अहिले मेरो हातमा भएको पुस्तकको नाम हो ‘...अर्थात् कर्णाली’ । पुस्तक गद्य कवितासङ्ग्रह हो, यसका कवि हुनुहुन्छ मोतिराज बम । बम कालिकोट जिल्लामा जन्मिनुभएको व्यक्ति हुनुहुन्छ । उहाँको विषय क्षेत्र राजनीति हो भने अर्कातिर उहाँ साहित्यकार पनि हुनुहुन्छ । यस पुस्तकमा कर्णालीका समस्या र सम्भावना उजागर गरिएको छ । कालिकोट कर्णाली अञ्चलमा पर्ने जिल्ला र बम त्यहीको हुनुहुन्छ । बमले कर्णालीलाई विषय बनाएर कवितासङ्ग्रह प्रकाशित गर्नुभएको छ । सानो पकेट साइज भनिने स्ट्यान्डर्ड साइजमा छापिएको कवितासङ्ग्रह हो । ओरिएन्टल पब्लिकेशन हाउस प्रा.लि. प्रकाशक रहेको छ । २०८१ सालमा छापिएको पुस्तक पहिलो संस्करणका रूपमा आएको छ । १००१ प्रति छापिएको पुस्तकको सर्वाधिकार लेखक स्वयम्मा छ ।
उहाँका कविताहरू विशेषतः कर्णालीको माटोसँगै सम्बन्धित छन् । आफ्नो जन्मभूमिलाई उहाँले आत्मसात गर्दै कविताका माध्यमबाट चिनाउने प्रयास गर्नुभएको छ । राजनीति, राष्ट्रियचिन्तन, देशप्रेम, प्रकृतिप्रेम, सामाजिक विषयवस्तु, संस्कृतिप्रतिको माया उहाँले आफ्ना कविताका माध्यमबाट प्रस्तुत गर्न चाहनुभएको छ ।
यसको लेआउट ओरिएन्टल डेक्सबाट तयार भएको छ । आवरण सोलुसन ग्राफिक डिजाइनले तयार पारेको छ । पुस्तकमा भूमिकाखण्डमा १२ र पाठ्यक्रममा १०० पृष्ठ गरी जम्मा ११२ पृष्ठ छन् भने मूल्य ३५० रुपैयाँ राखिएको छ । छपाइ स्तरीय छ तर अशुद्धि भने भेटिन्छन् । तौलयुक्त पहेँलो कागजको प्रयोग भएको छ । आवरण आकर्षक छ त्यहाँ अमूर्त कला देखाइएको छ । शायद यो कर्णालीको सम्भावित उज्यालो पक्षलाई देखाउन खोजिएको हुनसक्छ जसका लागि एउटा गुफा अथवा पर्वत जस्तो ठाउँमा बाटो जाँदै गरेको देखाइएको छ । माथि कविको नाम छ र तल ठूला सेता अक्षरमा रिक्तता बोधक चिह्नसहित सेता ठूला अक्षरमा ‘...अर्थात् कर्णाली’ भनिएको छ ।
पृष्ठावरणमा फोटोसहित लेखकको जन्म मिति र ठेगाना छ । यस पेजमा प्रसिद्ध कवि डा.नवराज लम्सालको भूमिकाका केही शब्द छन् भने तल प्रकाशक संस्था ओरिएन्टल पब्लिकशनको नाम-लोगो छ । भूमिकाखण्डमा सुरुमा समर्पण राखिएको छ र ‘स्वर्गीय छोरा आयुषराज बमप्रति’ भनिएको छ । यसबाट छोरा आयुषराजको दुःखद् निधन भएको जानकारी हुन्छ । त्यसपछि बद्रीप्रसाद ढकालको लामो भूमिका छ र त्यहाँ ‘...अर्थात् कर्णालीका कवि मोती’ भनिएको छ । कवि बमको ‘स्वकथन’ पछि विषय सूची छ । कविताक्रम भनेर जम्मा ४१ वटा कविता छन् जसले विविध विषयको उठान गरेको छ ।
कवि राजनीतिज्ञ भएका नाताले कविताहरू राजनीति केन्द्रित पनि छन् । उहाँका कविताहरू अधिकांश छोटा छन् र केही सीमित दुई–चारवटा कविता मझौला आयामका छन् । शीर्षक चयनका दृष्टिकोणले हेर्ने हो भने कविता छोटा शीर्षकमा लेखिएका छन् । आठवटा कविताको शीर्षक एक शब्दमा, १६ वटाको दुई शब्दमा, आठवटाको तीन शब्दमा, छवटाको चार शब्दमा, एउटाको पाँच शब्दमा र दुईवटाको छ शब्दमा चयन भएको पाइन्छ । कविताको फैलावट अर्थात् लम्बाइका आधारमा भने एक पृष्ठमा एउटा, दुई पृष्ठमा २७ वटा, तीन पृष्ठमा १० र चार पृष्ठमा तीनवटा कविता छन् । यसरी हेर्दा अधिकांश कवितालाई छोटा कविता भन्न सकिन्छ र केही कवितामात्र मझौला खालका छन् ।
उहाँका कविताहरू विशेषतः कर्णालीको माटोसँगै सम्बन्धित छन् । आफ्नो जन्मभूमिलाई उहाँले आत्मसात गर्दै कविताका माध्यमबाट चिनाउने प्रयास गर्नुभएको छ । राजनीति, राष्ट्रियचिन्तन, देशप्रेम, प्रकृतिप्रेम, सामाजिक विषयवस्तु, संस्कृतिप्रतिको माया उहाँले आफ्ना कविताका माध्यमबाट प्रस्तुत गर्न चाहनुभएको छ । उहाँका कविताहरू सन्देशमूलक छन् । उहाँ आफ्ना अन्य पुस्तकका साथै चौथो कवितासङ्ग्रह ‘...अर्थात् कर्णाली’ लिएर आउनुभएको छ । यसका लागि उहाँलाई धेरैधेरै बधाई तथा पुस्तकको सफलताको कामना छ, उहाँबाट आगामी दिनमा पनि यस्ता खालका कृति आइरहून् कवि बमलाई अग्रीम शुभकामना ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच