बोगोटा । राष्ट्रपति गुस्ताभो पेट्रोको प्रशासनले ग्वाभियरे प्रान्तमा विद्रोही समूहसँग खोसिएको क्षेत्र पुनः नियन्त्रणमा लिन प्रयास गरिरहेको अवस्थामा यस हप्ताको सुरुमा भएको विवादास्पद हवाई आक्रमणमा सात नाबालिगको मृत्यु भएको कोलम्बियाका मानव अधिकार लोकपाल आइरिस मारिनले शनिबार बताउनुभएको छ ।
एक सार्वजनिक बयानमार्फत मारिनले फार्क–इएमसी विद्रोही समूहका लडाकूहरूले नाबालिगहरूलाई जबरजस्ती भर्ती गरी ‘मानव ढाल’ का रूपमा प्रयोग गरिरहेको दाबी गर्नुभयो । उहाँले कोलम्बिया सरकार तथा सबै विद्रोही समूहहरूलाई अन्तर्राष्ट्रिय मानवीय कानूनको सम्मान गर्न आग्रह गर्दै हवाई आक्रमणमा मारिएका नाबालिगहरूको प्रारम्भिक सङ्ख्या छ रहेको भए पनि फरेन्सिक मेडिसिन इन्स्टिच्युटको अद्यावधिक विवरणपछि मृतक सङ्ख्या सात पुगेको बताउनुभयो ।
“भर्ती गरिएका कुनै पनि बालबालिकालाई सैन्य कार्यवाहीबाट प्रभावित हुन दिनु हुँदैन”, मारिनले जोड दिंदै भन्नुभयो, “सशस्त्र बलहरूले युद्धमा सहभागी हुन बाध्य गरिएका नाबालिगहरूको सुरक्षाका लागि विशेष सावधानी अपनाउनै पर्छ ।”
यसअघि, कोलम्बियाका रक्षामन्त्री पेड्रो सान्चेजले अपराधी समूहहरूलाई नाबालिगहरूको जीवनलाई जोखिममा पारेको आरोप लगाउँदै ‘जो कोही शत्रुतामा संलग्न हुन्छ, उसले कुनै भेदभावबिना सुरक्षा गुमाउँछ” भन्ने टिप्पणी गर्नुभएको थियो ।
कोलम्बियामा हवाई आक्रमणमा बालबालिकाको मृत्यु एक संवेदनशील मुद्दा मानिन्छ । विशेषगरी सन् २०१९ मा कक्वेटा प्रान्तमा आठ बालबालिकाको मृत्यु लुकाइएको फेला परेपछि तत्कालीन रक्षामन्त्रीले राजीनामा दिनु परेको प्रसङ्ग अझै ताजा छ ।
कोलम्बियाली सेनाको अनुसार ग्वाभियरेमा मङ्गलबार गरिएको हवाई आक्रमणमा छ नाबालिगसहित कम्तीमा १९ जना लडाकू मारिएका छन् ।
राष्ट्रपति पेट्रोले शनिबार एक सार्वजनिक सन्देशमा हवाई आक्रमणको आदेश दिनुको कारण स्पष्ट पार्दै विद्रोही टोली कोलम्बियाली सेनाको सानो समूहमाथि हमला गर्न नजिकिँदै थियो भन्ने जानकारी आफूलाई प्राप्त भएकाले निर्णय लिन बाध्य भएको बताउनुभयो । उहाँले लेख्नुभयो, “कुनै पनि व्यक्तिको मृत्यु दुःखद छ, विशेषगरी नाबालिगको । तर मैले सैनिकहरूको जीवन बचाउन जोखिम लिएँ ।”
राष्ट्रपति पेट्रोले पदभार ग्रहणपछि नाबालिगहरू मारिने जोखिम कम गर्न हवाई आक्रमणहरू स्थगन गर्नुभएको थियो । उहाँले विगतका सरकारहरूलाई नाबालिगको मृत्यु हुने किसिमका हवाई आक्रमणलाई ‘युद्ध अपराध’ का रूपमा वर्णन गर्दै आलोचना गर्दै आउनुभएको छ । तथापि, फार्कले सन् २०१६ को शान्ति सम्झौतापछि छोडिएका क्षेत्रमा अन्य सशस्त्र समूहहरूको सक्रिय विस्तार रोक्नुपर्ने आवश्यकता देखिएपछि विगत वर्षदेखि पुनः हवाई आक्रमण सुरु गरिएको थियो ।
पेट्रो क्यारेबियन क्षेत्रमा लागुऔषध तस्करविरुद्ध अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले चलाएको आक्रमणका कडा आलोचक मानिनुहुन्छ, जसलाई उहाँले ‘गैरन्यायिक मृत्युदण्ड’ को नाम दिनुभएको छ ।
तर विद्रोही समूहहरू विरुद्ध आफ्नो सरकारले गरिरहेको हवाई कार्यवाही भिन्न रहेको स्पष्ट पार्दै उहाँले शुक्रबार लेख्नुभयो, “कोलम्बियाली सेनाको बमबारीमा परेकाहरू हतियारबन्द छन्, विस्फोटक बोकेका छन् र आफूलाई सशस्त्र सदस्यका रूपमा घोषणा गरिसकेका हुन्छन् । उनीहरूले आफ्नै हतियारबाट सेना तथा सर्वसाधारणलाई क्षति पुर्याउने प्रयत्न गरिरहेका छन् ।”
एजेन्सी






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच