काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आफ्ना लागि कुनै पनि रकम नउठाएको दाबी गरेको छ । समितिले प्रेस विज्ञप्ति जारी गर्दै बचत तथा ऋण मिलान कार्यमा शुल्कका रूपमा मिलान रकमको १० प्रतिशत लिएर सोही सहकारीको बैंक खातामा दाखिला गराउने गरिएकोमा उक्त कार्यलाई समितिले पैसा उठायो भन्ने कपोकल्पित प्रचार भन्दै खण्डन गरेको छ । उक्त रकम सम्बन्धित सहकारीको खातामा स्वयं बचतकर्ताले नै जम्मा गर्ने गरेको तथा मिलान नभएका बचतकर्ताको बचत रकम फिर्ताका लागि प्रयोग गर्ने गरिएको पनि समितिले जनाएको छ । विज्ञप्तिका अनुसार बचत फिर्ताबाहेक सो रकम अन्य कार्यमा खर्च भएको छैन र भविष्यमा पनि गरिने छैन ।
समिति स्थापनाकालदेखि आर्थिक वर्ष २०८०/८१ को असारसम्म करिब छ वर्ष अवधिमा ८३ करोड ६५ लाख रकम बचत फिर्ता तथा मिलान गरिएको र तेस्रो पक्षको जग्गा मिलानमार्फत् हालसम्म भने कुनै पनि किसिमको ऋण वा दायित्व फरफारक नगरिएको समितिले स्पष्ट पारेको छ । हालसम्म तीन हजार छ सय ८९ जना मागदाबीकर्ताको सम्पूर्ण बचत रकम फरफारक गरिएको र सोही अवधिमा विभिन्न सहकारीका पहिलो चरणमा मागदाबी गरेका ५६ हजार एक सय छजना बचतकर्तालाई आंशिक बचत फिर्तामार्फत् करिब ३५ करोड ८२ लाख रुपैयाँ फिर्ता दिइएको पनि विज्ञप्तिमा उल्लेख छ ।
सो अवधिमा समितिले तीन अर्ब २९ करोड ८४ हजार सात सय ८० बराबरको बचत रकम मिलान तथा दामासाहीबापत बैंकमार्फत् नगद वितरण गरिसकेको जनाएको छ । सहकारी अनियमितता अनुसन्धानका क्रममा सञ्चालक, व्यवस्थापक र लेखा समितिका सबै सदस्यको चल-अचल सम्पत्ति रोक्का गरिएको, ऋण तिर्न बाँकी रहेका ११ हजार ऋणीका बैंक खाता तथा सम्पत्तिसमेत रोक्का गरिएको र बाँकी ऋणीको खाता तथा सम्पत्ति रोक्का गर्ने प्रक्रिया पनि निरन्तर भइरहेको समितिको भनाइ छ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच