काभ्रे । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका-६ कालिन्चोक, लेकपानीका प्रजातन्त्रका पिता भनेर चिनिनु भएका समाजसेवी केशरबहादुर तामाङको ८७ वर्षको उमेरमा निधन भएको छ । रोशीकटुन्जे-रघुचौर-खार्पाचोक-कालिन्चोक हुँदै डाँडापारिसम्म मोटरबाटो बनाउनुपर्छ भन्ने दूरदर्शी परिकल्पनाका लागि परिचित तामाङ गाउँका जनताको पीरमर्का उठाइरहने एक होनहार समाजसेवीको रूपमा चिनिनुहुन्थ्यो ।
स्वर्गीय तामाङ नेपाली कांग्रेस काभ्रे जिल्ला सभापति तथा बागमती प्रदेशसभा सदस्य (मन्त्री) तिर्थ लामा (तामाङ)का पिता हुनुहुन्थ्यो ।
उहाँप्रति श्रद्धाञ्जली व्यक्त गर्न नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ, महामन्त्री गगनकुमार थापा, केन्द्रीय सदस्य मधुप्रसाद आचार्य, शिवप्रसाद हुमगाई, गणेश लामा, बागमती प्रदेशसभा सदस्य बहादुरसिं लामा, रोशी गाउँपालिका अध्यक्ष दिनेश लामा, नमोबुद्ध नगरपालिका मेयर कुन्साङ लामा, पाँचखाल नगरपालिका मेयर महेश खरेललगायत विभिन्न पार्टीका नेता, स्थानीय जनप्रतिनिधि र रोशी गाउँपालिकाका सयौँ जनताको अन्त्येष्टि स्थलमा पुगेका थिए ।
बालबालिका शिक्षाबाट वञ्चित नहोउन्, छुवाछुतमुक्त समाज निर्माण होस्, सबैको घरमा ढुक्कसँग आँगन बलोस् र किसानले निडर भएर खेतीपाती गर्न पाओस् भन्ने अभियानका साथ समाजसेवामा सक्रिय रहनु भएका तामाङको निधनले गाउँ नै शोकमग्न भएको स्थानीयले बताएका छन् ।
स्वर्गीय तामाङकी एक श्रीमती, तीन छोराछोरी र दुई छोरी हुनुहुन्छ । उहाँका जेठा छोरा नेपाली कांग्रेस काभ्रेका सभापति एवम् बागमती प्रदेशसभा सदस्य तिर्थ लामा बुवाले सुरु गरेको समाजसेवा र विकास परिकल्पनालाई अगाडि बढाउँदै राजनीतिमा सक्रिय हुनुहुन्छ । रोशीकटुन्जे–रघुचौर–खार्पाचोक–कालिन्चोक डाँडापारिसम्म पुग्ने सडक निर्माणका लागि उहाँले बागमती प्रदेश सरकारमा मन्त्री हुँदा करिब ८० करोड रुपैयाँ बजेट विनियोजन गराउन सफल हुनुभएको थियो ।
काभ्रे जिल्लामा राजनीतिक तथा सामाजिक रूपमा सक्रिय तिर्थ लामा विवाह, ब्रतबन्धदेखि मृत्युसंस्कारजस्ता अवसरमा समेत सम्भव भएसम्म गाउँघर पुग्ने, सुखदुःखमा साथ दिने जिम्मेवार जनप्रतिनिधि भनेर स्थानीय युवाहरूले वर्णन गरेका छन् ।
स्वर्गीय तामाङको अन्त्येष्टि तामाङ धर्मसंस्कृति अनुसार रोशी गाउँपालिका–६ कालिन्चोक, लेकपानीमै गरिएको परिवारजनले जानकारी दिएका छन् ।







मकवानपुरमा न्यायाधीश सवार स्कार्पियो दुर्घटना,
ट्रम्प-किम सम्पर्क पुन: स्थापित भएको
बलात्कार आरोपमा डेन्टल सञ्चालक पक्राउ
बिहारको मन्दिरमा भागदौड मच्चिँदा ७
स्कुटर दुर्घटनामा युवकको मृत्यु
बेलायत निर्मित ड्रोन रुसी भूभागमा