काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)मा थप चारवटा पार्टी/समूह समाहित भएका छन् । बिहीबार काठमाडौंको राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रममा नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपाल लगायतले उनीहरूलाई पार्टीमा स्वागत गरेका हुन् । जसमा अशोक राई नेतृत्वको जसपाबाट नेता राजेन्द्र श्रेष्ठ नेतृत्वको टिम, धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत)बाट शरद् रसाइली नेतृत्वको टिम, बिपी खनाल नेतृत्वको जनजागरण पार्टी नेपाल र गोपाल परियारसहितको टिम रहेका छन् । त्यस्तै, एसिड आक्रमणमा परेर सामाजिक क्षेत्रमा सक्रिय मुस्कान खातुन पनि नेकपामा प्रवेश गर्नुभएको हो । खातुनलाई केन्द्रीय सदस्य बनाइने भएको छ । एकता घोषणा सभामा नेकपाका सहसंयोजक नेपालले खातुनलाई केन्द्रीय सदस्य बनाउने घोषणा गर्नुभएको हो ।
एकीकरण घोषणा समारोहमा प्रचण्ड र नेपालसहित नेताहरू झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, गंगालाल तुलाधरलगायत सहभागी हुनुहुन्थ्यो । कात्तिक १९ गते १० वटा घटकहरूले एकता गरी नेपाली कम्युनिष्ट पार्टी घोषणा भएको थियो । त्यसपछि भीम रावलसहित दुईटा पार्टी पनि नेकपामै जोडिएका थिए । बिहीबार एकतामा जोडिएकासहित नेकपामा एकीकृत हुने घटकको संख्या १६ पुगेको छ ।
नेकपा र जसपा एकता पक्षधरबीच एकता गर्ने ११ बुँदे सहमति भएको छ । सहमतिपत्रमा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधव नेपाल र जसपाको तर्फबाट संघीय परिषद् राजेन्द्र श्रेष्ठले हस्ताक्षर गर्नुभएको हो । सहमतिअनुसार जनजागरण पार्टीले आफ्नो नाम, झण्डा र चुनाव चिन्ह खारेज गरी नेकपाको विधान र राजनीतिक कार्यदिशा स्वीकार गर्ने भएको छ ।
विघटित नेकपा एस कैलालीको जिल्ला कमिटी नै एकतामा नआउने
विघटित नेकपा एकीकृत समाजवादीको कैलाली जिल्ला कमिटी नै नेपाली कम्युनिष्ट पार्टीमा सामेल नहुने भएको छ । कैलाली जिल्ला कमिटीका अध्यक्ष, सचिव र उपसचिवले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै नेकपामा नजाने निर्णय गरेको जानकारी गराएका हुन् । एकताबारे जिल्ला कमिटीको बैठक आह्वान गरिएको थियो । १२१ सदस्यीय कमिटीमध्ये ९१ जना सहभागी बैठकले एकता प्रक्रियामा सहभागी नहुने निर्णय गरेका हुन् । ‘वास्तवमा यो एकता एकातिर कुनै पनि पार्टी सङ्लो रूपमा सहभागी भएको छैन भने अर्कोतिर आधारभूत संगठन नै नभएका पार्टीहरू एकतामा सहभागी छन् । सिद्धान्त यो एकता शाहीकालका मन्त्रीदेखि जातीय भेगीय मुद्दा उठाउनेहरू र गैरकम्युनिष्ट पार्टी बनाउनुपर्छ भन्नेहरूबीच भएको हो’, विज्ञप्तिमा भनिएको छ ।
बैठकले प्रचण्ड र माधव नेपालले नेतृत्वको नेकपाले कम्युनिष्ट आन्दोलनलाई क्षति पुर्याउने निष्कर्ष निकालेको उल्लेख छ । कम्युनिष्ट सिद्धान्तमा आधारित नभई नेताहरूको व्यक्तिगत स्वार्थ पूरा गर्ने मनसायले भएको आरोप छ । बैठकले एमालेलाई पनि केपी ओलीले विसर्जनको बाटोमा लगेको निष्कर्षसहित पार्टी पुनर्गठनमा लाग्न आह्वान गरेको छ । नेकपाले शुक्रबार धनगढीमा एकता सन्देश सभा गर्दै छ । सभामा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सह-संयोजक माधवकुमार नेपालसहितका नेताहरू धनगढी जाँदै हुनुहुन्छ ।
उमेरका हिसाबले उत्तरार्धतिर छौँ, तर ‘जेन-जी’भन्दा कम छैनौँ : प्रचण्ड
नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्डले पार्टीमा भएका शीर्ष नेताहरू उमेरका हिसाबले उत्तरार्धतिरै भए पनि जेन-जीभन्दा कम नभएको दाबी गर्नुभएको छ । बिहीबार राष्ट्रिय सभागृहमा आयोजित एकता सभालाई सम्बोधन गर्ने क्रममा प्रचण्डले राष्ट्रप्रतिको जिम्मेवारी, राष्ट्र बचाउनुपर्छ भन्ने कुरा र समाजवादको यात्रा अघि बढाउने विषयमा आफूहरू ‘जेन-जी’ युवाभन्दा कम नभएको बताउनुभएको हो । ‘जेन-जी’को तागतलाई समेत जोडेर आफूहरूले समाजवादी क्रान्ति सम्पन्न गर्न चाहेको उहाँको भनाइ थियो । ‘हुन त उमेरका हिसाबले हामी उत्तरार्धतिर छौँ । तर, राष्ट्रप्रतिको जिम्मेवारी, राष्ट्र बचाउनुपर्छ भन्ने कुरामा र समाजवादको यात्रा जसरी पनि अघि बढाउनुपर्छ भन्ने कुरामा हामी कुनै जेन-जी युवाभन्दा कम पनि छैनौँ’, प्रचण्डले भन्नुभयो, ‘अन्तिम अवस्थासम्म हामी त्यो अभिभावकीय पूरा गर्न चाहन्छौँ । ‘जेन-जी’ युवाहरूको असली अभिभावक बन्न चाहन्छौँ । उनीहरूको समेत तागतलाई जोडेर समाजवादी क्रान्ति सम्पन्न गर्न चाहन्छौँ ।’
हामीप्रति आकर्षण बढ्दै छ : नेपाल
नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले आफ्नो पार्टीप्रति दिन प्रतिदिन आम नागरिकको आकर्षण बढ्दै गएको दाबी गर्नुभएको छ । एकता कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आफूहरूप्रति आकर्षण बढ्दै गएको बताउनुभएको हो । ‘यो एकता सफल हुँदैन भनेका थिए । तर, दिन बितेको छैन, हप्ता बितेको छैन, महिना बितेको छैन । यो अत्यन्तै उचित थियो भन्ने कुरा पुष्टि भइरहेको छ’, उहाँले भन्नुभयो, ‘शुक्रबार हामी सन्देश सभाको कार्यक्रम गर्न गइरहेका छौँ । धनगढीमा सुदूरपश्चिमका नेताहरू बसेर दशौँ, बिसौँ हजारभन्दा बढी संख्यामा उपस्थित गराउने गरी लाग्नुभएको छ ।’
हेलिकप्टर चढेर भाग्ने ओलीले देशको नेतृत्व गर्न सक्दैनन् : श्रेष्ठ
जनता समाजवादी पार्टीबाट अलग भएर नेकपा एकतामा सामेल हुनुभएका राजेन्द्र श्रेष्ठले बालुवाटारबाट हेलिकप्टर चढेर भागेका केपी ओलीले देशको नेतृत्व गर्न नसक्ने दाबी गर्नुभएको छ । तत्कालीन प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष ओलीले ‘जेन-जी’लाई खिसिट्युरी गरेका कारण सत्ता छोडेर भाग्नुपरेको उहाँले आरोप लगाउनुभयो । ‘तत्कालीन प्रधानमन्त्री केपी ओलीले जेन-जीलाई खिसिट्युरी गरेका थिए । जेन-जीले बालुवाटार घेरेपछि हेलिकप्टर चढेर भागे । त्यस्ता व्यक्तिले देशको नेतृत्व गर्न सक्छ ?’, उहाँले भन्नुभयो ।
विवेकशील रास्वपामा विलय हुने, बालेन र कुलमानसँग छलफल जारी
विवेकशील साझा पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बीच एकता हुने भएको छ । विवेकशील साझाले रास्वपासँग एकीकरण गर्ने निर्णय गरेको हो । पार्टीको केन्द्रीय समिति बैठकले पार्टी उपाध्यक्ष एवं संवाद समितिका संयोजक प्रकाशचन्द्र परियारको वैकल्पिक राजनीतिक दलबीचको ‘बृहत्तर ध्रुवीकरण/एकीकरण प्रस्ताव’लाई सर्वसम्मत अनुमोदन गर्दै रास्वपासँग पार्टी एकीकरण गर्ने निर्णय पारित गरेको विवेकशील साझाका प्रवक्ता आशुतोष प्रधानले जानकारी दिनुभयो । एकीकरणका अन्य प्राविधिक सवालहरू दुवै दलका नेतृत्वको उच्च समझदारीमा चाँडै टुंग्याइने र आगामी आइतबार राष्ट्रिय सभागृहमा घोषणा कार्यक्रम हुने प्रवक्ता प्रधानले बताउनुभयो ।
रास्वपाले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ‘बालेन’ र कुलमान घिसिङसँग पनि सहकार्य गरेर निर्वाचनमा होमिने नीति लिएको छ । सोही नीतिअनुरूप रास्वपाका पदाधिकारीले विभिन्न चरणमा सम्बन्धित व्यक्तिहरूसँग संवाद गरेको दाबी गरेको छ । सबै वैकल्पिक शक्तिलाई मुलुकको अर्थ–राजनीतिक संरचनामा आमूल परिवर्तन गर्नसक्ने सामूहिक सामथ्र्य बनाउन एकजुट हुन रास्वपाले आह्वान गरेको छ ।
भुसालको अभियान अब नेकपा संयुक्तको ब्यानरबाट चल्ने
एकीकृत समाजवादी पुनर्गठन अभियान र नेकपा (संयुक्त)बीच एकता घोषणा भएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर नेकपा एस पुनर्गठन अभियान अब नेकपा संयुक्तको ब्यानरबाट चल्ने निर्णय भएको जानकारी गराइएको हो । चुनाव चिह्न हँसिया रहनेछ । दुई महिनाभित्र एकता राष्ट्रिय महाधिवेशन गर्ने सहमति पनि भएको छ । नेकपा एकीकृत समाजवादी, पुनर्गठन अभियानका संयोजक घनश्याम भुसालले प्रचण्ड र माधव नेपालसहित साना घटकहरूबीचको एकताको कुनै राजनीतिक आधार नभएको आरोप लगाउनुभएको छ । नेकपा संयुक्तसँग एकता घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले प्रचण्ड-माधव सत्ता स्वार्थको लागि मिलेको आरोप लगाउनुभयो । ‘एमालेभन्दा बाहिर अर्को कुनै शक्ति छ भनेर देखाउने अनि त्यही एमाले वा कांग्रेस वा अरू कसैसँग बार्गेनिङ गर्ने सत्ताका लागि र आउँदो संसद्मा नेताहरूको सिट सुरक्षित गर्नेबाहेक यो एकताको कुनै आधार छैन ।’







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
ठेक्का प्रक्रियामा अनियमितता : प्रतिस्पर्धीलाई
धान बालीमा कृषि यान्त्रीकरण :
फिफा विश्वकप २०२६ हेर्न डिशहोमको
भेडा-भेडासँग बाख्रा-बाख्रासँग
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम