नवलपरासी । सहकारीहरूले उत्पादनशील क्षेत्रमा लगानी गरेमात्र आर्थिक चलायमान हुने बताइएको छ । बर्दघाट-९ मा मुख्य कार्यालय रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्थाको ३३औँ वार्षिक साधारणसभामा वक्ताहरूले राज्यको तीनखम्बे अर्थनीतिअनुसार अर्थतन्त्र चलायमान बनाउने प्रमुख आधार सहकारी क्षेत्र पनि भएकाले सेयर सदस्यको विश्वास कायम गर्दै उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिएका हुन् । विश्व आर्थिक मन्दीको असर नेपालमै देखिन थालेको पूर्वसांसद विक्रम खनालले बताउनुभयो । देश आर्थिक जटिलताबीच गुज्रिरहेको विद्यमान अवस्थामा शहरी क्षेत्रका केही सहकारीमा आर्थिक अपचलन देखिएको उल्लेख गर्दै आर्थिक संस्थामा पारदर्शिता र जवाफदेहिताको महत्वपूर्ण भूमिका हुने पनि उहाँले प्रष्ट पार्नुभयो । पूर्वसांसद खनालका अनुसार कुनै व्यवसाय प्रभावकारीरूपमा सञ्चालन हुन नसक्दा नयाँ लगानी थपिन सकेको छैन, जसका कारण बजारमा तरलता वृद्धि भएको छ । नयाँ लगानी प्रवाह हुन नसक्ने र पुराना ऋण लिएका सदस्यबाट ब्याजसमेत नआएको परिस्थितिमा सहकारी संस्थाहरू अघि बढ्न बाध्य भएका छन् । उत्पादनमा वृद्धि नगरेसम्म आर्थिक चलायमान कायम नहुने उल्लेख गर्दै उहाँले सहकारीले उत्पादनमूलक क्षेत्रमा लगानी बढाउँदै उत्पादन प्रवद्र्धन गर्न आवश्यक रहेको बताउनुभयो ।
बर्दघाट नगरप्रमुख शम्भुलाल श्रेष्ठले स्थानीय तहमा सञ्चालन भइरहेका सहकारीमा विशेष समस्या नरहेको दाबी गर्नुभयो । केही ठूला तथा संघीय कार्यक्षेत्र भएका सहकारीमा समस्या देखिएको उल्लेख गर्दै नाम चलेका व्यक्तिहरूको नाम नै सहकारी रकम अपचलनसँग जोडिनु दुखद भएको उहाँले बताउनुभयो । तीनखम्बे अर्थतन्त्रमा सहकारी क्षेत्र चलायमान रहेको श्रेष्ठको भनाइ थियो । उहाँले भन्नुभयो, ‘अहिले सरकारी र निजी क्षेत्र दुवै चल्न सकेका छैनन् । यी दुर्ई क्षेत्रभन्दा नागरिकको पैसा बचतका रूपमा संकलन गर्ने सहकारीहरूले नै अहिलेको बजार चलायमान बनाइरहेका छन् ।’ पूर्वअध्यक्ष बालकृष्ण लम्सालले संस्थाको पारदर्शिता, पेपरलेस कारोबार प्रणाली, एपमार्फत् प्रदान गरिने सेवालगायतका कार्यले सहकारीलाई आधुनिक र विशेष बनाएको बताउनुभयो । संस्थाका अध्यक्ष कुलदिप आचार्यले पूर्ण सदस्यता वडा–घोषणा, त्रैमासिक आधार दरअनुसार ब्याज समायोजन, सामाजिक उत्तरदायित्वमुखी कार्यक्रम विस्तार तथा ‘तीन दशक’ नामक परिचय पुस्तिका प्रकाशन गर्ने योजना रहेको जानकारी दिनुभयो ।
सचिव चेतनारायण भण्डारीले प्रतिवेदन प्रस्तुत गर्दै, गत आर्थिक वर्षमा १३ वटा बैठक बसेको उल्लेख गर्दै सदस्यता, सेयर, बचत, कर्जा तथा कारोबार विस्तार गर्ने लक्ष्य राखिएको बताउनुभयो भने कोषाध्यक्ष वामदेव अधिकारीले आर्थिक विवरण प्रस्तुत गर्दै संस्थामा सेयर सदस्य संख्या नौ हजार ३२ पुगेको तथा कुल सम्पत्ति ७५ करोड ४२ लाख ४९ हजार तीन सय १५ पुगेको जानकारी दिनुभयो । लेखासुपरीवेक्षण समिति संयोजक विनोद खनालले समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । बासबसही सेवा केन्द्रबाट निर्वाचित तुलसादेवी ढकाल र लेखासुपरीवेक्षण समिति सदस्य विजयी गिरीलाई निर्वाचन समिति संयोजक बद्रीप्रसाद सुवेदीले शपथ ग्रहण गराउनुभएको थियो ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच