काठमाडौं । ‘एआई फर टुरिज्म एण्ड हस्पिटालिटी एक्सिलेन्स’ विषयक मानव संसाधन विकास तालिम सोमबारदेखि काठमाडौंमा सुरु भएको छ । नेपालको पर्यटन तथा आतिथ्य क्षेत्रका ६० जना व्यवसायीको सहभागितासहित सुरु भएको तालिम कार्यक्रम प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टर र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा भएको हो ।
कार्यक्रममा पाटा नेपाल च्याप्टरका अध्यक्ष खेम लाकाईले स्वागत मन्तव्य दिँदै द्रुतगतिमा बदलिँदो विश्व परिवेशमा प्रतिस्पर्धी रहन नेपालको पर्यटन जनशक्तिको डिजिटल कौशल र एआई क्षमता अभिवृद्धि गर्नु अत्यावश्यक रहेको बताउनुभयो । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले पर्यटन प्रवद्र्धन, बजार रणनीति तथा क्षेत्रीय वृद्धि रणनीतिमा एआईको बढ्दो महत्वबारे स्पष्ट पार्दै सहभागीहरूलाई प्रशिक्षकसँग सक्रियरूपमा संलग्न हुन, खुलारूपमा अन्तरक्रिया गर्न तथा सिकाइका आयामहरू आफ्नो व्यावसायिक अभ्यासमा लागू गर्न प्रोत्साहित गर्नुभयो । उद्घाटन सत्र सञ्चालन पाटा नेपाल च्याप्टरका प्रमुख कार्यकारी अधिकृत सुरेश सिंह बुडालले गर्नुभएको थियो, जसले कार्यक्रमलाई सुव्यवस्थित गर्दै सहभागीहरूका लागि अन्तरक्रियात्मक तथा ज्ञानवद्र्धक सिकाइ वातावरण तयार गर्नुभएको थियो ।
हङकङ पोलिटेक्निक विश्वविद्यालयको स्कुल अफ होटल एण्ड टुरिज्म म्यानेजमेन्टकी सहायक प्राध्यापक प्राडा. फायेहाओको नेतृत्वमा सञ्चालित तालिममा एआईका आधारभूत तत्वहरू, एआई मोडल तथा एजेन्ट, एआईका नैतिक पक्ष तथा होटल, रिसोर्ट, एयरलाइन्स, डेस्टिनेसन म्यानेजमेन्ट र माइस÷इभेन्ट सेवाहरूमा एआईको व्यावहारिक उपयोगबारे विस्तृतरूपमा छलफल हुने आयोजकले जनाएको छ । नेपाली ट्राभल ट्रेडको सक्रिय सहभागितासहित तालिमले पेशागत क्षमता अभिवृद्धि, नवप्रवर्तनलाई प्रेरणा र नेपाललाई अझ स्मार्ट सेवा प्रदायक तथा दिगो पर्यटन क्षेत्रको अभ्यासतर्फ उन्मुख गराउने उद्देश्य राखेको छ ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच