म २०६४ साल श्रावण १० गते महेन्द्र बहुमुखी क्याम्पस क्याम्पस, धरानबाट अंग्रेजी विषयको उपप्राध्यापक पदमा नेपाल र एसियाली अनुसन्धान केन्द्र (सिनास) कीर्तिपुरमा सरुवा भएँ । मैले प्राडा.यज्ञप्रसाद अधिकारीका बारेमा प्रशस्त कुराहरू सुनेको हुनाले मलाई उहाँसँग परिचय गर्ने अभिलाषा जाग्यो र म उहाँको कोठामा पुगेँ । दौरासुरुवाल, कोट र टोपी लगाएका, मझौला कदका, गहुँगोरो वर्णका, चश्माधारी व्यक्ति ध्यानमग्न भएर एकोहोरो कम्प्युटरमा टाइप गर्दै हुनुहुन्थ्यो । उहाँ नै मैले खोजेको प्राडा.यज्ञप्रसाद अधिकारी हुनुहुन्थ्यो । मैले उहाँलाई नम्र स्वभावको शलीन व्यक्तिको रूपमा पाएँ र पहिलो भेटमा नै उहाँसँग म प्रभावित भएँ ।
उहाँ प्राध्यापक आवासमा बस्ने र म पनि सुरुदेखि नै विश्वविद्यालय नजिक डेरा गरी बस्ने भएकाले उहाँसँग बिहान चियापसलमा पनि भेट हुन्थ्यो । सिनासमा त हामी दिनभर नै प्रायः सँगै हुन्थ्यौँ । यसले हामीबीच निकटता बढायो र म उहाँलाई अभिभावक मानेर ‘दाइ’ भन्न थालेँ । त्यसपछि उहाँबारे जानकारी लिन थालेँ । यज्ञ दाइले सन् १९९४ मा कीर्तिपुर बहुमुखी क्याम्पसबाट स्नातकोत्तर तह उत्तीर्ण गर्नुभयो । त्यसपछि सन् १९९५ मा वनारस हिन्दु विश्वविद्यालयबाट ‘नेपाली कांग्रेसको विदेश नीति’ शीर्षकमा विद्यावारिधि उपाधि प्राप्त गर्नुभयो । उहाँका स्नातकोत्तर तहका गुरु तथा उक्त तहको शोधपत्रका शोधनिर्देशक प्रा.कृष्ण खनालका अनुसार उहाँ ‘अध्ययनशील, मिहिनेती र असल विद्यार्थी’ हुनुहुन्थ्यो ।
प्रा.पुरुषोत्तम दाहाल भन्नुहुन्छ, ‘उहाँको अर्को बेजोड क्षेत्र छ : लोकतान्त्रिक समाजवाद । नेपालको सन्दर्भमा म जहिले पनि भन्नेगर्छु, बीपी कोइराला प्रथम भाष्यकार हुन् भने त्यसपछिको भाष्यकार सिके प्रसाईं । यी दुई अग्रज पुस्ताको निरन्तरता दुईजना प्रखर प्रतिभाहरू प्रदीप गिरि र डा.यज्ञप्रसाद अधिकारीले दिनुभएको छ ।’
प्रा.खनालको निर्देशनमा उहाँले तयार पार्नुभएको शोधपत्रलाई कृष्णप्रसाद भट्टराई (किसुनजी) ले ज्यादै प्रशंसा गर्नुहुन्थ्यो । उहाँले आफूकहाँ आउने जति सबैलाई देखाउँदै ‘यज्ञजीको जस्तो थिसिस हुनुपर्छ’ भन्नुहुन्थ्यो । स्नातकोत्तर तह उत्तीर्ण गरेपछि २०४२ सालमा राजनीतिशास्त्रको सहायक प्राध्पापक पदमा खुला प्रतियोगिताबाट छनौट भई वीरेन्द्र बहुमुखी क्याम्पस, भरतपुर, चितवनमा नियुक्त हुनुभयो । त्यसपछि क्रमशः उपप्राध्यपक, सहप्राध्यापक हुँदै २०६० सालमा उहाँ प्राध्यापक हुनुभयो । प्राध्यापन सुरु गरेको १८ वर्षभित्र नै प्राध्यापक पदमा पुग्नु लरतरो कुरो थिएन । यसका निमित्त विद्यावारिधिको उपाधि, पर्याप्त पाठ्य पुस्तक, सन्दर्भ ग्रन्थ, अनुसन्धानमूलक लेख, सामान्य लेखहरू, अनुसन्धान प्रतिवेदन, शोधनिर्देशन आदि आवश्यक पर्थे । यी सबै मापदण्ड पूरा गरी उहाँ अब्बल दर्जामा खरो गरी उत्रिनुभयो ।
यज्ञ दाइ वीरेन्द्र वहुमुखी क्याम्पस भरतपुर, चितवनबाट नेपाल र एसियाली अनुसन्धान केन्द्र (सिनास) मा सरुवा भएपछि अनुसन्धान र कार्यपत्र लेखन कार्यमा व्यस्त हुनुभयो । उहाँले लोकतन्त्र, समाजवाद, सामाजिक न्याय आदिका विषयमा देशविदेशमा कार्यपत्रहरू प्रस्तुत गर्नुभयो । उहाँले ‘सामाजिक न्यायः नेपालको सन्दर्भ’ भन्ने कार्यपत्र वीरगञ्ज, ओखलढुंगा, पोखरा, ललितपुर, जनकपुर, नेपालगञ्ज आदि स्थानहरूमा आयोजना गरिएका कार्याशाला गोष्ठीहरूमा प्रस्तुत गर्नुभयो ।
उक्त कार्यपत्रमाथि राष्ट्रपति रामचन्द्र पौडेल, नेपाली कांग्रेस (नेका)का सभापति तथा भूपू प्रधानमन्त्री शेरबहादुर देउवा, नेका सदस्य तथा पूर्वअर्थ तथा परराष्ट्रमन्त्री रामशरण महत, नेका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री विमलेन्द्र निधि, नेका प्रवक्ता तथा पूर्वअर्थमन्त्री प्रकाशशरण महत, भूगोलविद्, समाजशास्त्री तथा पूर्वमन्त्री हर्क गुरुङ, एफइएसका नेपालस्थित तत्कालीन प्रतिनिधि देवराज दहाल, राजनीतिक विश्लेषक प्रा.कृष्ण खनाल, प्रा.पुरुषोत्तम दहाल आदिले टिप्पणी गर्दै उहाँको प्रशंसा गर्नुभएको थियो ।
उहाँले प्रजातान्त्रिक समाजवाद र पररष्ट्र नीति सम्बन्धमा युरोपेली मुलुकहरूमध्ये डेनमार्क, नर्वे, नेदरल्यान्ड, फ्रान्स, बेल्जियम, लग्जेम्बर्ग, स्विडेन, एसियाली देशहरूमध्ये बंगलादेश, भारत, भुटान, जापान, इण्डोनेसिया र अफ्रिकी मुलुका केन्यामा पुगेर कार्यपत्र प्रस्तुत गरी विश्वभर आफ्नो विद्वताको परिचय दिनुभयो । उहाँले ११ वटा पुस्तक, नौवटा अनुसन्धानमूलक लेख, १५ वटा साधारण लेख र सातवटा अनुसन्धान प्रतिवेदन प्रकाशित गर्नुभएको कुरा गोपालप्रसाद अधिकारीले आफ्नो ‘समाजवादी विचारक प्राडा.यज्ञप्रसाद अधिकारी’ शीर्षकको लेखमा उल्लेख गर्नुभएको छ । यी सबै रचनाहरूमा उहाँले लोकतन्त्र र समाजवादको बारेमा पैरवि गर्नुभएको छ ।
यस सन्दर्भमा प्रा.पुरुषोत्तम दाहाल भन्नुहुन्छ, ‘उहाँको अर्को बेजोड क्षेत्र छ : लोकतान्त्रिक समाजवाद । नेपालको सन्दर्भमा म जहिले पनि भन्नेगर्छु, बीपी कोइराला प्रथम भाष्यकार हुन् भने त्यसपछिको भाष्यकार सिके प्रसाईं । यी दुई अग्रज पुस्ताको निरन्तरता दुईजना प्रखर प्रतिभाहरू प्रदीप गिरि र डा.यज्ञप्रसाद अधिकारीले दिनुभएको छ ।’
उहाँ २०६४ सालदेखि २०६८ सालसम्म सिनासको कार्यकारी निर्देशक हुनुहुन्थ्यो । त्यसबेला उहाँ हामीलाई अनुसन्धानमूलक लेख तथा पुस्तकहरू लेख्न प्रेरित गर्नुहुन्थ्यो । उहाँको प्रेरणाले म सिनासमा रहेर पाँचवटा पुस्तक र दर्जनौं अनुसन्धनात्मक लेखहरू प्रकाशित गर्न सफल भएँ । यही कारणबाट सिनासमा २०६४ सालमा उपप्राध्यापकमा हाजिर भएको मानिस २०७२ सालमा प्राध्यापक भएँ । उहाँले विष्णुशंकर पौडेल र शिवकुमार यादवलाई शोधनिर्देशक भएर विद्यावारिधिको उपाधि प्राप्त गराउनु भयो । यसैबाट विष्णुशंकर पौडेल पछि गएर प्राडा.विष्णुशंकर पौडेले हुनुभयो । डा.शिवकुमार यादव पाटन क्याम्पसमा प्राध्यापन गर्दै हुनुहुन्छ ।
प्रजातन्त्र संवद्र्धन केन्द्रमा डा.जगीदशचन्द्र पोख्रेल अध्यक्ष हुँदा यज्ञ दाइ उपाध्यक्ष हुनुहुन्थ्यो । उहाँले नै मलाई त्यस केन्द्रको सदस्य बनाउनु भयो । त्यस केन्द्रले काठमाडौं, पोखरा र नेपालगञ्जमा आयोजना गरेका कार्याशाला गोष्ठीहरूमा जनजातिको प्रतिनिधित्व सम्बन्धमा मैले कार्यपत्र प्रस्तुत गरेँ । त्यसै गरी उहाँ नेपाली कांग्रेसको केन्द्रीय प्रशिक्षण विभागको सदस्य हुँदा उहाँको सक्रियतामा गण्डकी र धौलागिरि अञ्चलका नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताका निमित्त लुम्लेमा प्रशिक्षणको आयोजना गरिएको थियो । त्यसमा मैले पनि प्रशिक्षक भई सहभागीलाई प्रशिक्षण दिएको थिएँ ।
यज्ञ दाइमा राजनीतिप्रति रुचि विद्यालय पढ्दादेखि नै थियो । सरस्वती निम्न माध्यमिक विद्यालयमा अध्ययनरत हुँदा नै त्यहाँ नेवि संघ स्थापना गरी त्यसको सभापति हुनुभयो । २०३१ सालमा वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुरको स्ववियुको सभापति पदमा निर्वाचित हुनुभयो । २०३६ सालमा कीर्तिपुर बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा नेवि संघको तर्फबाट सभापति पदमा निर्वाचित हुनुभयो । प्रा.कृष्ण खनालका अनुसार ‘स्ववियु सभापतिको हैसियतमा उहाँले नै त्रिभुवन विश्वविद्यालय (त्रिवि)को खुल्ला प्रांगणमा बीपी सम्बोधन भाषणको आयोजना गर्नुभयो । २०१६ सालमा त्रिविको स्थापना गर्दा बीपी प्रधानमन्त्री हुनुहुन्थ्यो तर त्रिविको प्रांगणमा उभिएर बीपीले प्राध्यापकलगायत प्राज्ञिक समुदायको उपस्थितिमा विद्यार्थीलाई गरेको पहिलो सम्बोधन भने त्यही कार्यक्रम थियो’ ।
यज्ञ दाइ बीपी कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईबाट ज्यादै प्रभावित हुनुहुन्थ्यो । उहाँ भन्नुहुन्थ्यो, ‘सायद बीपीको संगत हुँदैनथ्यो भने म के हुन्थेँ थाह छैन । नेपालमा प्रजातन्त्र ल्याउन बीपीले गर्नुभएको प्रयास हेरेर यो बाटो अवलम्बन गर्ने मेरो अठोट रह्यो’ । गणेशमान सिंहको बारेमा उहाँ भन्नुहुन्थ्यो, ‘उहाँलाई राजाले बोलाएर प्रधानमन्त्री खानुपर्छभन्दा गणेशमानजीले मेरो स्वास्थ्य त्यति ठीक छैन किसुनजीलाई दिनु उपयुक्त ठान्दछु भन्नुभयो । आज कुनै पनि नेताले प्रधानमन्त्री जस्तो पद त्यागेर त्यो निष्ठा र उदारता देखाउलान् ?’ त्यसरी नै कृष्णप्रसाद भट्टराईका बारेमा उहाँ भन्नुहुन्थ्यो, ‘आफू प्रधानमन्त्री भएर बालुवाटार जाँदा छाता, ट्यांका र सुराही लिएर प्रवेश गर्नुभएका सन्त नेताले आफ्नो कार्यकाल सकिएर फिर्ता हुँदा पनि तिनै चिजबाहेक अरू केही लिएर फर्कनु भएन । आज यो उदारता कुन नेतामा पाइएला ?’
राष्ट्रियता, लोकतन्त्र र समाजवादका पक्ष लडिरहेका आफ्ना आदर्श नेताहरूको समर्थनमा निर्दलीय तानाशाही पञ्चायती शासनकालमा पनि यज्ञ दाइ जोखिम मोल्न तयार हुनुहुन्थ्यो । २०३३ साल पुस १६ गते बीपी र गणेशमान राष्ट्रिय मेलमिलापको नीति लिएर नेपाल आउनुभयो । कोइरालाको राष्ट्रिय मेलमिलाप नीतिको सक्रियतापूर्वक प्रचारप्रसारमा लाग्दा उहाँ नौ महिना जेल पर्नुभयो । २०४२ सालमा नेपाली कांगेसले सञ्चालन गरेको भद्र अवज्ञा आन्दोलनमा सक्रियताका साथ सहभागी हुँदा उहाँलाई गिरफ्तार गरी रौतहट जेलमा आठ महिना राखियो । त्यसैगरी २०४६ सालको जनआन्दोलनमा उहाँलाई गिरफ्तार गरी वीरगञ्ज जेलमा कैद गरियो ।
जनआन्दोलनको परिणामस्वरूप संवैधानिक राजतन्त्रसहितको बहुदलीय प्रजातन्त्रको स्थापना भयो । २०४८ सालमा प्रतिनिधि सभाका लागि निर्वाचन हुने भयो । यज्ञ दाइ निर्वाचनमा उम्मेदवार हुने उद्देश्यले पर्वत जिल्लाको तत्कालीन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसको संगठन गर्न लाग्नुभयो । २०३६ सालको जनमत संग्र्रहमा बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईलगायतका नेताहरूको उपस्थितिमा भएका कैयौं आमसभामा उहाँले मर्मस्पर्शी, तार्किक र दमदार भाषण दिनुभएको थियो । यसबाट बीपी कोइरालासमेत प्रभावित भएर उहाँ यज्ञ दाइलाई भन्नुहुन्थ्यो, ‘यज्ञ, तिमी असल छौ, त्यसमा पनि तिमीमा राजनीतिक बुद्धिमत्ता र क्षमता त्यति नै छ ।’
त्यहाँका मतदाताहरू पनि योगदान, क्षमता र लोकप्रियताको आधारमा उहाँलाई नै उम्मेदवार बनाउन चाहन्थे तर पार्टीले उहाँलाई नदिएर पाँच प्रतिशत महिला पुर्याउनुपर्ने नाममा उहाँकी तत्कालीन श्रीमती उमा अधिकारीलाई उम्मेदवार बनायो । त्यसपछि यज्ञ दाइ क्रमिक रूपले राजनीतिको मूल प्रवाहबाट किनारीकृत हुँदै जानुभयो । उहाँको त्याग र बलिदानको कुनै मूल्यांकन भएन । उहाँले उम्मेदवारी नपाउनका कारणका सम्बन्धमा प्रा.खनाल भन्नुहुन्छ, ‘तर सत्ता राजनीतिको तँछाड मछाडमा विचार र निष्ठाको महत्व रहँदैन, शीर्ष नेताले आफ्नो अनुकूल होउञ्जेल उपयोग गर्ने र त्यसपछि फाल्ने (युज एण्ड थ्रो)को नीति लिन्छन् । यज्ञजीलगायत नेतृत्वको सम्भावना भएका थुप्रै मानिस त्यसैगरी फालिएका छन् ।’
२०३७ सालमा यज्ञ दाइको उमा रेग्मीसँग विवाह भयो । उहाँहरूको १ पुत्र जन्मियो तर उहाँहरूबीच सम्बन्ध राम्रो भएन । २०६५ सालमा उमा अधिकारीले चितवन जिल्ला अदालतमा सम्बन्ध विच्छेदको मुद्दा दायर गरिन् । फलस्वरूप उहाँहरूको सम्बन्ध विच्छेद भयो । त्यसपछि २०६५ साल माघ २० गते धादिङ जिल्ला, धुषा चापटार निवासी भुवन थपलियासँग यज्ञ दाइको मागी विवाह सम्पन्न भयो ।
विवाह भएको दश वर्षपछि २०७५ साल नैशाख १९ गते उहाँलाई ब्रेनस्ट्रोक भयो । उहाँलाई न्यूरो अस्पताल बाँसबारीमा २९ दिनसम्म राखियो । त्यसबेला म तत्कालीन प्रदेश १ को प्रमुख थिएँ । मैले दुई-तीनपटक उहाँलाई अस्पतालमा भेटेँ । २०७६ साल मंसिर १६ गते उहाँलाई ब्रेन हेमरेज भयो । त्यसपछि उहाँलाई दिल्लीको एम्स अस्पताल लगियो । उहाँ अहिले मस्तिष्कघात भएर हिँड्डुल गर्न नसक्ने अवस्थामा आफ्नै घर चितवनमा उपचाररत हुनुहुन्छ । यति लामो सहयसम्मको उपचारमा करोडभन्दा बढी खर्च भयो । किरात याक्थुङ चुम्लुङको कार्यक्रममा म चितवन जाँदा उहाँको घर गएको थिएँ । भाउजूले उहाँलाई उठाउने बसाउने र ह्विल चेयरमा राखेर हिँडाउने गर्नुहुन्थ्यो । भाउजू एकमात्र यज्ञ दाइको जीवनको साहरा देखिनुहुन्थ्यो ।
कपिलमणि ज्ञवालीका अनुसार ‘पार्टीका सामान्य कार्यकर्ताले समेत राज्यको ढुकुटीबाट उपचारको सुविधा पाइरहँदा पनि उनले पार्टीबाट आफ्नो उपचारमा एक रुपैयाँ पाएका छैनन् । सामान्य नेता, कार्यकर्ता बिरामी हुँदा अस्पतालमा रहँदा नेताहरूको लामलाग्छ तर उनी बिरामी हुँदा केही नेता ती पनि साथित्वको रूपमाबाहेक कोही अस्पताल गएनन्, पार्टीले त झन् नचिने झैँ नै गर्यो ।’
देवीभक्त ढकालका अनुसार, ‘अझ रामचन्द्र पौडेललाई त दमौलीको घडेरी किन्दा रुपैयाँ अपुग हुँदा जागिरबाट आएको रकमबाट आफ्नो छाक काटेर सहयोग गर्ने यज्ञप्रसाद र यो स्तम्भकार जस्ता अप्ठ्यारोमा सहयोग गरेकासँगको सम्बन्धलाई निरन्तरता दिन नसक्नु नेतृत्व गर्नेहरूको कमजोरीको रूपमा व्याख्या हुनसक्छ ।’ यज्ञ दाइको त्याग, बलिदान, विद्वता र लोकतन्त्र र समाजवदप्रतिको उहाँको उच्च मूल्यांकन गर्दै लामो समयदेखि मस्तिष्क समस्याबाट थलिएर रहनु भएका उहाँको उपचारमा नेपाली कांग्रेस र नेपाल सरकारले देखाएको उदासीनताप्रति पूर्वउपकुलपति, प्राध्यापक, पूर्वराजदूतलगायत ६८ जना विद्वान् व्यक्तित्वहरूले रोष प्रकट गर्दै ‘लोकतान्त्रिक समाजवादका भाष्यकार : प्राडा.यज्ञप्रसाद अधिकारी’ नामक पुस्तकमा आफ्नो लेख प्रकाशन गर्नुभएको छ । मैले पनि यसमा ऐक्यबद्धता जनाएको छु ।







क्यासिनोमा नेपाली प्रवेश गराई जुवा
पहिरोको जोखिम मोलेर बजारसम्म कृषि
बाढीपछि रसुवामा हैजाविरुद्ध २१ हजार
कृष्णभीरमा खोलिएको ‘ट्रयाक’ लाई फराकिलो
खेतमा पानी तान्ने क्रममा करेन्ट
वर्षासँगै काठमाडौं उपत्यकामा पहिरोको जोखिम