काठमाडौं । कर्णाली याश्विसले एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) मा आफ्नो प्रभुत्व कायम राख्दै दोस्रोपटक लगातार च्याम्पियन बन्न सफल भएको छ । शनिबार त्रिपुरेश्वरस्थित कभर्डहलमा भएको रोमाञ्चक तथा प्रतिस्पर्धात्मक फाइनलमा कर्णालीले ललितपुर क्विन्सलाई ३-२ सेटले पराजित गर्दै उपाधि रक्षा गरेको हो ।
पहिलो संस्करणजस्तै दोस्रो संस्करणको फाइनलमा पनि यही दुई क्लब आमनेसामने भएका थिए । सुरुवाती दुई सेटमा उत्कृष्ट प्रदर्शन गरेको कर्णालीले खेललाई सहज जिततर्फ डोर्याएजस्तो देखिए पनि ललितपुरले प्रभावशाली पुनरागमन गर्दै निर्णायक सेटसम्म खेलेको थियो ।
कप्तान सुमित्रा रेग्मी, नेविका चौधरी र साफिया पुनको चमकदार प्रदर्शनका आधारमा कर्णालीले पहिलो सेट २६-२४ को कडा जित निकाल्यो । दोस्रो सेटमा कर्णालीले अझै व्यवस्थित खेल प्रदर्शन गर्दै २५-१७ ले विजय हासिल गर्यो र २-० को अग्रता बनायो ।
दुई सेटपछि दबाबमा परेको ललितपुर क्विन्सले तेस्रो सेटमा आक्रामक र ब्लक दुवै पक्षबाट उत्कृष्ट प्रदर्शन ग¥यो । मार्की खेलाडी सलिना श्रेष्ठसहित संगम महतो र सलिना मगरको योगदानमा ललितपुरले तेस्रो सेट २५-१३ ले आफ्नो पक्षमा पार्न सफल भयो । उत्साह बढेको ललितपुरले चौथो सेटमा पनि खेलको गति नियन्त्रण गर्दै २५-१७ को प्रभावशाली जित निकाल्यो । खेल २-२ को बराबरीमा पुगेपछि दर्शकदीर्घा थप रोमाञ्चक बनेको थियो ।
मुख्य प्रशिक्षक कुमार राईको निर्देशनमा कर्णालीले पाँचौँ तथा निर्णायक सेटमा पुनः आफ्नो लय फेला पा¥यो । बल कन्ट्रोल, सर्भिस र ब्लकमा सुधार ल्याउँदै कर्णालीले निर्णायक सेट १५-८ ले जित्दै लगातार दोस्रो वर्ष च्याम्पियनको उपाधि हात पारेको हो ।
प्रतियोगितामा कर्णालीकै कप्तान सुमित्रा रेग्मीलाई उत्कृष्ट प्रदर्शनका आधारमा सर्वोत्कृष्ट खेलाडी चयन गरिएको छ । त्यसैगरी, कर्णालीकी साफिया पुन उत्कृष्ट सर्भर घोषित हुनुभयो भने जसना महतो उत्कृष्ट सेटर हुनुभयो । कर्णालीलाई उपाधि जिताउन सफल प्रशिक्षक कुमार राई उत्कृष्ट प्रशिक्षक घोषित हुनुभएको थियो ।
यस्तै, अन्य श्रेणीका अवार्डमा उत्कृष्ट डिफेण्डरः सलिना श्रेष्ठ (ललितपुर क्विन्स), उत्कृष्ट ब्लकरः संगम महतो (ललितपुर क्विन्स), उत्कृष्ट स्ट्राइकरः उषा भण्डारी (काठमाडौं स्पाइकर्स) र उपाधि रक्षा गर्दै कर्णाली पुनः शीर्षमा रहन पुग्यो ।
लगातार दोस्रोपटक उपाधि जित्न सफल कर्णाली याश्विसले एभरेष्ट महिला भलिबल लिगमा आफ्नो दबदबा कायम राखेको छ । दुवै टिमले मैदानमा उत्कृष्ट खेल प्रदर्शन गरे पनि निर्णायक क्षणमा कर्णालीले देखाएको संयम, रणनीति र समय व्यवस्थापनको कौशल नै उसलाई उपाधि जिताउने मुख्य कारक बनेको छ ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच