नेपालको मुगु जिल्लामा अवस्थित रारा ताल देशको सबैभन्दा ठूलो तालमात्र होइन, प्रकृतिले कोरेको एक अद्वितीय चित्र हो । यहाँ शान्ति, सुन्दरता र स्वच्छताको संगम भेटिन्छ । समुद्र सतहदेखि दुई हजार ९७२ मिटर उचाइमा फैलिएको यो ताल आज विश्व सम्पदाको सूचीमा पनि सूचीकृत भइसकेको छ । राराको गहिराइ करिब १६७ मिटर, लम्बाइ पाँच किलोमिटर र चौडाइ ३.२ किलोमिटर रहेको छ । २०२० सालमा राजा महेन्द्रले मुगु भ्रमणको क्रममा यसको अनुपम सुन्दरता देखेर यसलाई ‘महेन्द्र ताल’ नामकरण गर्नुभएको थियो ।
जेठदेखि आश्विन महिनासम्म राराको आसपास फुल्ने सप्तरंगी फूलहरूले ताललाई रंगीन बनाउँछन् । ताल वरिपरि रहेका कान्जिरोवा, सिस्ने, र सैपाल हिमालहरूले रारालाई घेरेका छन् । जसले गर्दा तालको हरितिमा र हिमालको सेतापन मिसिएर स्वर्गकै झल्को दिन्छ । राराको पानी घामको किरण अनुसार रंग फेर्छ । कहिले नीलो, कहिले हरियो र कहिले चन्द्रमाको प्रकाशमा चाँदीजस्तै चम्किलो हुन्छ ।
यहाँ पाइने असला र जलकपुर नामक माछा विश्वका अन्य ठाउँमा पाइँदैनन् । वरिपरि जंगलमा कस्तुरी, रतुवा, भालु, झारल, बाघलगायत वन्यजन्तु र नेपालको राष्ट्रिय पक्षी डाँफेलगायत चराचुरुंगीको चिरबिराहटले रारालाई जीवित संगीतको जस्तै अनुभूति गराउँछ ।
रारा केवल एक ताल होइन, यो कर्णालीको पहिचान हो । कर्णाली राजमार्ग र करिडोरको पूर्ण विकासले मुगु, जुम्ला, हुम्लालगायत सम्पूर्ण कर्णाली प्रदेशमा आर्थिक र सामाजिक रूपान्तरण ल्याउनेछ । पर्यटनमार्फत रोजगारी सिर्जना, स्थानीय उत्पादनको बजार विस्तार र देशको कुल आर्थिक वृद्धिमा योगदान, यी सबै सम्भावनाको केन्द्रमा रारा ताल अवस्थित छ ।
काठमाडौंबाट रारा पुग्ने यात्रा आफैंमा एउटा रोमाञ्चक अनुभव हो । काठमाडौंबाट पश्चिमतर्फ बसयात्रा गर्दै नेपालगञ्ज पुग्न करिब १४-१६ घण्टा लाग्छ । नेपालगञ्जदेखि सुर्खेत पुग्न साढे तीन घण्टा लाग्छ । सुर्खेत वा नेपालगञ्जबाट अर्को बस लिएर दैलेख, जुम्ला र कालिकोट हुँदै मुगुको सदरमुकाम गमगढी पुगिन्छ । गमगढीबाट पैदल हिँड्दा करिब तीन घण्टामा राराताल पुगिन्छ । सदरमुकामबाट जिप रिर्जभ गरेर बिहान ८ बजे प्रस्थान गरेपछि करिब ४५ मिनेटमै सल्लेरी पुगिन्छ । यहाँ बिहानको खाजापछि पैदल वा घोडामा रारातर्फ यात्रा सुरु हुन्छ ।
सल्लेरीभन्दा माथि रारा राष्ट्रिय निकुञ्ज क्षेत्र भएकाले कुनै सवारीसाधन लैजान पाइँदैन । हरियाली दुबोको पाटन हुँदै घना जंगलमा पैदल यात्रा गर्नु नै उपयुक्त हुन्छ । झन्डै आधा घण्टाको बाटो पार गर्दा चराचुरुंगीको चिरबिर र पवनको सुसाहटले यात्राको थकान हराउँछ । रारा पुग्ने बित्तिकै यात्राको सबै कष्ट हराउँछ । नीलो ताल, हावामा घुलिएको हिमालको छायाँ र डुंगामा चढेर पारजाने यात्राको अनुभव अविस्मरणीय हुन्छ ।
तालको वरिपरि घोडा चढेर वा पैदल परिक्रमा गर्न सकिन्छ । यो यात्रा करिब चार घण्टाको हुन्छ र प्रकृतिसँगको संवादजस्तै प्रतीत हुन्छ । राराको पूर्ण दृश्य हेर्न मुर्माटप डाँडा सबैभन्दा उपयुक्त स्थान मानिन्छ । त्यसका लागि ताल किनारदेखि करिब ५०० मिटरभित्रको माझघट्ट क्षेत्रमा रहेका होटलहरूमा बास बसिन्छ । त्यहाँबाट बिहान पैदल करिब साढे एक घण्टामा मुर्माटप पुगिन्छ । डाँडाको टुप्पोबाट हेर्दा रारा एक विशाल नीलो आँखा झैँ देखिन्छ । चारैतिर हरियाली, हिमाल र आकाशसँग मिसिएको ।
राराको भ्रमणपछि अर्को मनमोहक यात्रा हो, चंखेली हिमालको । सल्लेरीबाट जिपमा गमगढी हुँदै रुगा, लुम, बाम गाउँ पार गरेर पुगिन्छ । बाम गाउँको स्याउ नेपालकै मीठो स्याउका रूपमा चर्चित छ, जसको तुलना जुम्लाको स्याउसँग गरिन्छ ।
बाम गाउँबाट चंखेली पुग्न ४०-४५ मिनेट लाग्छ । बाटोमा जंगल, खोलाको सुसाहट र चट्टानी डाँडाहरूले यात्रा अझ रोमाञ्चक बनाउँछ । चंखेली हिमालको फेदबाट हेर्दा बादलले ढाकेका गाउँ, डाँडा र पाखाले कुनै चित्रकारले बनाएको सुन्दर दृश्यजस्तै देखिन्छ । त्यहाँबाट मुगु र हुम्ला दुबै जिल्लाका गाउँबस्ती, हिमशृंखला र रारातालको झल्को एकै ठाउँबाट हेर्न सकिन्छ । जसले ‘नेपालको मिनी स्विट्जरल्याण्ड’ भन्ने उपमा सार्थक बनाउँछ ।
मुगु जिल्लामा रहेका छायानाथ ठाकुरज्यु र ऋणमोक्ष माई तीर्थस्थल पनि धार्मिक तथा प्राकृतिक दुवै दृष्टिले महत्वपूर्ण छन् । यहाँ पुग्दा यात्रुहरूले सप्तरंगी फूलले सजिएका मैदान, जडिबुटीले भरिएका लेक र बादलले ढाकिएका डाँडाहरू पार गर्नुपर्छ । जसले यात्रालाई आध्यात्मिक र दार्शनिक दुबै बनाउँछ ।
रारासम्मको यात्रा सम्भव बनाएको प्रमुख माध्यम हो कर्णाली राजमार्ग । करिब २३२ किलोमिटर लामो यो राजमार्गले कर्णालीका बासिन्दालाई राष्ट्रिय सडक सञ्जालमा जोडेको छ । २०६९ साल पुस १ गते मुगु यसैमार्गबाट राष्ट्रिय सडक सञ्जालमा जोडिएको थियो । त्यसपछि रारामा स्वदेशी तथा विदेशी पर्यटकको आगमन दर उल्लेख्य रूपमा बढेको छ । तर, यो राजमार्ग अझै कच्ची सडकको रूपमा छ । चट्टानी भू–भाग र बारम्बार हुने दुर्घटनाले यात्रुहरूका लागि जोखिम बढाएको छ । खाद्यान्न तथा उपभोग्य वस्तुको आपूर्ति कठिन हुँदा मूल्यवृद्धि समेत हुने गरेको छ ।
कर्णालीका बाटाहरू व्यवस्थित भए, रारासम्मको यात्रा सजिलो भयो भने नेपालको पर्यटन नक्सामा रारामात्र होइन कर्णालीको सम्पूर्ण भू-भाग चम्किनेछ, रारा स्वर्ग होइन, स्वर्ग नै रारा बन्नेछ ।
यद्यपि, यदि कर्णाली राजमार्गलाई दिगो रूपमा कालोपत्रे गर्न सकियो भने पर्यटक संख्या ९० प्रतिशतसम्म वृद्धि हुने सम्भावना छ । यसले रोजगार, होटल उद्योग र व्यापारमा क्रान्तिकारी सुधार ल्याउनेछ ।
कर्णाली क्षेत्रको अर्को महत्वपूर्ण योजना हो, कर्णाली करिडोर । विसं २०५६ सालमा शिलान्यास गरिएको यो परियोजनाले बाँकेको जमुनाहदेखि हुम्लाको हिल्सासम्म करिब ६८२ किलोमिटर दूरी जोड्ने लक्ष्य राखेको छ । २५ वर्ष बितिसक्दा पनि पूर्णरूपमा ट्रयाक खुलेको छैन । २०७१ सालदेखि नेपाल सेनाले कठिन चट्टानी भागमा काम थालेको थियो र अहिलेका केही खण्ड २०७८-८० बीचमा पूरा भएका छन् । यो मार्ग सञ्चालनमा आएपछि नेपाल-चीन-भारत व्यापार सम्बन्ध मजबुत हुने, रारालगायत कर्णालीका सम्पूर्ण पर्यटकीयस्थल विश्व बजारसँग जोडिने अपेक्षा गरिएको छ ।
रारा केवल एक ताल होइन, यो कर्णालीको पहिचान हो । कर्णाली राजमार्ग र करिडोरको पूर्ण विकासले मुगु, जुम्ला, हुम्लालगायत सम्पूर्ण कर्णाली प्रदेशमा आर्थिक र सामाजिक रूपान्तरण ल्याउनेछ । पर्यटनमार्फत रोजगारी सिर्जना, स्थानीय उत्पादनको बजार विस्तार र देशको कुल आर्थिक वृद्धिमा योगदान, यी सबै सम्भावनाको केन्द्रमा रारा ताल अवस्थित छ । यदि कर्णालीका बाटाहरू व्यवस्थित भए, रारासम्मको यात्रा सजिलो भयो भने नेपालको पर्यटन नक्सामा रारामात्र होइन कर्णालीको सम्पूर्ण भू–भाग चम्किनेछ, रारा स्वर्ग होइन, स्वर्ग नै रारा बन्नेछ ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच