काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचन तथा पार्टी संरचनामा युवा पुस्तालाई व्यापक रूपमा अवसर प्रदान गर्ने बताउनुभएको छ । वाइसिएल नेपालले शनिबार पेरिसडाँडामा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले पार्टी र देशको नेतृत्व अब क्रमशः नयाँ पुस्ताले सम्हाल्नुपर्नेमा दिनुभयो । संयोजक प्रचण्डका अनुसार पार्टीभित्र नै आगामी निर्वाचनमा अधिकतम युवा उम्मेदवार अघि सार्नेबारे गम्भीर छलफल भइरहेको छ । ‘युवाहरूलाई नयाँ नेपालको नयाँ नेतृत्वका रूपमा तयार पार्नुपर्छ भन्ने हाम्रो साझा सपना हो’, उहाँले भन्नुभयो, ‘आउने चुनावमा धेरैभन्दा धेरै युवालाई अवसर दिन र पार्टी कमिटीमा उनीहरूको सहभागिता बढाउनेबारे पार्टी संस्थागत रूपमा निर्णयको नजिक पुगेको छौँ ।’
उहाँले वैचारिक, राजनीतिक र संगठनात्मक रूपमा युवालाई नेतृत्वका लागि सक्षम बनाउने दिशा पार्टी अघि बढिरहेको पनि बताउनुभयो । ‘नयाँ पुस्ताका युवालाई बढी जिम्मेवारी दिने वातावरण बनाउनु पुराना पुस्ताका क्रान्तिकारीहरूको दायित्व हो भन्ने मैले महसुस गरेको छु’, प्रचण्डले भन्नुभयो ।
विगतका कमजोरी स्वीकार गर्दै प्रचण्डले युवा पुस्ताको ऊर्जाशील भावनाअनुसार आफूहरू परिवर्तन हुनुपर्ने आवश्यकता पनि औँल्याउनुभयो । ‘युवाहरूले देखाएको स्पिरिटअनुसार आत्मसमीक्षा गर्दै नयाँ ढंगले नेपाल निर्माण गर्ने संकल्प लिनुपर्ने परिस्थिति बनेको छ’, उहाँले भन्नुभयोे । संयोजक प्रचण्डले वर्तमान पुस्ताले अब उत्तराधिकारी निर्माणमा ध्यान दिनुपर्ने तथा देशको नेतृत्व क्रमशः युवाकै हातमा सुम्पनु उपयुक्त समय आएको दोहो¥याउनुभयो ।
उहाँले देशमा भ्रष्टाचार गहिरो रूपमा फैलिँदै गएको भन्दै चिन्ता पनि व्यक्त गर्नुभएको छ । सरकारमा हुँदा र बाहिर रहँदा पनि आफूहरूले निरन्तर रूपमा भ्रष्टाचारविरुद्ध आवाज उठाउँदै आए पनि अपेक्षित रूपमा सरकारले सुनुवाइ गर्न नसकेको टिप्पणी उहाँको थियो । उहाँले भदौ २३ र २४ गते युवा पुस्ताले सुरु गरेको आन्दोलनले भ्रष्टाचारविरोधी अभियानमा नयाँ ऊर्जा भर्ने काम गरेको उल्लेख गर्दै सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिका पक्षमा उठाइएका मागहरू जनआकांक्षासँग मेल खाने बताउनुभयो ।
‘जेन-जी’को आवाज सुनेर अगाडि बढ्न तयार छौँ : खतिवडा
कार्यक्रमलाई सम्बोधन गर्दै नेता जगन्नाथ खतिवडाले आफूहरू ‘जेन-जी’को आवाज सुनेर अगाडि बढ्न तयार रहेको बताउनुभयो । मुलुकमा परिवर्तन गर्नका निम्ति भदौ २३ र २४ मा ‘जेन-जी’ आन्दोलन भएको उहाँले स्मरण गर्नुभयो । उक्त परिवर्तनको चाहना भ्रष्टाचार नियन्त्रण र सुशासन स्थापना रहेको भन्दै उहाँले यही संकल्पका साथ आफूहरू अगाडि बढिसकेको बताउनुभयो ।
राणा शासन, पञ्चायत र राजतन्त्र ढलेर गणतन्त्र प्राप्त भएको उल्लेख गर्दै उहाँले ‘जेन-जी’ पुस्ताले खोजेको पुस्तान्तरणमा समेत आफूहरू सचेत रहेको बताउनुभयो । ‘कमरेड प्रचण्ड भविष्यमा यो मुलुकलाई हाँक्ने उत्तराधिकारी खोजिरहनु भएको होला । कमरेड माधव नेपाल भविष्यमा यो मुलुकलाई हाँक्ने कम्युनिष्ट उत्तराधिकारी खोजिरहनु भएको छ । हामी पनि मुलुक हाँक्ने नयाँ कम्युनिष्ट उत्तराधिकारी खोजिरहेका छौं’, उहाँले भन्नुभयो ।
नयाँ पुस्तालाई नेतृत्व र जिम्मेवारी सुम्पन तयार रहेको भन्दै उहाँले आफ्नो पार्टीले परिवर्तनको चाहना बोक्ने भएकाले सोहीअनुसार निर्णय लिन नागरिकलाई समेत आग्रह गर्नुभयो । जनताको साथ लिएर जनताकै चाहनाअनुसार नीति बनाएर भ्रष्टाचार नियन्त्रण, सुशासन स्थापना र नेतृत्वमा पुस्तान्तरण गर्दै अगाडि बढ्न पार्टी तयार रहेको भन्दै उहाँले सोहीअनुसार आगामी निर्वाचनमा मतदान गर्न आग्रह गर्नुभयो ।
भोट माग्दै नेकपा
नेपाली कम्युनिष्ट पार्टीले आगामी फागुन २१ को चुनावका लागि भोट माग्न थालेको छ । यो पार्टीले शनिबार तत्कालीन माओवादी केन्द्रको मुख्यालय पेरिसडाँडामा ‘जेन-जी’सँग संवाद कार्यक्रम राखेको थियो । कार्यक्रमको सुरुवातमा सांस्कृतिक कार्यक्रम थियो । जहाँ कलाकर, रचनाकार, संगीतकार, गायक लगायतले प्रस्तुति दिएका थिए । कलाकारहरूले ‘...चम्किलो तारामा दिनुहोला भोट’ भन्दै प्रस्तुति दिएका थिए । जसमा नेपाली कम्युनिष्ट पार्टीका नेता÷कार्यकर्ताहरूले थपडी बजाएर र नाचेर समर्थन जनाए । नवगठिन नेपाली कम्युनिष्ट पार्टीको चुनाव चिह्न तारा हो । तत्कालीन नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायत १० भन्दा बढी दल समूह मिलेर बनेको पार्टी हो । नेपाली कम्युनिष्ट पार्टी बनेपछि उनीहरूले ‘जेन-जी’सँगै संवाद कार्यक्रम राखेका हुन् । उक्त कार्यक्रममा संयोजक प्रचण्डसहितका शीर्ष नेताहरू सहभागी थिए । ‘जेन-जी’हरूले चाहेको नेपाल बनाउने उनीहरूले वाचा गरे ।






निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
ठेक्का प्रक्रियामा अनियमितता : प्रतिस्पर्धीलाई
धान बालीमा कृषि यान्त्रीकरण :
फिफा विश्वकप २०२६ हेर्न डिशहोमको
भेडा-भेडासँग बाख्रा-बाख्रासँग
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम