्त्य गरिदिन सक्दछ ।
महाधिवेशनमा कार्यकर्ताका बीचमा परेको चिराले आमनिर्वाचनमा असर पार्दछ भन्ने तर्क दिनेहरू देखिएका छन् । महाधिवेशनले ऊर्जा प्रदान गर्दछ भन्ने पनि सोच्न सक्नुपर्ने हो त्यतातिर कसैको ध्यान जान सके जस्तो देखिएको छैन । महाधिवेशनबाट आएको नयाँ नेतृत्वमा नयाँ ऊर्जा हुन्छ र महाधिवेशनमा सहभागी भएका कार्यकर्ताहरूमा उत्साह भरिएको हुन्छ भन्ने व्याख्या कांग्रेसीहरूले गर्न सकेको पाइँदैन । महाधिवेशनमा आएका सहभागीलाई थप जाँगर भरेर आमनिर्वाचनमा अथाह शक्तिका साथ परिचालन हुने वातावरण निर्माण गर्न सकिन्छ भन्ने नेता पनि देख्न पाइएको छैन ।
महाधिवेशन टारेरै पार्टीमा एकता कायम गर्न सकिने भए मुलुककै शक्तिशाली विद्यार्थी संगठन आज नेपाल विद्यार्थी संगठन हुनुपर्ने हो । महाधिवेशन नहुँदा कार्यकर्तामा उत्साह पैदा हुने भए नेपाल तरुण दल वर्तमान समयमा सबैभन्दा क्रियाशील र सबल संगठन हुनुपर्ने हो । प्रजातन्त्रवादी प्राध्यापक संघभन्दा चलायमान र सन्तुलित संगठन अरू कुनै नहुनुपर्ने हो । नेपाली कांग्रेसका तमामा भ्रातृसंस्थाहरू आज तँछाडमछाड गरेर पार्टीलाई संगठित, सबल एवं क्रियाशील बनाउन जुटेको देखिनुपर्ने हो । महाधिवेशन समयमा नहुँदा संघसंगठनको हालत के हुन्छ भन्ने त लामो समय राजनीति गरेर आएका नेताहरूले आफ्नै पार्टीका तिनै संगठनहरूलाई हेरेर पनि बुझ्नुपर्ने हो ।
बरू नेताहरूले एउटा सहमति पत्र तयार गरेर महाधिवेशनमा गएमा नै पार्टी चलायमान हुन सक्दछ । सहमति पत्रमा त्यस्तो कुरा लेखियोस् कि महाधिवेशनमा एउटा नेताले अर्को नेतालाई कुनै आरोप लगाउन पाउने छैन । अर्को नेतालाई गाली गलौज गर्ने नेताको उम्मेदवारी तत्कालै खारेज गरिनेछ । धन र डनको प्रयोग महाधिवेशन अवधिभर पूर्णतः बन्देज गरिनेछ । महाधिवेशनमा आफ्नो प्रचारमात्रै गर्न पाइने छ, अर्काको खोइरो खन्न पाइने छैन । यस्तै-यस्तै बुँदाहरू राखेर महाधिवेशनलाई स्वच्छ, निष्पक्ष र इमानदार नेताहरूको प्रतिस्पर्धा हुने थलो बनाउनसके महाधिवेशनले नेपाली कांग्रेसलाई फाइँदै गर्ने देखिन्छ ।
मनोनित सदस्यहरूको आडमा बहुमत पु¥याएर यही केन्द्रीय समितिले चुनावी टिकट बाँड्ने चाहना राखी महाधिवेशन पर धकेलेमा कांग्रेसको हविगत सुधार्न सक्ला जस्तो लाग्दैन । उही पुरानै शैली अपनाई उस्तै शैलीका नेताहरूलाई टिकट दिँदैमा चुनाव जितिने पनि होइन । जेन-जी आन्दोलनको प्रभाव पूर्णरूपेण राजनीतिक दलमा पर्नुपर्दछ भन्ने त किमार्थ होइन तर त्यो आन्दोलनले दिएको सन्देश भने राजनीतिक दलहरूले बुझ्न सक्नैपर्दछ ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच