काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते तय गरिएको प्रतिनिधिसभा निर्वाचनको तयारीबारे निर्वाचन आयोगका पदाधिकारीसँग जानकारी लिनुभएको छ । बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री कार्कीसँग निर्वाचन आयोगका पदाधिकारीहरूले छलफल गरेर निर्वाचनको तयारीबारे जानकारी लिनुभएको हो । प्रधानमन्त्री कार्कीले प्रमुख कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, आयुक्त डा.जानकीकुमारी तुलाधर, सगुन शमशेर जबराले आगामी फागुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचनबारे छलफल गर्नुभएको छ । छलफलमा निर्वाचन अयोगको तयारी, राजनीतिक दलहरूसँगको छलफल, राजनीतिक दल दर्ता, मतदाता नामावली दर्ता लगायतका विषयहरूमा प्रधानमन्त्री कार्कीले आयोगका पदाधिकारीहरूसँग चासो राख्नुभएको छ ।
यसअघि पनि मतदाता नामावली संकलनमा समस्या आइरहेको गुनासो आएसँगै प्रधानमन्त्री कार्कीले एक भिडियो सन्देश जारी गर्दै मतदाता नामावली संकलन सहज बनाउन निर्देशन दिनुभएको थियो । आगामी निर्वाचनका लागि मतदाता नामावलीमा नाम संकलन गर्न अब चार दिन बाँकी छ । निर्वाचनबारे राजनीतिक दलहरू सशंकित भइरहेको बेलामा आयोगसँग प्रधानमन्त्रीले गरेको भेटलाई महŒवका साथ हेरिएको छ ।
राष्ट्रिय सभामा निर्वाचनसम्बन्धी व्यापक छलफलको माग
राष्ट्रिय सभाका सांसदहरूले सरकारले निर्वाचनसम्बन्धी छलफललाई व्यापक बहसको विषय बनाउनुपर्ने आवश्यकता औँल्याएका छन् । बुधबार सिंहदरबारमा बसेको राष्ट्रियसभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै सांसदहरूले आसन्न निर्वाचनका तयारी र वातावरणबारे गम्भीर छलफल गर्न सरकारलाई सचेत गराएका हुन् । बैठकमा सांसद पदमबहादुर परियारले निर्वाचन राष्ट्रिय महत्वको विषय भएको भन्दै सरकारले यस विषयमा तत्काल र व्यापक छलफल अघि बढाउनुपर्ने सुझाव दिनुभयो ।
उहाँले समितिले पनि सरकारका प्रतिनिधिहरूलाई बोलाई तयारीबारे प्रत्यक्ष जानकारी लिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘निर्वाचनसम्बन्धी ऐनहरू आउँदै छन्, निर्वाचन हुँदै छ । यसलाई फोकस गरेर छलफल राख्नुपर्छ । यो सार्वजनिक नीतिसँग सम्बन्धित विषय भएकाले समितिले पनि अग्रसर हुनुपर्छ ।’ यसैगरी, सांसद सुमित्रा बिसीले वर्तमान राजनीतिक अवस्थाले निर्वाचन सम्भव नदेखिएको बताउँदै शान्ति सुरक्षाको कमजोरीप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले मन्त्रीहरूकै राजीनामा माग्न थालिएको र फागुन २१ गतेसम्म निर्वाचन गर्ने वातावरण नबनेको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, ‘६ महिनामा चुनाव गर्ने भनिएको छ, तर परिस्थिति त्यसका लागि अनुकूल छैन । विदेशमा रहेका नेपालीको मतदान व्यवस्थासमेत सुरक्षित र व्यावहारिक देखिँदैन । अहिले जेलबाट निस्केकाहरूले पनि त्रास सिर्जना गरिरहेका छन्, यस्तो अवस्थामा निर्वाचन कसरी सम्भव हुन्छ ?’ सांसद गोमादेवी तिमिल्सिनाले संघीय संसद्का सेवासुविधा कटौती गरेको भन्दै सरकारको आलोचना गर्नुभयो । उहाँले अर्थमन्त्रीले सांसदहरूको पाउने सुविधासमेत घटाएको बताउँदै त्यसबारे समितिले पनि छलफल गर्नुपर्ने धारणा राख्नुभयो । साथै, हालै आगलागीमा जलेर नष्ट भएका राष्ट्रिय महŒवका दस्तावेजहरूको खोजी गर्न सरकारलाई ध्यानाकर्षण गराउनुपर्ने सुझाव दिनुभयो । सांसदहरूले मुलुकको समग्र अवस्थाबारे जानकारी लिन पनि समितिले सरकारका प्रतिनिधिहरूलाई बोलाई छलफल अघि बढाउनुपर्ने निष्कर्ष निकालेका छन् ।
मतदाता नामावली दर्ता हृवात्तै बढ्यो
आगामी फागुन २१ गतेका लागि प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति घोषणा भएपछि नयाँ मतदाता नामावली दर्ता हृवात्तै बढेको छ । निर्वाचन आयोगका अनुसार पछिल्लो एक सातायता मतदाता दर्ता संख्या तीन गुणा बढी भएको छ । मंगलबारसम्म दुई लाख नौ हजार ५५२ जना नयाँ मतदाताले नामावलीमा नाम दर्ता गराइसकेका छन् । सोही दिन मात्र २३ हजार ६३८ जनाले दर्ता गराएको आयोगले जनाएको छ । २७ भदौमा प्रतिनिधिसभा विघटन र आगामी फागुन २१ गते निर्वाचन मिति घोषणा भएपछि सरकारले अध्यादेशमार्फत ऐन संशोधन गरी मतदाता नामावली दर्ता खुला गरेको थियो । सुरुका दिनमा दर्तामा उत्साह कम देखिए पनि निर्वाचन सुनिश्चित बन्दै जाँदा दर्ता गर्न आउनेको संख्या उल्लेखनीय रूपमा बढेको आयोगले जनाएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार राष्ट्रिय परिचय पत्रमा रहेको तथ्यांक र बायोमेट्रिक विवरणलाई मतदाता नामावली दर्तामा उपयोग गर्ने गरी प्राविधिक टोलीले काम गरिरहेको छ । उहाँका अनुसार स्थान-स्थानमा देखिएका सर्भर समस्या समाधान गर्दै सेवा सहज बनाइएको छ । दैनिक आठ सयभन्दा बढी दर्ता हुने जिल्लामा बिहान-बेलुका गरी दुई सिफ्टमा सेवा प्रदान गर्ने व्यवस्था मिलाइएको छ । आयोगका सातै प्रदेश र ७० वटै जिल्ला निर्वाचन कार्यालयमा बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म मतदाता नामावली संकलन र अद्यावधिक कार्य जारी छ । नामावली दर्ताको समयतालिका सकिन अब तीन दिन मात्र बाँकी रहेको छ ।
दल दर्ताको संख्या १२५ पुग्यो
निर्वाचन आयोगमा हालसम्म दर्ता राजनीतिक दलको संख्या १२५ पुगेको छ । प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा भएपछि नयाँ दलहरूले आयोगमा दर्ताका लागि निवेदन दिन थालेका हुन् । आयोगका अनुसार हालसम्मका दर्ता निवेदनमध्ये २१ नयाँ दलले निवेदन दिएका छन्, जसको अध्ययनपश्चात् स्वीकृति प्रदान गर्ने क्रम जारी छ । पछिल्लो समय कबिर सोपको नेतृत्वमा ‘जाँतो’ निर्वाचन चिहृन रहेको नागरिक उन्मुक्ति पार्टी नेपाल नयाँ दलका रूपमा दर्ता भएको छ । त्यस्तै, हर्क साम्पाङको नेतृत्वमा श्रम संस्कृति पार्टी र दिनेशराज प्रसाईंको नेतृत्वमा गतिशील लोकतान्त्रिक पार्टी पनि थपिएका छन् । यसैबीच, दल विभाजनका कारण राष्ट्रिय जनमुक्ति पार्टी र जनस्वराज पार्टी नयाँ दलका रूपमा दर्ता भएका छन् भने वामदेव गौतमको नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टी (एकता राष्ट्रिय अभियान) खारेज गरिएको आयोगले जनाएको छ । राजनीतिक दल दर्ताका लागि दलले आफ्नो विधान, नियमावली, घोषणापत्र, झण्डा, लोगो, छाप, चुनाव चिहृन, दलको नाम र प्रधान कार्यालयको ठेगाना, केन्द्रीय समिति सदस्यहरूको विवरण र आयस्रोतसम्बन्धी विवरण आयोगमा पेस गर्नुपर्ने कानुनी व्यवस्था छ ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि