नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट-४ स्थित बर्दघाट खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले खानेपानीको न्यूनतम महसुल घटाउने निर्णय गरेको छ । संस्थाले मासिक न्यूनतम महसुल १ सय रुपैयाँबाट २० रुपैयाँ कमी गरी ८० रुपैयाँ कायम गरेको जानकारी अध्यक्ष दीपक लम्सालले दिनुभयो ।
अध्यक्ष लम्सालकाअनुसार यसअघि १० हजार लिटर (१० युनिट) पानी खपत गर्ने उपभोक्ताबाट १ सय रुपैयाँ लिइँदै आएकोमा अब ८ हजार लिटर (८ युनिट)सम्म पानी प्रयोग गर्ने उपभोक्ताले ८० रुपैयाँ मात्र तिर्नुपर्नेछ । साथै, जग्गाधनी प्रमाणपत्र नभएका उपभोक्ताले अस्थायी धारा जडान गर्दा बुझाउँदै आएको १ हजार रुपैयाँ धरौटी आगामी दिनमा नलिइने पनि उहाँले बताउनुभयो।
संस्थाका व्यवस्थापक विष्णु भुसालका अनुसार नयाँ महसुल संरचनाअनुसार ९ युनिटसम्मको शुल्क ९० रुपैयाँ, १० युनिटमा १ सय रुपैयाँ, ११ देखि ३० युनिटसम्म प्रतियुनिट १३ रुपैयाँ, ३१ देखि ५० युनिटसम्म प्रतियुनिट १८ रुपैयाँ, ५१ देखि १ सय युनिटसम्म प्रतियुनिट २२ रुपैयाँ कायम गरिएको छ । यस्तै, १ सय युनिटभन्दा माथिको खपतमा लाग्दै आएको २७ रुपैयाँ प्रतियुनिट शुल्क घटाएर अब २५ रुपैयाँ लागू गरिएको छ । नयाँ दर पुस १ गतेदेखि लागू हुने भुसालले जानकारी दिनुभयो ।
महसुल घटाइएपछि संस्थाको वार्षिक आम्दानी करिब २ लाख ५० हजार रुपैयाँ कम हुने अनुमान गरिएको छ । तर, यो निर्णयले कम पानी खपत गर्ने उपभोक्तालाई प्रोत्साहन मिल्ने उपाध्यक्ष तथा खानेपानी सुरक्षा योजना टोलीका संयोजक कमल थापाले बताउनुभयो । हाल संस्थामा ४ हजार २ सय २५ उपभोक्तामध्ये करिब २२ प्रतिशत, अर्थात् ९ सय ५० जना उपभोक्ता न्युनतम महसुल तिर्ने उपभोक्ताहरु रहनु भएको थापाले उल्लेख गर्नुभयो ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच