करिब चर महिनाको बेलायत बसाइपछि हामी लण्डनको अन्तर्राष्ट्रिय विमास्थलबाट टर्कीको स्ताम्बुलका लागि जाँदैछौं । यस अवधिमा बीस दिनजति अमेरिका बसेँ । सुदूरपश्चिम समाजका अध्यक्ष दानसिंह विष्ट, साथी कवि किसनसिंह धामी (दार्चुला)ले बोलाएकाले अमेरिका पुगेको थिए । बेलायतको लण्डनदेखि न्यूयोर्क पुग्न जेट विमानमा ७.३० घण्टाको समय लाग्दो रहेछ । तीन घण्टा त एट्लान्टिक महासागर पार गर्न लाग्दो रहेछ । गतवर्षको जस्तै यसपटक पनि अमेरिकाको भ्रमण अत्यन्त फलदायी रह्यो । संयुक्त राष्ट्रसङ्घको भवनभित्र प्रवेश गरी संयुक्त राष्ट्रसङ्घका महासचिवले सम्बोधन गर्ने कुर्सीमा बसी देउडा गीत गाउने मौका पाएँ ।
अमेरिकाका लागि नेपाली महावाणिज्यदूत दधिराम भण्डारीलाई हार्दिक धन्यवाद दिन्छु । यसैगरी संयुक्त राष्ट्रसङ्घमा सुरक्षा निकायका कर्मचारी सत्यदीप गुरुङ (दार्जिलिङ)लाई बिर्सन सक्दिन । अमेरिकी राष्ट्रपति बस्ने घर ह्वाइट हाउसमा पुर्याएर सहयोग गर्ने र देउडा खेल्ने खेलाउने भाइ तीर्थराज पाण्डे (बैतडी)प्रति आभारी छु । नेपाली मूलका मेरिलैण्डका सांसद हेरी भण्डारी (पर्वत)ले सार्वजनिक रूपमा ठूलो गुन लगाउनुभयो ।
लाइन निकै लामो थियो, पुग्न अझै टाढा छ । त्यही बेला कपाल पालेको अग्लो केटो आएर ‘के तिम्रो सामान छुटेको छ ?’ भनेर सोध्यो । यसो हेर्छु त कम्प्युटर बोकेको हेन्ड क्यारी छैन । इमानदार केटोलाई मेरो ब्याग छैन भने । बाहिर आऊ भन्यो, म उसको पछि लागेँ । अलिपर सुश्रुतले सो नीलो ब्याग बोकिराखेको रहेछ ।
त्यसपछिका दिन बेलायतको लण्डन शहरमा बिते । लण्डनको महत्वपूर्ण कम्पनी हारोड्समा काम गर्ने छोरो सुश्रुतले लण्डनका हरेक दर्शनीयस्थलको अवलोकन गरायो । विश्व प्रसिद्ध साहित्यकार शेक्सपियर जन्मेको ठाउँ ग्रीन हुइच टाइम्स, संसद् भवन, होराइजन २२ भवन, प्रधानमन्त्री बस्ने घर डाउन स्टिट विन्जर कास्चर, इटन कलेज, अस्फोर्ड विश्वविद्यालय, ऐतिहासिक सङ्ग्रहालय, वेस्टर्न चर्चिलको शालिक, चाइना टाउन, टावर अफ लण्डन, बी.बी.सी.को कार्यालय, लक्ष्मीनारायण मन्दिरलगायत ऐतिहासिक स्थलको अवलोकन गर्न पाउनु प्रार्थना र मेरा लागि सुनौलो अवसर हो ।
तीन महिनाको छोरा-बुहारीसँगको लण्डन बसाइ चीरस्मरणीय र उपलब्धिपूर्ण रह्यो । यसैबीच एक घण्टाको हवाइयात्रा गरी स्कटलैण्ड पुगेँ । स्कटलैण्ड, आयरलैण्ड, बोइल्स र इंग्लैण्ड मिलेर ग्रेटब्रिटेन बनेको हो । गाईबस्तु र भेडा पालनका लागि प्रख्यात मानिएको यो ठाउँ पुगेर ऐतिहासिक दरबार एडिनवर्ग क्यासल लगायतका दर्शनीयस्थलको भ्रमण गराई गुन लगायो भतिज बासुले ।
बादलले लण्डनको धर्ती पूरै अँध्यारो थियो । मोरङका भतिज प्रवीण ढकाल र छोरा सुश्रुतले एक घण्टाको समयमा हिथ्रो पुर्याए आफ्नै गाडीमा । संसारका धेरै देशका व्यस्त एयरपोर्टमध्येमा पर्छ हिथ्रो विमानस्थल । पार्किङ्कको समस्या कम गर्न पाँच तलाका तीनवटा विल्डिङ छन् । संसारभर यात्रा गर्ने विभिन्न गेटका लागि शहरका बोर्डमा सवारी सूचना जारी गरिएका छन् । विशाल आधुनिक भवनभित्र प्रवेश गर्न सोही अनुसार लिफ्ट छन् । संकेतका आधारमा मात्र एयरपोर्ट प्रवेश गर्नुपर्छ नत्र हराउने अलमलिने ठूलो डर हुन्छ । व्यस्थापन कार्य अत्यन्त चुस्त छ, हजारौं यात्रुहरू आवतजावतका लागि नियम अत्यन्त कडा भए तापनि कर्मचारी सहयोगी र संवेदनशील देखिन्छन् ।
भारतीय र अरबीमूलका कर्मचारीहरू पनि सेवारत छन् । चेकजाँच कक्षसम्म पुगेर प्रवीण र सुश्रुतले सहयोग गरेकाले हामी ढुक्क भयौं । हातहातमा भिसा र बोर्डिङ पास लिएर उभिएका हामीलाई छोरा सुश्रुत, बुहारी सुरक्षा, नातिनी शिरुसी छाडेर आउँदा रुन्चे हाँसो लागेको थियो । बिदाइ गरेर बाबुहरू आफ्नो ठाउँमा गए । कडा निगरानीका साथ हामीभित्र पस्यौँ । लाइन निकै लामो थियो, समयमा पुग्नुपर्ने तर लिफ्टबाट ओर्लने र उक्लने ठाउँ पुग्न अझै टाढा छ । त्यही बेला कपाल पालेको अग्लो केटो आएर ‘के तिम्रो सामान छुटेको छ ?’ भनी सोध्यो । यसो हेर्छु त कम्प्युटर बोकेको हेन्ड क्यारी छैन । जसमा अरू महत्वपूर्ण कागजातहरू पनि राखिएका थिए । इमानदार केटोलाई मेरो ब्याग छैन भने । बाहिर आऊ भन्यो, म उसको पछि लागेँ ।
अलिपर सुश्रुतले सो नीलो ब्याग बोकिराखेको रहेछ । सो ब्याग लिएर पुनः सुरक्षाकर्मीको चेकमा परेँ । अघिको भन्दा अझ कडा चेक गर्यो । फाइल खोलेर हेर्यो । ब्यागमा क्यासेटका कभर र एउटा लेख- बी.पी.का बारेमा हिमालय टाइमसमा छापिएको थियो । राम्रैसँग सबै कागजपत्र हेर्दै प्रश्न गर्यो के तिमी गायक हौ ? उत्तरमा गायकमात्र होइन लेखक पनि हुँ भनेँ, ऊ खुशी भयो । हामी दुबैजना गन्तव्यमा बढ्दै छौं, समय अति कम छ, एकजना मुम्बैको भाइले हिन्दीमा ‘४४ जी’ गेटमा जानुहोस् छिटो नत्र जहाज छुट्छ भन्यो । त्यसै गर्यौँ । एकजना महिला यात्रुले हाम्रो आकृति हेरेर भनेकी होलिन् सायद ‘म पनि ४४ जी गेटमै जाँदैछु’, निकै टाढा छ यस ठाउँबाट त्यहाँ पुग्न ।
लिफ्ट पक्रदै गयौं । त्यहाँ कर्मचारीहरू पाँच मिनेटमा काउन्टर खोल्छ भनी जानकारी गराइरहेका थिए-टर्कीको इस्ताम्बुल जान । त्यहीबेला मेरा आँखा एकजना मङ्गोलियन महिलामाथि पर्यो । परिचय भयो । राष्ट्रिय खेलाडी देवनारायण चौधरी र माया राई रहेछन् । ठीक समयमा पुग्नुभयो, नत्र जहाज छुटिसकेको भन्दै थिए । सबै प्रक्रिया पुर्याएर हामी बढेमानको जेट विमानमा चढ्यौं । बीचमा चार-चारजना दुबै छेउमा तीन-तीनजना गरी चालक दलका सदस्यसहित ३३० जनाको परिवार मिलिजुली बस्यौं । १२ फिट जति अग्लो सो विमान अपराह्न ४.३५ बजे आकाशियो । बाई बाई लण्डन भन्दै थोरै हाँसो धेरै रुवाइका साथ नेपालको गन्तव्यमा लाग्यौं ।
भोक र थकाइले लखतरान हामी बुढाबुढी झ्यालतिरको सिटमा परेकाले सुस्ताउन पनि सजिलो भयो । शुद्ध शाकाहारी प्रार्थनाले पाउरोटी र जुसमा चित्त बुझाइन् । मैले भने कपाकप चिकेन मासुले भुँडी भरेँ । चार घण्टा ३० मिनेटको यात्रापछि हामी टर्कीको समय अनुसार १२.३० बजे इस्ताम्बुल एयरपोर्ट पुग्यौं । सिमसिम पानी परिरहेछ, तर लण्डनको जस्तो जाडो छैन । टर्कीको केही भाग एशियाली महादेशमा पर्छ, केही भाग युरोपियन महादेशमा पर्छ । सामान्य ढङ्गले हेर्दा एशियाली मूलका नागरिक जस्ता गहुँगोरा देखिन्छन् । पछिल्लो ३० वर्षको अवधिमा टर्कीले गरेको समग्र विकास स्तुति गर्न लायक छ ।
यति ठूलो र भव्य धावनमार्ग निर्माण गरिएको छ कि अमेरिकाको जे.एफ.डब्लु. र लण्डनको हिथ्रो बिमानस्थलभन्दा कम थिएन । एयरपोर्टभित्रको सुविधा पनि प्रशंसा गर्न लायक नै थियो । ड्युटी फ्रिमा राखिएका समग्र सामग्री भने अन्तका भन्दा महँगा रहेछन् । सजावट र विश्रामस्थल पनि लोभलाग्दा देखिन्थ्ये । एक घण्टा २५ मिनेटको ट्रान्जिट समय बिताउन गाह्रो भएन ।
इस्ताम्बुल एयरपोर्टमा नेपालीहरू : टर्कीको राजधानी इस्ताम्बुलमा अवस्थित अन्तर्राष्ट्रिय विमानस्थलभित्रको कक्षमा विदेशीमात्र होइन नेपाली यात्रुहरू लामो यात्राको थकाइ मेटिरहेका देखिन्थ्ये । उनीहरू जहाजको उडानको प्रतीक्षामा देखिन्थ्ये । स्क्रिनबोर्डमा कार्यतालिका क्रमिक रूपमा देखाइरहेछ । नेपालीमा काठमाडौं लेखेको देखेर कताकता काठमाडांैमा पाइला टेकेको नौलो अनुभूति भयो । अमेरिका बेलायत जर्मनी लगायतका देशबाट स्वदेश फर्कने र त्यहाँबाट यी मुलुकमा पुग्ने ट्रान्जिट पोइन्टका कारण इस्ताम्बुल एयरपोर्ट नेपालीका लागि मिनी मार्केट झैँ लाग्थ्यो । नेपाली अनुहार देखेपछि बोल्न मन लाग्यो । तीनजना युवा दक्षिण अमेरिकी राज्य ‘केमन आइलैण्ड’बाट घर फर्कँदैरहेछन् ।
युनिक खत्री (बारा), बेगम राना (रोल्पा) र सञ्जय पौडेल (चितवन) हामी बसेको ठाउँमा लगेज राखेर थकित मुद्रामा बसे । रोल्पाका भाइ बेगमले मलाई चिनेछन्, हेरिरहे । तीनजनालगायत अरू नेपाली ‘केमन आइलैण्ड’ बाट आएका रहेछन् । केमन आइलैण्ड देश अहिले पनि बेलायत सरकारको अधिनमा रहेछ । बेलायती झण्डा र सानो खालको कछुवा अङ्कित झण्डा त्यो देशको राष्ट्रिय झण्डा रहेछ । नेपाली हावापानी जस्तै रहेछ उक्त दक्षिण अमेरिकी मुलुक केमन आइलैण्डमा पनि । नेपालमा पाइने कालिज, रतुवा, घोरललगायतका पक्षी जीवजन्तुहरू त्यहाँ पनि पाइन्छन् भन्दै थिए ती भाइ ।
कामको खोजीमा गएका रहेछन् । जर्ज टाउन केमन आइलैण्डको राजधानी हो । तीन थरी केमन प्रदेश छुट्टयाएका रहेछन् । ग्रेन केमन, लिटिन केमन र केमन ब्रास । समुद्री टापु हो यो देश, जहाँ पर्यटकको घुइँचो लाग्ने गर्दछ नेपालीहरूका लागि सुलभ गन्तव्य हो केमन आइलैण्ड भन्दै थिए, छुट्टी मनाउन घर फर्केका उनीहरू ।
इस्ताम्बुल-त्रिभुवन एयरपोर्ट : राति १.३० बजे जेट विमान काठमाडौंका लागि उड्यो । १९५ जना यात्रु बोकेको सो टुर्किज विमानमा लगभग ६० प्रतिशत यात्रु नेपाली देखिन्थ्ये । हाम्रो नजिकै प्रीति पहारी र सुशान्त निरौला बसे । सिभिल इन्जिनियर र एम.बि.ए. अध्ययन सकेर भर्जिनियाबाट स्वदेश फर्कदै रहेछन् । आफ्नो मुलुकको गन्तव्यका लागि होला, जहाजको खाना पनि मीठो लाग्यो । त्यसभन्दा मिठो नेपाली यात्रीको भाषा र हाँसो लाग्यो । हाम्रो जहाज टर्कीको आकाश हुँदै अफगानिस्तान, पाकिस्तानको आकाशमाथि उडेको देखाइरहेछ । जति पूर्व लाग्यो समय छिटो चल्ने हुँदा बिहानको ६.०० बजेको समय बताइरहेछ । काबुल, इस्लामावाद, लाहोरको आकाश हुँदै नालन्दा, पटना देखाइरहेछ ।
आकाशबाट कलिला घामका किरण जहाजको झ्यालबाट भित्र पस्दाको रङ्गीन सुनौलो बिहानी सबै यात्रुका लागि सुनपानीले मुख धोए जस्तै भयो । देब्रेतिर अमेरिकाको न्यूजर्सीबाट आएका बुढाबुढी र दुईजना छोराहरू रहेछन् । उनीहरूलाई बाबुआमाले नेपालको हिमालय देखाए, जहाँ सूर्यका किरणले सुनको जलप जस्तै लगाइरहेको थियो । त्यो दृश्य देखेर खुशी हुँदै क्यामेरामा हाम्रा हिमालको दृश्य कैद गरे ।
आकाशबाट कलिला घामका किरण जहाजको झ्यालबाट भित्र पस्दाको रङ्गीन सुनौलो बिहानी सबै यात्रुका लागि सुनपानीले मुख धोए जस्तै भयो । देब्रेतिर अमेरिकाको न्यूजर्सीबाट आएका बुढाबुढी र दुईजना छोराहरू रहेछन् । उनीहरूलाई बाबुआमाले नेपालको हिमालय देखाए, जहाँ सूर्यका किरणले सुनको जलप जस्तै लगाइरहेको थियो । त्यो दृश्य देखेर खुशी हुँदै क्यामेरामा हाम्रा हिमालको दृश्य कैद गरे ।
एकनासले ती रमणीय दृश्य हेरि नै रहे झ्यालबाट । बिहारको राजधानी पटनाबाट जनकपुरको छेउछाउसम्म आइपुग्दा नेपालको सजीव चित्र देख्न पाइयो । कतै डाँडाकाँडा कतै मैदानी भाग अनि उत्तरतिर टल्किराखेको पृथ्वीको मुकुट हाम्रो हिमाल । लण्डन टावरमा भेटिएका न्यूयोर्क अमरिकाका यात्रुले बोलेका थिए-नेपालको साझा सम्पत्ति हिमाल हो । उनले बुझेर बोलेका थिए नेपालको साझा सम्पत्ति भन्नु नै हिमाल हो जहाँ सर्वोच्च शिखर सगरमाथा बिराजमान छ ।
यात्रुहरू सबै खुशी देखिन्छन् । अमेरिका र युरोपको कठाङ्ग्रिँदो जाडोमा चिसिएको शरीरलाई नेपालको घाम र पानीले न्यानो पार्ने भयो भन्ने खुशीयालीमा र परिवारजनसँग भेट गर्न पाइने भयो भनेर पनि होला । त्यही बेला मैले जहाजका यात्रुहरूको तस्बीर लिएँ । नेपथ्यबाट एकजना सुनाउँदै थिए- झ्याम्म झ्याम्म गीत पनि जावस् एक टुक्रा । विमानका कर्मचारी बसिदिन हुन भन्दै आधाघण्टामा हामी त्रिभुवन अन्तर्राष्ट्रिय एयरपोर्टमा अवतरण हुँदैछौं भनी सुनाइरहेका थिए । नभन्दै त्रिभुवन एयरपोर्टमा बिहान १०.१० बजे अवतरण गर्यो सवार विमान ।
नेपाल आमालाई ढोग्दै अध्यागमनतिर लागेँ । भगवान बुद्धको मूर्ति राखेको छ । विदेशी पाहुनालेसँगै उभिएर आआफ्नो तस्वीर लिए । एकजना राष्ट्रसेवक (स्याङ्जा घर भएका)ले राष्ट्रिय पोशाक ढाका टोपी लगाएको देखेँ, नाक ठाडो भयो । सम्झे आफ्नो देशको पहिचानका लागि राष्ट्रिय पोशाकमा नै अध्यागमनमा कर्मचारीले देखापर्नु सान्दर्भिक ठहरिनेछ । मृदु भाषामा बोल्ने नेपाली शैलीको विदेशीहरूले प्रशंसा त गरेकै छन् । यसैगरी चितवन राष्ट्रिय निकुञ्ज, रारा र फेवा तालका साथै सगरमाथा अन्नपूर्ण, माछापुच्छ्रेलगायत हिमाल, राष्ट्रिय विभूति भृकुटी, अंशुबर्मा, प्रथम सगरमाथा आरोही तेन्जिङ शेर्पा र हिलारीका तस्वीरहरू लालीगुराँस फुल्ने डाँडापाखा र यार्सागुम्बा उमार्ने हिमाली पाटनहरूका दृश्य देखाइदिँदा पनि पर्यटकहरू लोभिन्थ्ये जस्तो लाग्यो ।
हामीमध्ये कतिपय व्यक्तित्वहरूले विदेश भ्रमण गरेका छौं । विदेशका नागरिकहरू नियम पालना गर्दै पद्धति बसालेर काम गरेको पनि देखेका छौं । हामीले पनि यातायातमा, खानपिनमा, सरसफाइमा सडक मर्मतलगायत विविध विषयमा इमानदारिता देखाउनु जरुरी छ । चार महिना लामो बेलायत अमेरिकाको देउडा साङ्गीतिक र पारिवारिक भेटघाटको यात्रा अविस्मरणीय रह्यो । अमेरिका र बेलायतमा गौरापर्व मनाएको, देउडा खेलेको र बेलायतका लागि तत्कालीन नेपाली राजदूत चन्द्रकुमार घिमिरे र धर्मपत्नी सरिता घिमिरेले तीजपर्वमा राजदूतावासमा कलाकारलाई बोलाएर नेपाली संस्कृतिको सम्मान गरेको लगायत विषय पछिका लेखमा समावेश गर्नेछु ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच