काठमाडौं । पार्टीको १५औँ महाधिवेशनको महत्वपूर्ण मुद्दा छिनोफानो गर्न एक महिनादेखि जारी नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक अझै टुंगोमा पुग्न सकेको छैन । असोज २८ गतेदेखि सुरु भएको बैठक पटक-पटक गरी एक महिनासम्म चलेको छ । तर, १५औँ महाधिवेशन फागुन २१ गतेको निर्वाचन अघि वा पछि भन्ने विषयमा निर्णय लिन कांग्रेसलाई कठिन भएको छ । र, पछिल्लो घटनाक्रमका विषयमा निर्णय लिन कांग्रेसलाई कठिन भएको छ । असोज २८ गते सभापति शेरबहादुर देउवा पूर्णबहादुर खड्कालाई कार्यबाहक दिनुभएको थियो । कात्तिक १३ गतेयता बैठक नियमित बसेको छ । तर, महाधिवेशन चुनावअघि कि पछि, नियमित कि विशेष महाधिवेशन, प्राथमिकता निर्वाचन कि संसद् पुनःस्थापना भन्ने बहसमा कांग्रेस रुमल्लिएको छ । जारी केन्द्रीय समिति बैठक आज (शनिबार) पनि बस्दै छ । अहिलेसम्म बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काबाहेक सबै पदाधिकारी र केन्द्रीय सदस्यहरूले धारणा पनि राखिसकेका छन् ।
पार्टीमा १५औँ महाधिवेशनको बहस उत्कर्षमा रहेको बेला संस्थापन पक्ष भने दबाबमा परेको छ । संस्थापन पक्ष चुनावलाई नै देखाएर महाधिवेशन धकेल्न चाहन्छ भने इतर समूह नियमित होस् वा विशेष चुनावअघि नै महाधिवेशन गराइछाड्ने पक्षमा छ । तर, संस्थापन पक्षकै अधिकांश पदाधिकारी र केन्द्रीय सदस्यहरू चुनावअघि नै महाधिवेशन गर्नुपर्ने पक्षमा उभिएपछि संस्थापन पक्ष दबाबमा परेको हो ।
शुक्रबार संस्थापन पक्षधर २४ जना केन्द्रीय सदस्यले निर्वाचनअघि नै महाधिवेशन सम्पन्न गर्न माग गरेका छन् । उनीहरूले आगामी मंसिरभित्र १५औँ महाधिवेशनको सुरुवात गरी तहगत रूपमा अधिवेशन सम्पन्न गर्नका लागि कार्यतालिका ल्याउन माग गरेका हुन् । १४औँ महाधिवेशनमा सभापति शेरबहादुर देउवाको समूहबाट केन्द्रीय सदस्य निर्वाचित नेताहरूले तहगत रूपमा अधिवेशन सम्पन्न गर्न कार्यतालिका बनाएर लागू गर्नुपर्ने माग राखेर कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई मागपत्र बुझाएका छन् । मागपत्र बुझाउनेमा केन्द्रीय सदस्यहरू राजेन्द्रकुमार केसी, भरतकुमार शाह, अर्जुनप्रसाद जोशी, पुष्पा भुसाल, कर्णबहादुर बुढा, गणेश लामा, आङ्गेलु शेर्पा, डा. डिला संग्रौला, उदय शमशेर राणा, नानु बास्तोला रहेका छन् । यस्तै, केन्द्रीय सदस्यहरू धना खतिवडा, अब्दुल रज्जाक, देवेन्द्रराज कँडेल, योगेन्द्र चौधरी, गोपाल दहित, बहादुरसिंह लामा, दिलमान पाख्रिन, अब्दुल सत्तार, मोहन आचार्य, अमृत अर्याल, जिपछिरिङ लामा, रामजनम चौधरी र चम्पादेवी खड्काले पनि पत्रमा हस्ताक्षर गरेका छन् ।
मागपत्रमा नेता नारायणबहादुर कार्कीको नाम पनि समावेश छ । कार्कीको नामका पछाडि मौखिक सहमति लेखिएको छ । मागपत्रमा भनिएको छ, ‘आसन्न २१ फागुन २०८२ को निर्वाचनलाई परिणाममुखी बनाउन पार्टीको विधानबमोजिम २०८२ साल मंसिर महिनाभित्र १५औँ महाधिवेशन प्रारम्भ गरी तहगत रूपमा अधिवेशन सम्पन्न गर्न कार्यतालिका बनाएर लागू गर्ने ।’ उनीहरूले १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता नवीकरण र नयाँ कियाशील सदस्यता वितरण कार्य सम्पन्न गर्नका लागि समयसीमा निर्धारण गरेर क्रियाशील सदस्यता टुंग्याउनुपर्ने पहिलो माग गरेका छन् । वर्तमान अवस्थालाई मध्यनजर गरी युवा पुस्ताहरूको समेत उल्लेखनीय प्रतिनिधित्वको सुनिश्चितता हुनेगरी विधानमा संशोधन गर्नुपर्ने र पार्टीको आन्तरिक निर्वाचन समितिलाई तत्काल पूर्णता दिनुपर्ने माग गर्दै भनिएको छ, ‘आगामी १५औँ महाधिवेशनमा सबै तहको पार्टीको संरचनामा युवा, महिला, दलित, आदिवासी जनजाति, थारू, मधेसी, मुस्लिम, पिछडा क्षेत्र र वर्ग एवं अपांगता भएकाहरूको अर्थपूर्ण सहभागिताको सुनिश्चितता गर्ने र आगामी स्थानीय, प्रदेश र संघीय तहको निर्वाचनमा समानुपातिक समावेशिताको सिद्धान्तअनुसार युवा उमेर समूहलाई समेत उम्मेदवार बनाउन प्राथमिकतामा राख्नुपर्छ ।’
सहमतिको प्रयास जारी
महाधिवेशनसम्बन्धी विवाद चर्किदै गएपछि मध्यमार्गी बाटो पहिल्याउन नेताहरू सक्रिय भएका छन् । एक पक्ष कुनै पनि हालतमा आगामी फागुन २१ गतेका लागि घोषित प्रतिनिधिसभा निर्वाचन अगाडि महाधिवेशन गर्नैपर्ने र अर्को पक्ष कुनै पनि हालतमा गर्न नहुने अडानमा देखिएपछि नेताहरू मध्यमार्गी प्रस्ताव ल्याएर पार्टीभित्रको विवाद समाधान गर्न क्रियाशील भएका हुन् । गत असोज २८ गतेदेखि जारी केन्द्रीय कार्यसमिति बैठकमा कात्तिक १९ गते महामन्त्री गगन थापाले पुस १६ देखि १९ गतेसम्म नियमित महाधिवेशन गर्नुपर्ने कार्यतालिका प्रस्तुत गरेका थिए ।
त्यसैदिन थापालाई काउण्टर दिँदै संस्थापन पक्षको वकालत गर्ने सहमहामन्त्री महेन्द्र यादवले वैशाख २७ देखि ३० गतेसम्म गर्नुपर्ने प्रस्ताव पेस गरे । त्यसपछि नेताहरूले धारणा राख्नेक्रममा एउटाको कार्यतालिकालाई उपयुक्त भन्दै राख्न थालेपछि नेताहरू मध्यमार्गी बाटो खोजेर विवाद समाधानका लागि लागिरहेका हुन् । पार्टीभित्र इतर समूहको नेतृत्व गर्दै आउनुभएका नेता डा. शेखर कोइराला, सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना सहितका कुनै पनि तालिकामा महाधिवेशन हुनैपर्छ भनेर नलागेका नेताहरू मध्यमार्गी बाटो खोजेर विवाद समाधानका लागि प्रयासरत छन् ।
पुस मसान्तको कार्यतालिका ल्याएर सकेजति काम गर्ने तर, नभ्याइएमा त्यसैबेला सार्नेगरी सहमतिको बिन्दु खोज्ने प्रयास भइरहेको नेताहरूले जानकारी दिएका छन् । असोज २९ गते विशेष महाधिवेशन माग गर्दै ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेर कार्यवाहक सभापति खड्कालाई बुझाइएको थियो । अर्कोतर्फ संस्थापन पक्षले भने निर्वाचन अगाडि प्रक्रिया सुरु गर्न आफूहरू तयार रहेको बताइरहेको छ ।
यसैबीच, पार्टी सभापति शेरबहादुर देउवा शुक्रबार स्वदेश फर्किनुभएको छ । सभापति देउवा शुक्रबार बेलुका १८ दिनपछि सिंगापुरबाट स्वदेश फर्किनुभएको हो । देउवा १० कात्तिकमा पत्नी डा. आरजु राणा देउवाका साथ उपचारका लागि सिंगापुर जानुभएको थियो । ‘जेन-जी’ आन्दोलनका क्रममा भएको सांघातिक आक्रमणमा देउवा दम्पती घाइते हुनुभएको थियो । २४ भदौमा आक्रमणमा परेका देउवा दम्पती २८ असोजमा बसेको केन्द्रीय कार्यसमिति बैठकमा सार्वजनिक हुनुभएको थियो । सोही बैठकलाई सम्बोधन गरेर सभापति देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी सुम्पिनुभएको थियो ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच