काठमाडौं । बलिउडका सदाबहार अभिनेता धर्मेन्द्रको निधन भएको छ । सोमबार अपराह्न ८९ वर्षको उमेरमा उहाँको निधन भएको हो । अघिल्लो हप्ता मात्र उहाँको मुम्बईस्थित ब्रीज क्याण्डी अस्पालतमा उपचार गरिएको थियो । त्यसपछि उहाँलाई घर लगिएको थियो र त्यहाँ उपचार गरिएको थियो । उहाँको सोमबार नै मुम्बईको विले पार्ले शवदाह गृहमा अन्तिम संस्कार गरिएको हो । धर्मेन्द्र लामो समयदेखि बिरामी हुनुहुन्थ्यो । उहाँ जुहुस्थित देओल बंगलामा बस्दै आउनुभएको थियो । उहाँलाई श्रद्धाञ्जलि दिन बलिउडका दिग्गज कलाकार अमिताभ बच्चन, उहाँका छोरा अभिषेक बच्चन, आमिर खानलगायत घाटमा पुग्नुभएको थियो ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ‘एक्स’मा पोष्ट गर्दै लेख्नुभएको छ, ‘धर्मेन्द्रजीको निधनसँगै भारतीय सिनेमाको एक युगको अन्त्य भयो ।’ ड्रामा, एक्सन र जोडदार संवादका कारण पनि लोकप्रिय धर्मेन्द्र भारतको पञ्जाबमा ८ डिसेम्बर १९३५ मा जन्मिनुभएको थियो । उहाँको वास्तविक नाम धरम सिंह देओल हो । एक्टिङ करिअरमा उहाँले थुप्रै कालजयी चलचित्र दिनुभएको छ । सन् १९६० बाट अभिनय यात्रा सुरु गर्नुभएका धर्मेन्द्रले ३०० भन्दा बढी चलचित्रमा अभिनय गर्नुभएको छ ।
यस्तै, राष्ट्रपति द्रौपदी मुर्मूले पनि श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ । सामाजिक सञ्जालमा उहाँले लेख्नुभएको छ, ‘दिग्गज अभिनेता तथा पूर्वसांसद धर्मेन्द्र जीको निधन भारतीय सिनेमाको लागि ठूलो क्षति हो । उहाँ देशका सबैभन्दा लोकप्रिय अभिनेताहरू मध्ये एक हुनुहुन्थ्यो र आफ्नो लामो फिल्म करिअरमा धेरै यादगार भूमिकाहरू खेल्नुभयो । भारतीय सिनेमाको दुनियाँमा उहाँको योगदान सधैँ सम्झना गरिनेछ । उहाँले एउटा यस्तो विराशत छोड्नुभएको छ जसले आगामी पुस्ताका कलाकारहरूलाई प्रेरणा दिइरहनेछ । म उहाँको परिवार, साथीभाइ र प्रशंसकहरूप्रति गहिरो समवेदना व्यक्त गर्दछु ।’
‘शोले’ मा बहुचर्चित वीरुको भूमिकामा देखिनुभएका धर्मेन्द्रका ‘फूल और पत्थर’, ‘सीता और गीता’, ‘चुपके चुपके’, ‘प्रतिज्ञा’ र ‘धर्म वीर’ जस्ता चलचित्रहरू सदाबहार मानिन्छन् । उहाँको करिअर बदल्ने पहिलो ठूलो सफलता दिलाउने चलचित्र भने ‘फूल और पत्थर’ थियो । यो फिल्म ५० हप्ताभन्दा बढी समयसम्म सिनेमा हलमा चलेको थियो । रोमान्टिकदेखि एक्सन हिरोसम्मको भूमिकामा उहाँले आफ्नो बलियो छाप छोड्नुभएको छ । धर्मेन्द्रलाई बलिउडका ‘हिम्यान’ भनिन्थ्यो । उहाँले ६५ वर्ष बलिउडमा बिताउनुभयो ।
सन् १९९७ मा फिल्मफेयर लाइफटाइम अचिभमेन्ट र २०१२ मा भारत सरकारको पद्मभूषण सम्मान पाउनुभएका धर्मेन्द्र पछिल्लोपटक ‘तेरी बातों में ऐसा उलझा जिया’ र ‘रकी और रानी की प्रेम कहानी’ मा देखिनुभएको थियो । उहाँको अन्तिम चलचित्र ‘इक्किस’ प्रदर्शन हुन बाँकी छ । उक्त चलचित्रको पोष्टर आइतबार मात्र सार्वजनिक गरिएको थियो ।
धर्मेन्द्रले चलचित्रमा आउनुभन्दा अगाडि नै प्रकाश कौरसँग सन् १९५४ मा विवाह गर्नुभएको थियो । प्रकाशसँग उहाँका चार सन्तान छन्, सनी देओल, बबी देओल, विजेता देओल र अजिता देओल । सन् १९८० मा उहाँले इस्लाम धर्म अपनाएर ‘शोले’की अभिनेत्री हेमा मालिनीसँग दोस्रो विवाह गर्नुभएको थियो । उहाँहरूका एक छोरी (ईशा) र एक छोरा (अहाना) हुनुहुन्छ । बलिउड इतिहासमा धर्मेन्द्रको नाम एउटा युगका रूपमा सम्झिने गरिएको छ । एजेन्सीको सहयोगमा




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच