काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले भदौ २३ र २४ का घटनाहरू कुनै आकस्मिक विद्रोह नभई सुनियोजित षड्यन्त्र अन्तर्गत गराइएको दाबी गर्नुभएको छ।
नेपाल खेलकुद महासंघको केन्द्रीय समितिको पाँचौँ बैठकलाई बिहीबार सम्बोधन गर्दै पोखरेलले युवालाई भड्काएर योजनाबद्ध रूपमा घटना गराइएको बताउनुभयो।
“फेक एकाउन्टमार्फत समाजलाई भड्काएर भदौ २३ र २४ को घटना गराइयो,” उहाँले भन्नुभयो, “यो घटनामा छलकपट, छद्म गतिविधि र कृत्रिम बुद्धिमत्ताको दुरुपयोग गरेर युवालाई उकासिएको पाइएको छ।”
पोखरेलका अनुसार, जेन–जी आन्दोलनको नाममा प्रयोग भएका फेसबुक एकाउन्टमध्ये ठूलो हिस्सा फेक भएको प्रमाणले यो घटनालाई षड्यन्त्रको रूपमा पुष्टि गरेको छ। उहाँले थप्नुभयो, “२४ गतेको आगजनी सामान्य पेट्रोलले हुन सक्दैन, अनुसन्धान रिपोर्टले पनि विशिष्ट रसायनको प्रयोग भएको देखाएको छ। त्यसैले यसलाई २३ गतेको आक्रोशको स्वाभाविक परिणाम भन्न मिल्दैन।”
महासचिव पाेखरेलले विदेशी शक्ति, राजावादी, माओवादी र रास्वपा लगायतका समूहबीच सहकार्य गरी एमालेविरुद्ध योजनाबद्ध रूपमा आक्रमण गरिएको आरोप लगाउनुभयो।
“हाम्रा विरुद्ध विदेशी शक्ति समेतको संलग्नतामा सुनियोजित रूपमा आक्रमण गरिएको छ,” उहाँले दाबी गर्नुभयो। पोखरेलले अहिलेको सरकारलाई पनि षड्यन्त्रकारीहरूको ‘मतियार’ भएको आरोप लगाउँदै भन्नुभयो, “सरकारले आगो लगाउनेहरूलाई खुला छाडेको छ। देखिने होइन, गोप्य रूपमा षड्यन्त्र गर्नेहरूलाई खोज्नुपर्छ।” उहाँका अनुसार, अहिलेको सरकारले राजनीतिक दलसँग संवाद गर्न नचाहेको र चुनाव गराउने इच्छाशक्ति नभएको स्पष्ट देखिएको छ। “राजनीतिक दल र नेताहरूलाई चुनावमा भाग लिनै नदिने सरकारको नेतृत्वमा निष्पक्ष निर्वाचन हुन सक्दैन,” उहाँले टिप्पणी गर्नुभयो।
महासचिव पोखरेलले संसद् पुनर्स्थापना, लोकतान्त्रिक प्रक्रिया र शान्तिका लागि एमालेले सशक्त अभियान अघि बढाउने बताउँदै, पार्टीले जनप्रदर्शन र जनपरिचालन कार्यक्रम सञ्चालन गर्ने जानकारी दिनुभयो।
उहाँले पार्टीको आगामी महाधिवेशन उद्घाटन समारोहलाई ऐतिहासिक जनसहभागिताको कार्यक्रम बनाइने दाबी गर्दै, भदौ २३ र २४ का घटनाका वास्तविक दोषी पहिचान गरी दण्डित गर्न तथा सत्य–तथ्य सार्वजनिक गर्न सरकारसँग आग्रह गर्नुभयो। पोखरेलले भन्नुभयो, “मुलुकलाई पुनः लोकतन्त्र र शान्तिको बाटोमा लैजान सबै राजनीतिक शक्ति एकजुट हुन जरुरी छ।”





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच