ललितपुरको धापाखेलमा जन्मिनुभएका वीरेन मालाकार यतिबेला साहित्य, संगीत र पर्यटन तीनै क्षेत्रमा एकैसाथ परिचित नाम बन्न गएको छ । उहाँले गजलकार, मुक्तककार, गायक र मोडलका रूपमा आफ्ना गतिविधिलाई अघि बढाइरहनुभएको छ । साधारणतया गजलकारहरू हल, मञ्च, कार्यक्रम वा पुस्तकमार्फत् चिनिन्छन् तर मालाकारको यात्रामा मञ्च मठ-मन्दिर छन्, पर्यटकीय स्थलहरू छन् । काठमाडौं उपत्यकाका साथै उपत्यकाबाहिरका सुन्दर स्थानहरूमा उहाँ पुग्नुहुन्छ र त्यहीँ बसेर आफ्ना गजल, मुक्तक वाचन गर्नुहुन्छ साथै गीत गाउनुहुन्छ । यो दृश्य केवल कला प्रस्तुतिमात्र होइन नेपालका सांस्कृतिक तथा प्राकृतिक गन्तव्यलाई शब्द-संगीतसहित परिचित गराउने एउटा आत्मीय प्रयास पनि रहेको उहाँ बताउनुहुन्छ । उहाँका युट्युबमा सार्वजनिक भिडियोहरूमा विशेषगरी यही सांस्कृतिक, साहित्यिक यात्राको सुगन्ध पाइन्छ । कुनै मठको ढोकामा उभिएको, कुनै मन्दिरको गजुरमुनि बसेर गजल सुनाइरहेको, कहिले हरियाली डाँडामा कतै रोमान्टिक र आत्मीय कविता एवं गीतहरू गाइरहेको । उहाँ आफ्नै ढंगले नेपाली पर्यटनलाई कलात्मकरूपमा प्रस्तुत गर्नुहुन्छ । उहाँका दर्शकहरू केवल गजल सुन्दामात्र आनन्दित हुँदैनन्, उनीहरू त्यो ठाउँप्रति पनि आकर्षित हुन्छन् । यसरी उहाँको ‘गजल टुरिज्म’ शैलीले साहित्य र पर्यटनलाई एउटै फ्रेममा स्थापित गरिरहेको छ । वीरेन केवल कवि र प्रस्तुतकर्तामात्र हुनुहुन्न, उहाँ अभिनय र मोडलिङमा पनि सक्रिय हुनुहुन्छ । केही गीतका भिडियोहरूमा उहाँले देखाएको सरल, स्वाभाविक अभिव्यक्ति र क्यामेरासामु सहज उपस्थितिले उहाँलाई मोडलका रूपमा पनि पहिचान दिएको छ । कलाक्षेत्रमा बहुआयामिक सक्रियताले उहाँलाई समकालीन युवा पुस्ताका प्रतिनिधि कलाकारमध्ये एक बनाइरहेको छ । भावनालाई सरल भाषामा प्रस्तुत गर्न मनपर्ने बताउनुहुने वीरेन मालाकारसँग हिमालय टाइम्सका लागि गीता अधिकारीले गर्नुभएको संवादको संक्षिप्त अंशः-
तपाईंलाई एकैसाथ गजलकार, मुक्तककार, गायक र मोडलका रूपमा चिनिन्छ । यो बहुआयामिक यात्राको सूत्र के हो ?
म एउटामात्र पाटोमा सीमित हुन सकिनँ । मनमा शब्द थिए, स्वर थिए अनि दृश्यलाई संवेदना बनाउने चाहना पनि । कला आपसमा जोडिएका धागाजस्तै लाग्छन् । एउटा धागो समात्दा अर्को आफैं तानिन्छ । यही भएर कविता, संगीत र मोडलिङ सबै मेरा अभिव्यक्तिका माध्यम बने ।
वीरेन मालाकारका युट्युबमा सार्वजनिक भिडियोहरूमा सांस्कृतिक र साहित्यिक यात्राको सुगन्ध पाइन्छ । कुनै मठको ढोकामा उभिएको, कुनै मन्दिरको गजुरमुनि बसेर गजल सुनाइरहेको, कहिले हरियाली डाँडामा कतै रोमान्टिक र आत्मीय कविता एवं गीतहरू गाइरहेको । उहाँ आफ्नै ढंगले नेपाली पर्यटनलाई कलात्मकरूपमा प्रस्तुत गर्नुहुन्छ । उहाँका दर्शकहरू केवल गजल सुन्दामात्र आनन्दित हुँदैनन्, उनीहरू त्यो ठाउँप्रति पनि आकर्षित हुन्छन् । यसरी उहाँको ‘गजल टुरिज्म’ शैलीले साहित्य र पर्यटनलाई एउटै फ्रेममा स्थापित गरिरहेको छ । वीरेन केवल कवि र प्रस्तुतकर्तामात्र हुनुहुन्न उहाँ अभिनय र मोडलिङमा पनि सक्रिय हुनुहुन्छ ।
तपाईं मन्दिर, मठ र पर्यटकीय स्थलमै पुगेर वाचन गर्नुहुन्छ । किन यस्तो शैली ?
नेपाल सुन्दामात्र होइन, देख्दा अझ धेरै सुन्दर छ । मैले सोचेँ किन कला र पर्यटनलाई एउटै फ्रेममा नराख्ने ? म कुनै मन्दिरको गजुरमुनि बसेर गजल वाचन गर्छु भने त्यो केवल प्रस्तुति होइन, स्थानको पहिचान पनि हो । दर्शकले गजलका शब्दसँगै त्यो ठाउँको आत्मा पनि महसुस गर्छन् । यही ‘गजल टुरिज्म’ मेरो पहिचान बनेको हो ।
दर्शकको प्रतिक्रिया कस्तो छ ?
निकै सकारात्मक । धेरैले भन्छन्- ‘तपाईंको गजल सुन्दामात्रै होइन, त्यो ठाउँ हेर्दा पनि मन लोभिन्छ ।’ यसले मलाई हौसला दिन्छ कि साहित्यले पर्यटनलाई पनि उजागर गर्न सक्छ ।
अभिनय र मोडलिङतर्फ पनि सक्रिय देखिनुहुन्छ नि ?
म्युजिक भिडियोका लागि प्रस्ताव आएपछि सुरु गरिएको हो । क्यामेरासामु उपस्थित हुँदा म आफूलाई सहज अनुभव गर्छु । अभिव्यक्ति प्राकृतिक रहोस् भन्नेमा ध्यान दिन्छु । यही सहजता नै मोडलका रूपमा पनि चिनिने कारण बनेको छ ।
गजल र मुक्तकमा तपाईंको शैलीलाई कसरी परिभाषित गर्नुहुन्छ ?
जीवनका साधारण भावनालाई सरल भाषामा प्रस्तुत गर्न मनपर्छ । प्रेम होस् वा बिछोड, समाज होस् वा मानवीय संवेदना ज्यादा सजावटबिना नै बोलीजस्तो बग्न दिन्छु । मुक्तकमा छोटो तर गहिरो अर्थ समेट्न खोज्छु । पाठकले पहिलो लाइनमै आफूलाई भेटून् भन्ने चाहना रहन्छ ।
गायनमा तपाईंको स्वरलाई धेरैले विनम्र र मधुर भन्छन् । कविता र स्वरबीच कस्तो सम्बन्ध देख्नुभएको छ ?
गजलको आत्मा शब्दमात्र होइन, स्वर पनि हो । म अतिरञ्जना गर्न खोज्दिनँ । भावलाई नै बोल्न दिन्छु । जब कविता मनबाट आउँछ, स्वर स्वाभाविकरूपमा सादगी लिएर आउँछ ।
कला भनेको मनोरञ्जनमात्रै हो त ?
कला भनेको केवल मनोरञ्जन होइन । त्यो संस्कृति जोगाउने सूक्ष्म शक्ति पनि हो ।
आगामी यात्रामा के-कस्ता योजना छन् ?
अझ धेरै ऐतिहासिक, धार्मिक र प्राकृतिक स्थानहरूमा पुगेर गजल वाचन गर्ने योजना छ । साथै, नेपालभित्रका सुन्दर तर कम चर्चित ठाउँहरूलाई कलाका माध्यमबाट उजागर गर्दै जानेछु । कला र पर्यटनलाई एकसाथ अघि बढाउने मेरो प्रयास निरन्तर रहनेछ ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच