काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघले उद्यमी, व्यवसायी र अर्थतन्त्रको समस्या समाधानमा ‘ट्रबलसुटर’को काम गरिरहेको बताउनुभएको छ । शनिबार काठमाडौंमा आयोजित नेपाल विद्युतीय व्यवसायी महासंघको १६औँ वार्षिक साधारणसभा एवं छैटौँ महाधिवेशन उद्घाटन कार्यक्रममा उहाँले महासंघले उद्यमी, व्यवसायी तथा अर्थतन्त्रका हरेक समस्याको समाधानका लागि निरन्तर लागिपरेको बताउनुभएको हो ।
अध्यक्ष ढकालले भन्नुभयो, ‘हामी (महासंघ)ले उद्यमी व्यवसायीका हरेक अफ्ठ्यारा र समस्या समाधानका लागि प्रयत्न गर्दै आएका छौँ । चाहे त्यो उद्योगको श्रम समस्या होस् वा डेडिकेटेड तथा ट्रंकलाइन विवादको विषय होस् । लगानीको वातावरण निर्माणका लागि कानुन परिवर्तनको कुरा होस्, उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको कुरा होस् वा कालाबजारी ऐन संशोधनको कुरा, हामीले उद्यमी व्यवसायीका समस्या समाधानका लागि राज्यसँग छलफल, संवाद र वार्ता गरी त्यसको समाधान निकाल्ने प्रयत्न गरेका छौं ।’
उहाँले लामो समयदेखि बल्झिरहेको डेडिकेटेड तथा ट्रंकलाइन विवाद समाधानका लागि आफूले प्रधानमन्त्री सुशीला कार्की तथा ऊर्जामन्त्री कुलमान घिसिङलाई गरेको आग्रह उहाँहरूले समस्या समाधानका लागि पहल लिनुभएकोमा प्रधानमन्त्री तथा ऊर्जामन्त्रीलाई धन्यवादसमेत दिनुभयो । अध्यक्ष ढकालले मुलुकमा उत्पादन वृद्धि तथा रोजगारी सिर्जनाका लागि ठूलोमात्रामा स्वदेशी तथा विदेशी पुँजी आवश्यकता रहेको र त्यसका लागि मुलुक तथा मुलुकबाहिर छरिएर रहेको सानो-नो पुँजी संकलन गरी ठूला र बहुआयामिक आयोजनामा लगानी गर्न आवश्यक रहेको बताउनुभयो । त्यसका लागि महासंघको नेतृत्वमा अन्य निजी क्षेत्रसँग आबद्ध संघसंस्थाहरू र त्यसका सदस्यहरूको समेत सहभागितामा १० अर्ब रुपैयाँ पुँजीको नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड कम्पनीको स्थापना गरिएको उहाँको भनाइ थियो ।
उक्त कम्पनीमार्फत् ठूला र बहुआयामिक आयोजनामा लगानी गरी पूर्वाधार विकास, रोजगारी सिर्जना र उत्पादन तथा सेवा प्रवाहमा सहजता गराउन आफूहरू लागेको पनि ढकालले बताउनुभयो । उहाँले हालैको जेन-जी आन्दोलनका क्रममा भएको घुसपैठमा ठूलोमात्रामा निजी क्षेत्र र निजी सम्पत्तिमाथि प्रहार गरिएको भन्दै उक्त विध्वंशमा संलग्नलाई कानुनी दायराभित्र ल्याउन सरकारसँग आग्रह गर्नुभयो । ढकालले हामी सबैको साझा उद्देश्य मुलुकको विकास र समृद्धि रहेको उल्लेख गर्दै त्यसमा सबैको हातेमालो जरुरी रहेको बताउनुभयो ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच