काठमाडौं । नेपाल राष्ट्र बैंकले पूर्वअर्थमन्त्री तथा पूर्वगभर्नर स्व. डा. यादवप्रसाद पन्तको १००आँै जन्मजयन्तीका अवसरमा ‘डा. यादवप्रसाद पन्तको बहुआयामिक व्यक्तित्व र नेपालको अर्थतन्त्रमा उनको योगदान’ विषयक विचार गोष्ठी आयोजना गरेको छ । कार्यक्रममा अर्थमन्त्री रामेश्वरप्रसाद खनालले नेपालमा आधुनिक अर्थतन्त्रको जग बसाल्न डा. पन्तले पुर्याएको योगदानको चर्चा गर्दै उहाँ बहुआयामिक व्यक्तित्व भएको बताउनुभयो । मन्त्री खनालका अनुसार वित्तीय तथा मौद्रिक नीतिसँगै कूटनीति, योजना तथा राजनीतिमा पन्तको राम्रो दखल थियो ।
गभर्नर प्राडा. विश्वनाथ पौडेलले डा. पन्तको नेतृत्वकालमा मुलुकको वित्तीय क्षेत्र र अर्थतन्त्रमा महत्वपूर्ण संरचनागत सुधारको प्रारम्भ भएको बताउनुभयो । उहाँका अनुसार पाँच सय र एक हजार रुपैयाँका बैंक नोटको प्रचलन, बैंकिङ विकास कोषको स्थापना तथा बैंकिङ सेवाको पहुँच विस्तारलगायतका महत्वपूर्ण कार्य डा. पन्तकै कार्यकालमा सम्पन्न भएका थिए । पूर्वअर्थमन्त्री डा. प्रकाशचन्द्र लोहनीले डा. पन्त ‘आधुनिक अर्थतन्त्रका चिन्तक’ रहेको बताउनुभयो भने पूर्वगभर्नर गणेशबहादुर थापाले बैंकिङ र वित्तीय सेवाको विस्तारमा पन्तको पहल निर्णायक रहेको बताउनुभयो । कार्यक्रममा पूर्वअर्थमन्त्रीहरू डा. युवराज खतिवडा, ज्ञानेन्द्रबहादुर कार्की, डा. रूप ज्योति तथा पूर्वगभर्नर डा. तिलकबहादुर रावल, दीपेन्द्रपुरुष ढकाल, विजयनाथ भट्टराई, दीपेन्द्रबहादुर क्षेत्रीका साथै पूर्वमहालेखापरीक्षक भानुप्रसाद आचार्य, ‘डा. पन्त अनुसन्धान तथा विकास प्रतिष्ठान’का सदस्य राधेश पन्तलगायतले स्वर्गीय पन्तको बहुआयामिक पक्षबारेमा चर्चा गर्नुभएको थियो ।
राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक भोलाराम श्रेष्ठले ‘डा. यादवप्रसाद पन्तको बहुआयामिक व्यक्तित्व र नेपालको अर्थतन्त्रमा उनको योगदान’ बारेको कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने राष्ट्र बैंककी वरिष्ठ डेपुटी गभर्नर डा. निलम ढुंगाना तिम्सिना र डेपुटी गभर्नर बमबहादुर मिश्रले छलफल सत्रको सहजीकरण गर्नुभएको थियो । कार्यक्रम गभर्नरको कार्यालयका कार्यकारी निर्देशक दयाराम शर्मा पंगेनीले सञ्चालन गर्नुभएको थियो । १९८२ मंसिर २ गते काठमाडौंमा जन्मिनुभएका डा. पन्त २०२५-२०३० मा नेपाल राष्ट्र बैंकका गभर्नर र २०३७-२०३९ मा अर्थमन्त्री हुनुहुन्थ्यो । राष्ट्रिय योजना आयोगका संस्थापक सदस्यसमेत रहनुभएका पन्तले आफ्नो कार्यकालमा अन्तर्राष्ट्रिय मुद्राकोष, विश्व बैंकलगायत संस्थासँग नेपालको वित्तीय साझेदारी विस्तारमा महत्वपूर्ण भूमिका खेल्नुभएको थियो ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच