सिन्धुली । ‘जुनारको राजधानी’ भनेर चिनिने सिन्धुलीको गोलञ्जोर गाउँपालिका-४ तिनकन्यामा तीनदिने जुनार प्रवर्द्धन मेला हुने भएको छ ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा स्थानीय उत्पादन फल जुनारलाई थप पहिचान दिलाउने उद्देश्यसहित यहि मंसिर २३, २४ र २५ गते मेलाको आयोजना गर्न तयारी थालिएको हो ।
जुनार उत्पादनमात्र नभई यसको व्यवसायीकरण, किसानको सीप अभिवृद्धि र स्थानीय अर्थतन्त्रमा प्रत्यक्ष टेवा पुर्याउने उद्देश्य मेलाको रहेको गाउँपालिका अध्यक्ष शंकरराज बरालले बताउनुभयो ।
उहाँकाअनुसार तिनकन्याको माझकुभिण्डे क्षेत्रलाई मेलास्थलका रूपमा छानिएको छ । “सिन्धुलीको पहिचान नै बनेको जुनारलाई अझ गुणस्तरीय र व्यवसायिक उत्पादनतर्फ उन्मुख बनाउन मेला महत्वपूर्ण हुने छ,” अध्यक्ष बरालले भन्नुभयो ।
किसान जुनारमा देखा परेका रोग, किराका कारण चिन्तित छन् । गाउँपालिकाले समेत जुनारमा देखा परेका रोग तथा किरा नियन्त्रणलाई चुनौतीका रुपमा लिएको छ । तीन दिने जुनार प्रवर्द्धन मेलाले जुनारको प्रचार-प्रसार, रोग तथा किरा नियन्त्रण, प्रविधिगत सीप, जुनारको गुणस्तरमा सुधार र अनुकूल नीतिगत समन्वयमा पनि सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।
जुनार प्रर्वद्धन मेलाले व्यापारी, सरकार र किसानबीचको आत्मियता बढ्ने, सहकार्य र समन्वयमा सुदृष्ढ हुने विश्वास गरिएको छ । “जुनार पाक्ने समयसँगै बजारमा पहुँच पाउन हामी किसानले निकै मिहेनत गर्नुपर्छ । रोग-किरा नियन्त्रण आजको मुख्य चुनौती बनेको छ । यस्तो मेलाले हाम्रा समस्या निवारणमा सहयोग पुग्ने विश्वास छ,” जुनार किसान निर्मला पुर्वछाने मगरले भन्नुभयो ।
जनजीवन, कृषि संस्कृति र भौगोलिक विशेषता नजिकबाट देख्न चाहने आन्तरिक पर्यटकका लागि यो मेला आकर्षणको केन्द्र बन्न सक्ने आयोजकको विश्वास छ । अध्यक्ष बरालले भन्नुभयो, “जुनार उत्पादन, बजार विस्तार र नीतिगत सहयोगका विषयमा किसान, स्थानीय तह र नीजि क्षेत्रबीच त्रिपक्षीय सहकार्य मेलाबाट अझ प्रभावकारी हुनेछ ।”
तीनदिने मेला तयारी तीव्र रूपमा अघि बढाइएको छ । मेला आयोजक पालिकाले यसको सफलताका लागि सम्बन्धित निकायसँग समन्वय गरिरहेको जनाएको छ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच