नेपाली गीतसंगीतमा एक सशक्त हस्ताक्षर हुनुहुन्छ रिदम कँडेल । उहाँले गायन, संगीत र एरेञ्जमा आफूलाई यो क्षेत्रमा स्थापित गर्नुभएको छ । चितवनको भरतपुर-७ मा पिता भानुभक्त र माता राधा कँडेलको ज्येष्ठ सुपुत्रका रूपमा जन्मिनुभएका रिदम बाल्यकालदेखि नै गीतसंगीतप्रति असाधारण आकर्षण बोकेर हुर्किनुभयो । काठमाडौंको सिद्धार्थ वनस्थलीमा हाइस्कुलसम्म अध्ययन गर्दै उहाँले विद्यालयका सांस्कृतिक कार्यक्रमहरूमा सक्रियता देखाइरहनुभयो । कक्षा नौ मै संगीत गुरु तिलकसिंह पेलासँग औपचारिक संगीतयात्रा प्रारम्भ गर्नुभएका उहाँले एसएलसीपछि ललितकला क्याम्पसमा संगीतमा प्रवीणता प्रमाण तह उत्तीर्ण गर्नुभयो । विसं २०६४ मा रेडियो नेपालको ‘राष्ट्रव्यापी आधुनिक गीत प्रतियोगिता’मा गायकका रूपमा सहभागिता जनाउनुभएका रिदमले सोही वर्ष ‘राग प्रतियोगिता’मा तृतीय स्थान हात पार्नुभयो । सन् २००९ मा भारतीय राजदूतावासअन्तर्गतको ‘इण्डियन काउन्सिल फर कल्चरल रिलेशन (आइसिसिआर)बाट संगीतमा स्नातक अध्ययनका लागि छात्रवृत्ति पाएपछि उहाँ कलकत्तास्थित ‘रवीन्द्र भारती विश्वविद्यालय’ पुग्नुभयो र त्यहींबाट स्नातकोत्तर पनि सम्पन्न गर्नुभयो । गायकका रूपमा पनि निरन्तर सक्रिय रहँदै आउनुभएका रिदमको ह्दय भने अझै पनि एरेञ्जको संसारमै रमाइरहन्छ । ३५० भन्दा बढी गीतमा एरेञ्ज गरिसक्नुभएका उहाँका ‘के लत बस्यो मलाई’, ‘तिम्रो घरको वरिपरि’, ‘काँडा हो माया’, ‘पीडा भएनी’, ‘यस्तो माया दिन सकुँ तिमीलाई’, ‘तिमी रूँदा’लगायत चलचित्रका पनि थुप्रै सिर्जनाहरू श्रोतामाझ अत्यन्त लोकप्रिय छन् । गीतका लयलाई आत्मा का साथै गीतलाई पूर्णरूप दिनुपर्ने जिम्मेवारी बोकेर रिदम कँडेलले नेपाली गीतसंगीत, एरेञ्जमा आफ्नो कलात्मक हस्ताक्षर कोरिरहनुभएको छ । म्युजिक एरेञ्जमै रमाइरहेको बताउनुहुने रिदम कँडेलसँग हिमालय टाइम्सका लागि गीता अधिकारीले गर्नुभएको संवादको संक्षिप्त अशंः-
यस क्षेत्रमा कसरी आकर्षित हुनुभयो ?
सानै उमेरमा म संयुक्त परिवारको न्यानो र जीवन्त वातावरणमा हुर्किए । त्यो घरमा हजुरबुबा-हजुरआमा, ठूलोबुबा, सानोबुबा, फुपूहरू सबैको उपस्थितिलाई एकै ठाउँले जोडेर राखेको आपसी माया र सम्मानको गहिरो संस्कृतिले मलाई निरन्तर घेरिरहेको थियो । परिवारका सदस्यहरूबीचको आत्मीयतामात्र होइन, उहाँहरूको संगीतप्रतिको रुचिले पनि घरको हरेक कुनामा एउटा अलग मिठास भरेको हुन्थ्यो । बुबा, ठूलोबुबा र काका तीनै जनाको कला र संगीतप्रतिको झुकावले घरलाई मानौं एउटा सानो संगीत-विद्यालयकै स्वरूप दिएको थियो । ठूलोबुबा र काकाले मलाई गीत गाउन प्रोत्साहित गर्नुहुन्थ्यो, नयाँ धुन सिकाउन उत्साहित हुन्थ्यो । बुबा संगीतप्रति मेरो उत्साहलाई अझ बढाउन हार्मोनियम र गितारजस्ता वाद्यवादन उपलब्ध गराइदिनुहुन्थ्यो । सानैमा यी सामग्री हातमा पाउनु भनेको मेरो लागि संसारकै ठूलो उपहार जस्तै थियो ।
हामी सबैले हजुरबुबालाई ‘बा’ भनेर सम्बोधन गथ्र्यौं । ‘बा’ भने स्वभावैले अत्यन्तै हँसमुख, खुला र रमाइला व्यक्ति हुनुहुन्थ्यो । उहाँको भजनप्रतिको श्रद्धा गहिरो थियो र भजन गाउने कार्यक्रममा कहिल्यै मलाई पछि पार्नुहुन्नथ्यो । ‘बा’ ले हात समाएर भजनमण्डलीमा लगेका ती क्षणहरू आज पनि मेरो सम्झनामा बिल्कुल ताजा छन् । ठूलो भिडबीच उहाँसँगै बसेर भजन सुन्नु र कहिलेकाहीं सानो स्वरमा साथ दिनु, ती सबै अनुभवहरूले मेरो बालमस्तिष्कमा संगीतप्रतिको गहिरो लगाव रोपिदिएका थिए । साँचो भन्नुपर्दा, मेरो संगीतयात्रा कुनै आकस्मिक सुरु भएको होइन । पारिवारिक वातावरणबाट नै म भित्र विकसित भएको एक सहज र स्वाभाविक आकर्षण हो । घरभरि गुञ्जने स्वर, बाजाहरूको धुन, ‘बा’ को भजन, बुबा र काकाको प्रेरणा यी सबैले गर्दै-गर्दै संगीतलाई मेरो जीवनको अभिन्न पहिचान बनाइदिए ।
‘सैद्धान्तिक रूपमा जे भनिए तापनि मेरा लागि संगीत दिलको झंकार हो, मेरो अभिन्न साथी हो र साँच्चैभन्दा मेरो प्राण हो, जुनबिना ‘म’ म रहन्न । रिदम यस्तो साधक हो जसको नशा-नशामा संगीत बगेको हुन्छ र ऊ सुत्दा, उठ्दा, हिँड्दा हरेक पल-पलमा लयमा डुब्छ । रहरले त म गायक नै हुँ तर पेशाले भने संगीत एरेञ्जर नै भन्नुपर्छ ।’
सांगीतिक व्यावसायिक यात्रा कहिलेबाट सुरुभयो ?
फाट्टफुट्टरूपमा आफैंले कम्पोज गरेका गीतमा एरेञ्ज गरेको भए तापनि सन् २०१७ सालमा रवि अधिकारीको शब्द, टंक बुढाथोकीको संगीत र शिव परियारको स्वरमा रहेको ‘आँशुको अर्थ’ बोलको गीतमा एरेञ्ज गरेपछि मेरो व्यावसायिक यात्रा सुरु भएको हो । यो गीत बजारमा आइसकेपछि नेपाली संगीत बजारमा मेरो खोजी हुन थाल्यो र दिनानुदिन व्यस्तता बढ्न थाल्यो ।
एरेञ्जतर्फ कसरी आकर्षित हुनुभयो ?
मैले धेरै गीत गाएको पनि छु । मैले स्नातकोत्तर पढ्दा नै एरेञ्ज सिकेको थिए । आफ्नै गीत बोकेर विभिन्न एरेञ्जरकोमा जाँदा उहाँहरूको कामले मेरो त्यति ध्यान खिच्न सकेन र आफैं गर्न थालेँ । त्यहीबीचमा मैले ‘ब्रुक्ली कलेज अफ म्युजिक’, अमेरिकामा पनि अनलाइन कक्षा पढ्दै थिएँ त्यसपछि त झन् म्युजिक एरेञ्जतर्फ आकर्षित भएँ । परिस्थिति यस्तो बनिदियो कि मेरो एरेञ्ज सबैले मन पराउन थाले र माग बढ्न थाल्यो ।
कस्तो लाग्छ फर्केर हेर्दा ?
सरसर्ती जोड्दा छोटो समय लाग्छ तर मैले अध्ययन गरेको समय जोड्ने हो भने त लामो समय भयो ? स्नातक तह र स्नातकोत्तर तह अध्ययन गर्दा नै लगभग सात वर्ष त बित्यो । विगतलाई फर्केर हेर्दा मेरो विगत त्यति कहालीलाग्दो छैन । जुन विषय पढ्ने रहर थियो त्यो वातावरण परिवारबाट मिल्यो । अभावमा खासै गुज्रन परेन । साधनस्रोत परिवारले जुटाइदियो, प्रवल इच्छाशक्ति मसँग छँदै थियो । मेरो अध्ययनले नै मलाई एक किसिमको ‘वेल मेनपावर’का रूपमा तयार गरिसकेको थियो, त्यहीँमाथि कामले निखारिने मौका दियो ।
यहाँको संगीत र एरेञ्ज रहेका गीत एकपछि अर्को अत्यधिक मन पराइएका छन्, हालै प्रदर्शनमा आएको चलचित्र ‘परान’को गीतलाई श्रोता/दर्शकले औधि मन पराएका छन्, कस्तो लाग्छ ?
खुशी लाग्छ । श्रोता/दर्शकले मन पराइदिनुभएको छ । यहाँले भने जस्तै हालै प्रदर्शनमा आएको चलचित्र ‘परानका दुईवटा गीत ‘ओएभन्दा नि बोलेन’ र ‘पखेटाले...’ अत्यधिक श्रोता/दर्शकको साथ पाएको छ ।
अहिलेसम्म कति जति गीतमा एरेञ्ज गर्नुभएको छ र केही गीतको बोल लिनुपर्दा ?
हालसम्म अन्दाजी ३५० जति गीतमा एरेञ्ज गरेको छु । जस्तै ‘के लत बस्यो मलाई’, ‘तिम्रो घरको वरिपरि’, ‘काँडा हो माया’, ‘पीडा भए नि’, ‘यस्तो माया दिन सकुँ तिमीलाई’, ‘तिमी रूँदा’ लगायत थुप्रै छन् । त्यसैगरी चलचित्र ‘महापुरुष’को ‘बा तिमी फर्केर आऊ’ बोलको गीत मेरो संगीत-संगीत संयोजन र स्वर रहेको छ । यस्तै ‘म यस्तो गीत गाउँछु २’, ‘लभ स्टेसन’, ‘तिमीसँग’, चलचित्रको ‘कोशेढुंगा’को ‘भगेरा भगेरी’ लगायत रहेका छन् । चलचित्र ‘मुग्लान’मा पनि म्युजिक, एरेञ्ज र गायन छ । यस्तै अन्य थुप्रै छन् ।
आफूलाई के भन्न रुचाउनुहुन्छ एरेञ्जर, संगीतकार वा गायक ?
जेले मलाई प्रोफेसनल बनायो त्यही भन्नुपर्यो नि होइन र ? त्यो अर्थमा एरेञ्जर । रहरले त म गायक नै हुँ तर पेशाले भने संगीत एरेञ्जर नै भन्नुपर्छ ।
यहाँको एरेञ्ज रहेको गजल ‘के लत बस्यो’ अत्यधिक मन पराइयो, यो गजलको एरेञ्ज गर्दा श्रोताले यसरी मन पराउँछन् जस्तो लागेको थियो ?
हामी सबैजनाले आफ्नो तर्फबाट वेष्ट काम गरेका छौं भन्ने त लागेको थियो तर यसरी हिट होला भन्ने चाहिँ लागेको थिएन ।
नयाँ केही आउँदै छ ?
एल्वम ‘प्वाख’ लिएर आउँदैछु । यो कविताको एल्बम हो । सायद कविताकै एल्वम भनेर अहिलेसम्म आएको छैन होला । नवीन प्रचीनका यी कवितामा मेरो संगीत, एरेञ्ज र स्वर रहेको छ ।
संगीत के हो अर्थात् यसलाई कसरी बुझ्ने ?
सैद्धान्तिक रूपमा जे भनिए तापनि मेरा लागि संगीत दिलको झंकार हो, मेरो अभिन्न साथी हो र साँच्चैभन्दा मेरो प्राण हो जुन बिना ‘म’ म रहन्न ।
रिदम कँडेल को हो ?
रिदम यस्तो साधक हो जसको नशा-नशामा संगीत बगेको हुन्छ र ऊ सुत्दा, उठ्दा, हिँड्दा हरेक पल-पलमा लयमा डुब्छ ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच