काठमाडौं । युवा कथाकार सुरेश यक्सोद्वारा लिखित कथाकृति ‘पेनिबा’ विमोचन गरिएको छ । मैयुङट्याम्के साल्पा सिलिचुङ पर्यटन प्रवद्र्धन केन्द्र सभ्यता अन्वेषण केन्द्रद्वारा काठमाडौंमा आयोजित कार्यक्रममा उक्त कथासंग्र्रह सार्वजनिक गरिएको हो ।
सो अवसरमा नेपाल प्रज्ञा-प्रतिष्ठानका पूर्वकुलपति तिलविक्रम नेम्बाङ (वैरागी काइँला)ले ‘पेनिबा’ आधुनिक नेपाली समाज र प्रवासी नेपालीको जीवन भोगाइको सशक्त प्रतिबिम्ब भएको बताउनुभयो । ‘सुरेश यक्सो केवल कथाकारमात्र होइन, उहाँ कवि र साहित्यिक अभियन्ता पनि हुनुहुन्छ । उहाँका कथाहरू सरल भाषामा लेखिएका छन् तर ती कथाभित्र गहिरा भावना, संवेदना र मनोविज्ञान बगिरहेका हुन्छन्,’ उहाँले भन्नुभयो । पूर्वकुलपति नेम्वाङले धनकुटाको पहाडी भूगोल र जनजीवनसँग जोडिएको यक्सोको लेखनशैली नेपाली साहित्यमा मौलिक पहिचानका रूपमा स्थापित हुँदै गएको धारणा राख्नुभयो ।
कार्यक्रममा नेपाल प्रहरीका निवर्तमान महानिरीक्षक चन्द्रकुवेर खापुङले ‘पेनिबा’ नेपाली समाजको पहिचान र विविधताको दर्पण भएको बताउनुभयो । ‘पेनिबाले नेपालीपनलाई पुनः अनुभूति गराउँछ । पेनिबा केवल मनोरञ्जनका लागि लेखिएको कथा होइन, यो हाम्रो समाजको आत्मपरक कथा हो,’ उहाँले भन्नुभयो ।
प्राज्ञ तथा वरिष्ठ कवि श्रवण मुकारुङले कथाकार सुरेश यक्सो नेपाली साहित्य क्षेत्रका उदीयमान र बहुप्रतिभाशाली युवा कथाकार भएको बताउनुभयो । ‘पेनिबाले नेपाली साहित्यसहित देश-विदेशको परिवेश झल्काएको छ,’ उहाँले भन्नुभयो ।
त्यसैगरी, लेखक तथा समालोचक डा. तुलसी गौतम र कवि तथा कथाकार विना थिङले उक्त कृतिको विषयवस्तु, शैली र संरचना सम्बन्धमा टिप्पणी गर्दै लेखकको सिर्जनशीलतालाई उच्च मूल्यांकन गर्नुभएको थियो । उहाँहरूले ‘पेनिबा’ मा प्रेम, पीडा, संघर्ष र पहिचानको खोजजस्ता विषयलाई सशक्तरूपमा प्रस्तुत गरिएको बताउनुभयो ।
सभ्यता अन्वेषण केन्द्रका अध्यक्ष शशी सुलुम्बुले कथाकार सुरेश यक्सोजस्ता नेपाली साहित्यमा नयाँ पुस्ताको योगदान महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले यस्ता सिर्जनात्मक प्रयासले नेपाली कथालेखनलाई नयाँ दिशातर्फ डो¥याउने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा सांस्कृतिक विविधता झल्काउने च्याब्रुङ नृत्यसमेत प्रस्तुत गरिएको थियो । विमोचन समारोहमा साहित्य, कला, संस्कृति, शिक्षा र सुरक्षा क्षेत्रका प्रतिष्ठित व्यक्तिहरूको उपस्थिति रहेको थियो ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच