१.कवि परिचय
पुरुषोत्तम दाहाल नेपाली साहित्यका क्षेत्रमा उल्लेख्य स्रष्टा हुन् । उनको लेखनी बहुमुखी छ । साहित्यमा उनी कथाकार, उपन्यासकार, आत्मजीवनीकार र कवि हुन् भने अन्य सन्दर्भमा उनी पत्रकार, प्राध्यापक, मानव अधिकारकर्मी र प्रजातन्त्रप्रति प्रतिबद्ध राजनीतिज्ञ हुन् ।
प्रस्तुत सन्दर्भमा उनलाई कविका रूपमा हेर्दा चाहिँ उनका केही कवि केही कविता (सहलेखन २०४३), साँध (२०६९), अन्धकारको यात्री (२०७३), कालाबादलमा उज्याला पाइला (२०७९) र वंशवृक्ष (छोरासँगको संयुक्त कविता संग्रह २०८२) प्रकाशित भएको पाइन्छ । यो आलेख चाहिँ उनको वंशवृक्ष नामक पछिल्लो संयुक्त कविता सङ्ग्रहभित्रका सत्र कवितालाई मूल्याङ्कगन गर्ने र त्यसैका माध्यमद्वारा उनको कवित्व पहिचान गर्ने परिप्रेक्षबाट प्रेरित छ ।
वंशवृक्षभित्र पुरुषोत्तम दाहालका १७ वटा कविता छन् । यो कविता सङग्रह् का कविता उनी २०८१ सालमा ६ महिना अमेरिका बस्दा लेखिएका हुन् । एउटा स्रष्टा जहाँ भए पनि खाली बस्दैन र सृजनामै रमाउँछ भन्ने उदाहरणका रूपमा यो आएको छ । उनी अमेरिकामै बसे पनि नेपालप्रति अत्यन्त सचेत र नेपाली राजनीतिमा देखिएको विसङ्गतिप्रति अत्यन्त चासो गरिरहने सचेत स्रष्टा भएको देखिन आउँछ । उनका यी १७ सिर्जना तिनै पृष्ठभूमिमा रचिएका देखिन्छन् ।
सत्ता र शक्तिस्वार्थमा मस्त भई उग्राइरहेका, महलमा मोज काडेर आफैँलाई स्वयम्भू र अविनाशी ईश्वर सम्झनेहरूको विनाशको परिकल्पना पनि यस संग्रहमा कविले गरेका छन् । उनले तिनीहरूको विनाशको दिन अवश्य आउने र तिनको विलासी संसार ध्वस्त हुने भविष्यवाणी गरेका छन् ।
२. विषयवस्तु
पुरुषोत्तम दाहालको वंशवृक्षभित्रका १७ कवितालाई विषयवस्तुका दृष्टिले हेर्दा मूलत राजनीतिक विकृति र विसङ्गतिको उत्खनन्मा उनका कविताहरू केन्द्रित रहेका देखिन आउँछ । उनको नलीहाडको धुन, अजर अमर छ लास क्रीडा, माटोले फूल उमार्न छाडेको छ, ढुङ्गामाथि कागजको फूल, हे ईश्वर मुक्ति देऊ जस्ता कविताहरू अत्यन्तै शक्तिशाली बिम्बात्मक र समकालीन नेपाली समाजको राजनीतिको विकृत अवस्थाको उत्खनन्मा सफल भएका देखिन्छन् । मुखले तेल घसेर जनता र कार्यकर्तालाई चिप्लाइरहेका नेता आफैँले तताएको कराइमा परेको, अरूका लागि खाल्डो खनेर आफ्ना लागि महल बनाउनेहरू आफैँ खाल्डामा खसेको भन्दै कविले काण्डै काण्डमा मुछिँदै आएका नेताहरूप्रति सङ्केत गरेका छन् ।
नेपाली राजनीतिमा अनेक काण्ड छन् । लाउडा काण्ड छ । सुन काण्ड छ । भेपकाण्ड छ । भुटानी शरणार्थी काण्ड छ । चियाबारी काण्ड छ । अनेक यौन काण्डहरू छन् । कुनै काण्ड नमचाई, कसैलाई नठगी र कसैलाई अप्ठ्यारोमा नपारी नेता बन्न नसकिने नेपाली राजनीतिको विकृति उनको कविताको विषय बनेको छ । यस किसिमको नेपाली राजनीतिको समस्याप्रति कवि असन्तुष्ट छन् । उनको चेतावनी छ कि तिनीहरू आफ्नै कर्मबाट आफैँ विस्थापित हुनेछन् ।
जस्तै :-
कुस्ती खेल्न सिपालु थियो ऊ
शरीरभरि तेल घस्ने गथ्र्यो
उसका हातहरूले जता छोए पनि
तेल बग्थ्यो
मानिसहरू चुर्लुम्म डुब्थे ।
आज त ऊ आफैँ
तेलको कराइमा परेछ !
पौडी खेल्न सिकाउने गथ्र्यो ऊ
ऊ आफै माछा टिप्थ्यो
नदी पोखरी सबैतिर
ठूलो महल बनाउने सपना थियो
र चारैतिरका ढुङ्गा गिट्टी बालुवा माटो कब्जा गरिरहन्थ्यो
आज ऊ आफैँ
पौडी खेल्दा खेल्दै
डुबेको खबर आयो ।
देश हाँक्ने गफ गर्दै थियो ऊ
हिजोसम्म जग्गा जमिन आफ्नै बिर्ता घोषणा गर्दै हिँड्थ्यो
अरूका लागि खाल्डा बनाउने
र आफ्ना लागि धरहरा बनाउने
सपना थियो उसको
आज त बाटोमा चिप्लेर
आफैँ माटोमा पुरिएछ ऊ ।
(हे ईश्वर मुक्तिदेवबाट पृ.२१-२२)
सत्ता र शक्तिस्वार्थमा मस्त भई उग्राइरहेका, महलमा मोज काडेर आफैँलाई स्वयम्भू र अविनाशी ईश्वर सम्झनेहरूको विनाशको परिकल्पना पनि यस सङग्रह्मा कविले गरेका छन् । उनले तिनीहरूको विनाशको दिन अवश्य आउने र तिनको विलासी संसार ध्वस्त हुने भविष्यवाणी गरेका छन् ।
रङ्ग फेरेर, पार्टी फेरेर, दर्शन फेरेर, नक्कल गर्नेहरू कोही आफूलाई महान् भएको कल्पना गर्दैछन् । उनी भन्छन् पिपलको फेदमा आसन जमाउँदैमा कोही बुद्ध बन्दैन, दाह्री पाल्दैमा कोही लेखनाथ हुँदैन, चुरोट तानेर कोठा धुवाउँदै गर्दा देवकोटा कोही बन्दैन, दौरा र कालो टोपी लगाएर लौरो टेकी सडकमा हिँड्दैमा कोही बालकृष्ण सम पनि बन्दैन, कालकोट भिरेर झुस्स दारी पाली हेर्दा कोही माक्र्स पनि बन्दैन । अचेल भादगाउँले टोपी लगाएर समाजवादको भाषण गर्दै हिँड्नेहरू आफैँलाई विश्वेश्वर सम्झन्छन् । ती नक्कली विश्वेश्वरहरू एकअर्काको चाकडी र चाप्लुसीमा लिप्त छन् । शक्ति आर्जनमा केन्द्रित छन् । राजदूत बेच्छन् । जिएम बेच्छन् । समानुपातिकका सांसद बेच्छन् । यहाँ बिक्रीमा रहेका थुप्रै पदहरू छन् । त्यस्ता पद व्यापारीहरू सक्कली विश्वेश्वर हुनै सक्दैनन् भन्ने उनको निष्कर्ष छ ।
प्रस्तुत सङ्ग्रहमा यी र यस्ता भाव भएका उनका कविताहरू देशभक्ति, मानव अधिकार, बाध्यताले विदेसिएका युवा, स्वदेशमा लास उठ्न गाह्रो परेको सन्दर्भ अनेक समस्या जन्य विषय उठाउन पनि सक्षम बनेका छन् । उनको वंशवृक्षभित्रका विस्थापित हुनेहरू, हरियो पात, अलपत्र मेरो देश जस्ता कविताले यी विषयलाई अत्यन्त सशक्त ढङ्गले उठाएका छन् । हाम्रा राजनीतिज्ञहरू कोही श्रीलङ्काको मोडेलको कुरा गर्ने, कोही बंगलादेशको मोडेलको कुरा गर्ने, कोही भुटानको मोडेलको कुरा गर्ने र कसैले कसैलाई धम्काइरहने गर्दागर्दै नेपालमा पछिल्लो समय जेनजी मोडेल सफल भएको छ । कविले यो सङ्केत धेरै अगाडि गरेको देखिन्छ । अब त एउटा अर्को मोडेल थपिएको छ । विश्व राजनीतिलाई नेपालको जेनजी मोडल ।
सत्ताको बागडोर सम्हाल्नेहरू सचेत नहुने हो भने यस्ता मोडेलहरू थपिँदै जानेछन् । त्यसो हुनुभनेको देश ध्वस्त हुनु हो । मान्छे विस्थापित हुनु । मान्छेको स्वतन्त्रता मासिनु हो । अनि बाँच्न पाउने हक धरापमा पर्नु हो । यस्ता सन्दर्भका अनेक विशेष सन्दर्भलाई अत्यन्त सम्प्रेषणीय ढङ्गबाट अभिव्यक्ति दिने काम उनका ती कवितामा भएका छन् । स्वदेशका युवाहरू अस्ट्रेलिया अमेरिकातिर भासिने र देश दिन प्रतिदिन जीर्ण बन्दै जाने अवस्थाप्रति कवि संवेदनशील देखिएका छन् । कविलाई स्वदेशप्रति माया छ । स्वदेशी माटोको मूल्यको अनुभूति छ । हिमाली हावाको सम्मान छ । नेपाली भूमिमा जन्मेर हुर्केर यहाँको माटो र हावापानीबाटब सिञ्चित भएर योग्य भएपछि विदेशी भूमिमा श्रम गर्न बाध्य युवाहरूको विवशता देखेर उनको मन कुडिएको छ । त्यसैले उनी भन्छन :
देश मुटु हो भने
फुट्न लागेको छ
देश माटो हो भने
बग्न लागेको छ ।
देश सीमा हो भने
प्रतिदिन खुम्चिन लागेको छ
देश मान्छे हो भने
मान्छे देशमा भेटिँदैन
कतारका कुना र
कुवेतको घाममा खोज्नुपर्ने हुन्छ
देश मान्छे हो भने
अरबको खाडी कि
कोरियाका गाडीमा खोज्नुपर्छ
(अलपत्र मेरो देशबाट पृ. ३६)
प्रस्तुत सङग्रह्का कवितामा कवि दाहालले आफूलाई स्वदेशभित्र मात्र सीमित राखेका छैनन् उनी विश्व परिवेश र विश्व यान्त्रिकीकरणले मानिसमा उब्जाएको त्रास पनि अभिव्यक्त गर्न सक्षम देखिएका छन् । आजको विश्वमा मानिसभन्दा मेसिन सक्रिय छ । मान्छे मेसिनबाट सुरक्षित हुन सक्ने अवस्थामा छैन । वर्तमान संसार मेसिनबाट त्राहिमाम छ । मानिसको जिजीविसा बढ्दै छ । संसार व्यापारको चपेटामा परेर दिनप्रतिदिन पैसाका लागि बम बनाउँछ । बारुद बनाउँछ । हतियार बनाउँछ । शक्तिका लागि इजरायल प्यालेस्टाइन सिध्याउँछ । व्यापारका लागि रसिया युक्रेन सिध्याउँछ । यस्ता सिद्धिने देशहरू धेरै भए। यही सन्दर्भमा उनको विश्व परिवेश नियाल्ने कविता सन्दर्भको छोटो टुक्रा यस्तो छ :
हो आज मानिस
मेसिन भएको छ
र मेसिन मान्छे भएको छ
मान्छेमाथि मेसिनको राज छ मानवताहीन मेसिनका आँखामा कसरी आउँछन् र आँसु
न उसँग मन छ
न मुटु ।
.....
आफैँले आविष्कार गरेको
मेसिनसँग त्रस्त छ मान्छे
आफैले बनाएको
छेप्यास्त्रको परिधिमा
बाँच्न विवस छ मान्छे ।
आजको मान्छे
क्षण प्रतिक्षण
आफनै आविष्कारको भयले मरिरहेछ
मान्छे आफ्नै सिर्जनाको
अग्नि कुण्डमा जलिरहेछ ।
(क्षेप्यास्त्र पृ.४९-५१)
यसरी ‘वंशवृक्ष’का कविताहरूमा कवि पुरुषोत्तम दाहालको चेतना स्थानीयदेखि वैश्विक परिवेशसम्म फैलिएको देख्न सकिन्छ । यहाँ कवि व्यक्तिगत पीडालाई सामूहिक आवाजमा रूपान्तरण गर्न सफल भएका छन्। स्वतन्त्रता, मान्छेको जिउने अधिकार, स्वदेशप्रतिको माया र नेपालीहरूले भोग्नुपरेको विवशताप्रति कविको अन्तरचेतनाका संवेदनाहरू यहाँ अति सम्प्रेष्य रूपमा अभिव्यक्त भएका देखिन्छन् ।
३.भाषाशैली र कला पक्ष
कवि पुरुषोत्तम दाहाल सरल भाषाका कवि हुन् तर उनको सरल भाषाभित्र गम्भीर भाव फेला पर्छ । उनी सरल भाषामै गम्भीर खालका बिम्बहरू, गम्भीर खालका सन्दर्भहरू र गम्भीर खालका अनुभूतिलाई अभिव्यक्त गर्न समर्थ देखिन्छन् । भाषाको एकोरो बगाइमा छोटाछोटा वाक्यद्वारा उनी देश बोल्छन्, विदेश बोल्छन्, विश्व बोल्छन्, मान्छेको अधिकार बोल्छन्, राजनीतिक अपराधीहरूलाई खबरदारी गर्छन्, अझ सबैभन्दा बढी स्वतन्त्रता बोल्छन् र स्वतन्त्रतामै आफूलाई लयबद्ध पार्छन् । यो उनको कविताको आफ्नो शैली हो ।
थोरैमा धेरै भन्न सक्नु, सरलतामा जटिलता उद्घाटन गर्नु, गद्य भए पनि अभिव्यक्ति प्रवाहमा अब्बल देखिनु, उनका कविताका खास विशेषता हुन् । छोटा छोटा पङ्क्ति विन्यास गर्नु, पङ्क्ति पुञ्ज, अनुच्छेद वा श्लोकको व्यवस्था नगरी एकै सर्कोमा भन्ने कुरा सकिदिनु, उनको प्रवाहमय विशिष्ट कविता शक्ति हो । वंशवृक्षभित्र रहेका उनका सत्र कवितामध्ये १६ वटा कवितामा कतै पनि विराम छैन । एउटै प्रभाव फेला पर्छ। कथन शैली मूलतः तृतीय पुरुषात्मक र अंशतः प्रथम पुरुषात्मक भेटिन्छ ।
पुरुषोत्तम दाहाल कविताभित्र स्वैरकल्पनाको प्रयोग पनि गर्छन् । घटना सन्दर्भ र बिम्बहरूको प्रयोगबाट अकर्मण्य राजनीतिज्ञहरूलाई सुँगुरको कलात्मक व्यङ्ग्य पनि गर्न सक्ने क्षमता उनले यहाँ देखाएका छन् । यस्तो क्षमता जो कोहीमा हुँदैन र जो कोहीले स्वेैर कल्पनालाई प्राज्ञिक बिम्बमा व्यङ्ग्यको बाण बनाउन पनि सक्दैन तर उनी यसमा सफल देखिन्छन् । उनको ‘सुकरोत्थान’ शीर्षकको कविताले यही तथ्य प्रमाणित गरेको छ । यो अत्यन्त शक्तिशाली बिम्ब र व्यङ्ग्यको नमुना कविता हो ।
कवि पुरुषोत्तम दाहाल नेपाली माटोका गर्भबाट भाव थुतेर सम्प्रेषण गर्ने कवि हुन् । उनका यी सत्र कविता समकालीन देशको ऐनाका रूपमा प्रस्तुत भएका छन् । सरल भइकन व्यञ्जनाको शक्तिशाली भामप्रेषण गर्न सक्नु उनको कवित्वको महत्वपूर्ण उपलब्धिको पक्ष हो । मानव जिजीविषाको अभिव्यक्ति नै उनको कविताको धेय हो ।
पुरुषोत्तम दाहाल बिम्बहरूको सरल प्रयोग गर्नसक्ने कवि हुन् । उनले नलीहाड, बाँसुरी, सुँगुर, तातेको कराई, खाल्डो, बरमुडा ट्य्राङ्गल, कोपारा, छेप्यास्त्र, मुर्दा मान्छे जस्ता बिम्बहरूद्वारा विकृत राजनीतिज्ञहरूलाई स्वाद पारेर व्यङ्ग्य गरेका छन् । देख्दा उनका कविता सरल छन् तर सरलताभित्र व्यञ्जना गर्न सक्ने उनको कवित्व शक्ति विशिष्ट र प्रशंसायोग्य छ । उनी माधुर्य गुणयुक्त कमलो कविता लेख्ने कवि हुन् । उनका कविता बुझ्न गाह्रो छैन । सरलता बुझ्नेलाई पनि उनका कविता उपयोगी छन् । अनि विशिष्ट बुझ्नेलाई पनि उनका कविता विशिष्ट छन् । यसो भन्नुको तात्पर्य सरलताभित्र जटिलता अभिव्यक्त गर्ने कविको विशेष अभिव्यक्ति कौशल देखिन्छ भनेको हो ।
४.विचार सम्प्रेषण
वैचारिकताका दृष्टिले हेर्दा पुरुषोत्तम दाहालका १७ वटा कविता वैचारिक सन्देशले भरिएका देखिन्छन् । उनका यी कविताहरू नेपाली जीवन नेपाली राजनीति, विश्वपरिवेश र हालका दिनमा देखिएका राजनीतिक विसङ्गति विकृतिको शुद्धीकरणको अपेक्षा राख्ने वैचारिक सन्देश सम्प्रेषण गर्न सक्षम साबित भएका छन् । उनी आफ्ना सबै कवितामा राजनीतिका दृष्टिले स्वतन्त्रता चाहने खालका देखिन्छन् । मानव अधिकारवादीका दृष्टिले मान्छेले बाँच्न पाउने हक कसैले छिन्न सक्दैन भन्नेमा अडिक देखिन्छन् । देशभक्तिका दृष्टिले उनी स्वदेशमै सबै रमाउन पाउनुपर्छ र पसिना स्वदेशमै झारेर स्वदेशमै स्वर्ग उमार्नुपर्छ भन्ने विचार भएका कवि हुन् । उनको वैचारिकताको खास चुरो भने स्वतन्त्रता हो, मानव अधिकार हो र मान्छे बाँच र मान्छेलाई बचाउको आह्वान हो भन्ने देखिन्छ ।
समग्रमा पुरुषोत्तम दाहालका कविताहरू वैचारिक दृष्टिले सशक्त, नैतिक दृष्टिले उत्तरदायी र सौन्दर्यका दृष्टिले कलात्मक छन् । उनका कविताले विचार र भावबीचको सन्तुलन कायम गर्दै साहित्यलाई सामाजिक चेतना र नैतिक पुनर्जागरणको माध्यम बनाएका छन् । उनको कवित्वले नेपाली कवितालाई राजनीतिक आक्रोश र आध्यात्मिक आत्मसाक्षात्कारको सङ्गममा उभ्याएको छ । यस दृष्टिले उनका कविताहरू केवल सौन्दर्यका नमुना मात्र होइनन् उनी स्वयं एक मानववादी घोषणापत्र हुन्, जसले मुक्तिको आशा, विवेकको प्रकाश र मानवताको विजयको घोषणा गर्छ ।
५. निष्कर्ष
कवि पुरुषोत्तम दाहाल नेपाली माटोका गर्भबाट भाव थुतेर सम्प्रेषण गर्ने कवि हुन् । उनका यी सत्र कविता समकालीन देशको ऐनाका रूपमा प्रस्तुत भएका छन् । सरल भईकन व्यञ्जनाको शक्तिशाली भामप्रेषण गर्न सक्नु उनको कवित्वको महत्वपूर्ण उपलब्धिको पक्ष हो । मानव जिजीविषाको अभिव्यक्ति नै उनको कविताको धेय हो । उनी समकालीन स्वदेश र विदेश दुवैलाई बुझ्ने, तिनको समकालीन सन्दर्भ अभिव्यक्त गर्न सक्ने र तिनमा शुद्धीकरणको अपेक्षा राख्ने बहुदृष्टि भएका कविका रूपमा यस वंशवृक्ष सङ्ग्रका १७ कवितामा देखापरेका छन् ।
६.सन्दर्भ सामग्री
१.कोइराला, कुमारप्रसाद (२०८२), ‘वंशवृक्षमा अविचित्र सङ्गति विसङ्गति’ (लेखक : पुरुषोत्तम दाहाल-वंशवृक्ष, भूमिका खण्ड), काठमाडौँ : मिलाप प्रकाशन ।
२. दाहाल, कलानिधि (२०८२) ‘वंशवृक्ष भित्र बहकिदा’ (लेखक पुरुषोत्तम दाहाल– वंशवृक्ष, भूमिका खण्ड), काठमाडौँ : मिलाप प्रकाशन ।
३. दाहाल, पुरुषोत्तम (२०७९), काला बादलमा उज्याला पाइला, काठमाडौँ : शिखा बुक्स ।
४. दाहाल, पुरुषोत्तम र दाहाल, अनिमेष (२०८२), वंशवृक्ष, काठमाडौँ : मिलाप प्रकाशन ।
५. प्रभात, विष्णु (सम्पा.२०७०), साहित्यकार कलाकार परिचयकोश, काठमाडौँ : नेपाल प्रज्ञा प्रतिष्ठान ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच