‘पागल हुन कहाँ सजिलो छ र ?’ शीर्षकको यो पुस्तक कवि बिसुकुमार केसीद्वारा रचना भएको कविता संग्रह हो । यो पुस्तक गद्य कविताहरूको संग्रह हो । उहाँले यसमा ५७ वटा कविताहरू समावेश गर्नुभएको छ । यो पुस्तक शिखा बुक्सले प्रकाशन गरेको छ भने ज्ञान ज्योति बुक्स पब्लिकेसन प्रालि. अद्वैत मार्ग बागबजार यसको वितरक रहेको छ । २०८२ सालमा प्रकाशित भएको यो पुस्तकको यो पहिलो संस्करण हो । यसको सर्वाधिकार कवि आफैँमा रहेको छ । यसको आवरण, डिजाइन तथा ले-आउट बाबु महर्जनद्वारा तयार गरिएको छ । पुस्तक हार्ड कभर र सफ्ट कभरमा छापिएको छ ।
कवितात्मक परिपक्वता यसमा पाइन्छ । उमेरले, कामले, लेखन साधनाले र वरिष्ठ कविहरूसँगको सानिध्यले पनि उहाँका कविताहरू माझिएका छन् । हामी कसैलाई पागल देख्छौँ, पागल भन्छौँ, ‘पागल’ शब्दले सम्बोधन गर्छौं तर पागलका आफ्ना बाध्यता विवशताहरू पनि हुन्छन् भन्ने बाध्यात्मक परिस्थितिलाई यस कविता संग्रहको शीर्षक कविताले देखाउन चाहेको छ ।
यस पुस्तकमा भूमिका खण्डमा समेत गरी १४८ पृष्ठ रहेका छन् । हार्ड कभरको मूल्य रु ५५० र सफ्ट कभरको ४०० रुपैयाँ रहेको छ । पुस्तकको आवरण आकर्षक छ, फुल बुट्टाहरू लगायतको सजावटको यो सानो पुस्तक स्ट्याण्डर्ड साइजमा प्रकाशक भएको छ । पुस्तकको आवरणको बीचमा पहेँला ठूला अक्षरमा पुस्तकको शीर्षक रहेको छ र त्यहीँ साना सेता अक्षरमा कविको नाम राखिएको छ । आवरण पृष्ठमा कवि दिनेश अधिकारी, श्रवण मुकारुङ र प्रतीक ढकालका भनाइहरू रहेका छन् जुन यस पुस्तक र कविका बारेका भनाइहरू रहेका छन् । तल प्रकाशक संस्था शिखा बुक्सको नाम र लोगो समावेश गरिएको छ ।
पुस्तकमा केही प्रतीकात्मक चित्रहरू पनि रहेका छन् । यो कवितासंग्रह अन्य संग्रहभन्दा केही भिन्न छ । कविको यो दोस्रो कवितासंग्रह हो । कविता सूचीमा जानकारी गराइएअनुसार यो पुस्तकमा जिन्दगी र जिन्दगीहरू, प्रकृति र परिवेश, समय र सन्दर्भ, समाज र सास्ती, आफू र आफन्तहरू, माया र मनहरू र ‘अन्त्यमा’ गरी सातवटा खण्ड वा चरणहरू रहेका छन् । कविले फरक ढङ्गले यस पुस्तकलाई प्रस्तुत गर्ने क्रममा सुरुको ‘जिन्दगी र जिन्दगीहरू’ शीर्षकअन्तर्गत नौवटा कविताहरू प्रस्तुत गर्नुभएको छ । जसमा ती सबै कविताले जिन्दगीका बारेमा मात्र अभिव्यक्ति दिएका छन् । यसैगरी, दोस्रो खण्डमा ‘प्रकृति र परिवेश’ शीर्षक रहेको छ । जसअन्तर्गत नौवटा कविताहरू समावेश भएका छन् ।
यी सबै कविताहरू प्रकृतिको चित्रणमा केन्द्रित छन् । यहाँ केही कविताहरू चिन्तन (दर्शन) मा आधारित पनि छन् । तेस्रो खण्ड ‘समय र सन्दर्भ’ हो जसअन्तर्गत १० वटा कविताहरू समेटिएका छन् । यी कविताहरूले विभिन्न समयमा मानवका जीवनमा आउने चरणहरू, पर्वहरू, चाडहरू, नयाँवर्ष, दशैँ, मिलन, विछोड र प्रकोपहरूका बारेमा पनि उल्लेख गरेका छन् । चौथो खण्डको शीर्षक हो ‘समाज र सास्ती’ । यस शीर्षकअन्तर्गत मानव जीवनमा आइपर्ने अनेकौँ समस्याहरू यहाँ प्रस्तुत भएका छन् । मानिसले जीवनका अनेक घुम्ती र मोडहरूमा भोग्नुपरेका कुराहरूलाई यहाँ कविताका शैलीमा प्रस्तुत गरिएको छ ।
पाँचौँ खण्डमा ‘आफू र आफन्तहरू’ शीर्षकमा सातवटा कविताहरू प्रस्तुत भएका छन् । यी कविताले आफ्नै परिवेशलाई झल्काएका छन् । आफ्नो परिवार, घर, आँगन, फूलका बोटहरू र जीवनमा घरमा मनाइएका पर्वहरूको पनि यहाँ सम्झना भएको छ । छैठौँ खण्डमा ‘माया र मनहरू’ शीर्षक रहेको छ र यस खण्डअन्तर्गत विभिन्न शीर्षकका ९ वटा कविताहरू यहाँ प्रस्तुत भएका छन् र मान्छेका बीचमा हुने मायालाई प्रस्तुत गरेका छन् । सातौँ अध्यायमा ‘अन्त्यमा’ भन्ने शीर्षक अन्तर्गत एउटा ‘अलप हुन पाए’ भन्ने कविता छ । यो निराशावादी चिन्तनको कविता हो । अन्तिममा कविले मेरो बिसाउनी भनेर यस किताब संग्रहका बारेमा आफ्नो लेखकीय धारणा राख्नुभएको छ । त्यसपछि उहाँको फोटोसहित भनाइ पनि रहेको छ । पुस्तक आकर्षक छ र कविताहरू स्तरीय छन् ।
उहाँको यो दोस्रो पुस्तक हो तैपनि उहाँको कवितात्मक परिपक्वता यसमा पाइन्छ । उमेरले, कामले, लेखन साधनाले र वरिष्ठ कविहरूसँगको सानिध्यले पनि उहाँका कविताहरू माझिएका छन् । हामी कसैलाई पागल देख्छौँ, पागल भन्छौँ, ‘पागल’ शब्दले सम्बोधन गर्छौं तर पागलका आफ्ना बाध्यता विवशताहरू पनि हुन्छन् भन्ने बाध्यात्मक परिस्थितिलाई यस कविता संग्रहको शीर्षक कविताले देखाउन चाहेको छ । कविता संग्रहका लागि कवि बिसुकुमार केसीलाई धेरै धेरै बधाई छ र पुस्तकको सफलताको कामना पनि छ । उहाँका कवितात्मक सिद्धहस्तताबाट यस्तै कविताहरू फेरि फेरि पनि आइरहून् उहाँलाई अग्रिम शुभकामना ।






समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर