काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्व डिआइजी तथा तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दामा सर्वोच्च अदालतको सक्कल मिसिल झिकाउन आदेश भएको छ । बिहीबार तुलसीपुर उच्च अदालत बुटवल इजलासका न्यायाधीश वासुदेव आचार्य र ओमप्रसाद अर्यालको इजलासले सो आदेश दिएको अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले बताउनुभयो । बुटवलको सुप्रिम सहकारी संस्थाको रकम ठगी र संगठित अपराधको अभियोगमा लामिछाने र जोशी थुनामा हुनुहुन्छ ।
यसअघि कात्तिक २० गतेको इजलासले ‘सुरु मिसिल’ मगाउने आदेश दिएको थियो । गत बिहीबार सुरु मिसिल प्राप्त भएपछि बिहीबारका लागि पेशी तोकिएको हो । कात्तिक १३ गते तोकिएको अघिल्लो पेशी जोशीका कानुन व्यवसायीले निवेदन दिएपछि स्थगित भएको थियो । यसअघि लामिछानेको मुद्दामा न्यायाधीश मिलनकुमार राई र ओमप्रसाद अर्यालको इजलासले दुवै प्रतिवादीका मुद्दा एकै प्रकृतिका भएको भन्दै एकैसाथ राख्ने आदेश गरेको थियो ।
लामिछानेले बिगो बमोजिमको रकम बुझाई थुनामै रहेर मुद्दा लड्न माग गर्नु भएको थियो । त्यसअनुसार उच्च अदालतले रविसँगै जोशीको फाइल पनि पेस गर्न आदेश दिएको थियो । यसअघि उच्च अदालत बुटवलले नै लामिछानेको मुद्दामा कैफियत प्रतिवेदन माग गर्ने आदेश पनि दिएको थियो । ‘जेन-जी’ प्रदर्शनका क्रममा उच्च अदालत बुटवल इजलासमा आगजनी र तोडफोड भए पनि लामिछाने र जोशी दुवैको मुद्दा फाइल सुरक्षित रहेको अदालतले जनाएको छ ।
आफ्नो भागको बिगो रकम दाखिला गरेर रिहा गरिनुपर्ने लामिछानेको माग
बुटवलको सुप्रिम सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले सहकारीमा अपचलन गरेको आफ्नो भागको बिगो रकम दाखिला गरे पनि जिल्ला अदालत रुपन्देहीले रिहा नगरेपछि भदौ ९ गते उच्च अदालतमा निवेदन दर्ता गर्नु भएको थियो । जिल्ला अदालतका न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ गते लामिछानेको रिहा माग निवेदन अस्वीकार गरेको थियो । सुप्रिम सहकारी ठगी प्रकरणमा रविसहितका प्रतिवादीविरुद्ध १० करोड ९९ लाख ३६ हजार रुपैयाँ सामूहिक बिगो कायम गरी अभियोगपत्र दायर गरिएको छ । लामिछानेले उक्त रकमको चार भागमध्ये आफ्नो एक भागबराबर दुई करोड ७४ लाख ८४ हजार रुपैयाँ बिगो दाखिला गरी बैंक जमानत पेस गर्नु भएको थियो । जोशीले पनि सोही बराबरको जमानत पेस गर्नु भएको थियो । तर, दुवैको भागमा ठ्याक्कै कति बिगो पर्ने भन्ने यकिन नभएकाले अदालतले रिहा गर्न अस्वीकार गरेको थियो । हाल दुवै पुर्पक्षका लागि थुनामा छन् । रवि लामिछानेलाई भैरहवाबाट ललितपुरको नख्खु कारागारमा सरुवा गरिएको छ भने छविलाल जोशी भैरहवा कारागारमै हुनुहुन्छ ।
एक नं इजलासका आठ मुद्दा हेर्न नभ्याइनेमा
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक रहेका पूर्व डिआइजी जोशीको मुद्दा उच्च अदालत तुलसीपुर बुटवल इजलासको १ नं इजलासमा न्यायधीशद्वय वासुदेव आचार्य र ओमप्रसाद अर्यालको संयुक्त इजलासमा परेसँगै बिहीबार यहाँ रहेका आठ मुद्दा हेर्न नभ्याइनेमा राखिएको थियो । बहसमा रवि र छविका कानुन व्यवसायीहरूले दिनभरजसो बहस गरेपछि लम्बिएको हो । रविको तर्फबाट महेन्द्र पाण्डेय, नारायण कँडेललगायतका कानुन व्यवसायीले बहस गरेका थिए । उनीहरूको मुद्दाको पेशी भएसँगै यो इजलासमा रहेका आठ वटा मुद्दाको पेशी हेर्न नभ्याइनेमा राखिएको छ भने एक मुद्दा सरकारी वकिलबाट स्थगित गरिएको छ । ‘यसअघि पेश भएका मिसिल प्रतिलिपि भएकाले सक्कल मिसिल झिकाउने आदेश भएको हो’, सूचना अधिकारी कुँवरले बताउनुभयो ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच