काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को प्रथम चार महिना अर्थात् साउनदेखि कात्तिकसम्ममा नेपालको कुल वैदेशिक व्यापार अघिल्लो वर्षको सोही अवधिको तुलनामा २४.१८ प्रतिशतले बढेर सात खर्ब दुर्ई अर्ब ९५ करोड पुगेको छ । व्यापार तथा निर्यात प्रवद्र्धन केन्द्रले सार्वजनिक गरेको चालु आर्थिक वर्ष कात्तिकसम्मको तथ्यांकअनुसार कुल व्यापारमा निर्यात तथा आयात योगदान क्रमशः १३.३ र ८६.७ प्रतिशत रहेको छ ।
समीक्षा अवधिमा नेपालको कुल निर्यात ७७.५१ प्रतिशतले बढेर ९३ अर्ब ५० करोड पुगेको छ भने कुल आयात १८.७१ प्रतिशतले बढेर छ खर्ब नौ अर्ब ४५ करोड पुगेको छ । गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा निर्यात-आयात व्यापार अनुपात १ः९.७ रहेकोमा चालु आर्थिक वर्षको सोही अवधिमा निर्यात-आयात व्यापारको अनुपात १ः६.५ रहन आएको छ ।
ऊनी गलैंचा निर्यात ९.३६ प्रतिशतले घटेर तीन अर्ब २६ करोड, तयारी पोशाक निर्यात ६.७९ प्रतिशतले घटेर तीन अर्ब १३ करोड र प्लाइउड निर्यात ५७.६० प्रतिशतले घटेर एक अर्ब १५ करोडमा सीमित भएको छ ।
सो अवधिमा नेपालबाट निर्यात भएका प्रमुख वस्तुमा सोयाबिन तेल, यार्न, ऊनी गलैंचा, तयारी पोशाक, पामतेल, सूर्यमुखी तेल, जुट तथा जुटका सामान, ऊनी फेल्टका उत्पादन, जुस, चिया, फलाम तथा फलामका उत्पादन, प्लाइउड, अलैंची, पश्मिना शल, पिना, चाऊचाऊ, जुत्ता चप्पल, कत्था, सिमेन्ट, कपडा, कुकुर बिरालाका आहारा, जडीबुटी र नेपाली हातेकागज प्रमुखरूपमा रहेका छन् ।
समीक्षा अवधिमा फलाम तथा तिनका उत्पादन निर्यात ७२.७४ प्रतिशतले घटेर एक अर्ब २५ करोडमा सीमित भएको छ भने यार्न निर्यात ०.५२ प्रतिशतले बढेर चार अर्ब २३ करोड पुगेको छ । ऊनी गलैंचाको निर्यात ९.३६ प्रतिशतले घटेर तीन अर्ब २६ करोडमा सीमित भएको छ भने तयारी पोशाक निर्यात पनि ६.७९ प्रतिशतले घटेर तीन अर्ब १३ करोडमा सीमित भएको छ ।
त्यस्तै, प्लाइउड निर्यात ५७.६० प्रतिशतले घटेर एक अर्ब १५ करोडमा सीमित भएको छ । समीक्षा अवधिमा जुट तथा जुटका उत्पादन निर्यात ५१.०१ प्रतिशतले बढेर तीन अर्ब ६१ करोड पुगेको छ ।
अर्को प्रमुख निर्यातजन्य ऊनी फेल्ट निर्यात ९.०५ प्रतिशतले बढेर दुई अर्ब १५ करोड पुगेको छ भने जुसको निर्यात पनि ९.६२ प्रतिशतले बढेर दुई अर्ब ६० करोड पुगेको छ । समीक्षा अवधिमा सोयाबिन तेल निर्यात सर्वाधिक १०२६.९८ प्रतिशतले बढेर ३८ अर्ब ४३ करोड पुगेको छ भने पामतेल पनि ३४९.८३ प्रतिशतले बढेर दुई अर्ब ३७ करोड पुगेको छ । त्यस्तै, सूर्यमुखी तेल निर्यातसमेत ८१.५७ प्रतिशतले बढेर दुई अर्ब ७३ करोड पुगेको छ ।
उल्लेखित तीन वस्तुको कुल निर्यातमा ४६.६ प्रतिशत योगदान रहेको छ । कृषिजन्य वस्तुको निर्यातमा अग्रणी स्थान हासिल गरिरहेको उत्पादन अलैंची निर्यात पनि १०९.०५ प्रतिशतले बढेर तीन अर्ब ९७ करोड पुगेको छ भने कृषिजन्य वस्तु निर्यातमा अग्रणी स्थान हासिल गरिरहेको अर्को उत्पादन चिया निर्यात ३६.४२ प्रतिशतले घटेर एक अर्ब ५१ करोडमा सीमित भएको छ । अदुवा निर्यात भने १२.०२ प्रतिशतले बढेर २९ करोड २९ लाख पुगेको छ । तर, पिना(आयलकेक) निर्यात ९.५२ प्रतिशतले घटेर एक अर्ब चार करोडमा सीमित भएको छ ।
नेपालको निर्यात व्यापारमा प्रमुख स्थान ओगट्ने भारततर्फको निर्यात समीक्षा अवधिमा ११३.८९ प्रतिशतले बढेर ७६ अर्ब ५१ करोड पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा भारततर्फको निर्यात हिस्सा ६७.९१ प्रतिशत रहेकोमा चालु आर्थिक वर्ष सो हिस्सा ८१.८३ प्रतिशत पुगेको छ । नेपालको निर्यात व्यापारमा अन्य महत्वपूर्ण गन्तव्यहरूमा संयुक्त राज्य अमेरिका, जर्मनी, युके, फ्रान्स, जापान, युएई, अष्ट्रेलिया, इटाली, नेदरलेण्ड्स, क्यानडा, डेनमार्क, चीन तथा भुटान प्रमुुखरूपमा रहेका छन् ।
आयाततर्फ समग्रमा आर्थिक वर्ष २०८२/८३ को प्रथम चार महिना अवधिमा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा पेट्रोलियम आयात २.५१ प्रतिशतले बढेर ८२ अर्ब ३९ करोड पुगेको छ भने फलाम तथा स्टिल र तिनका उत्पादन आयात ५.८७ प्रतिशतले बढेर ५१ अर्ब ९५ करोड पुगेको छ । मेसिनरी तथा पार्ट्सको आयात पनि ११.६४ प्रतिशतले बढेर ४० अर्ब ५९ करोड पुगेको छ भने कच्चा भटमास तेल आयात ४२६.५० प्रतिशतले बढेर ३७ अर्ब ९६ करोड पुगेको छ । औषधि आयात पनि ५.८३ प्रतिशतले बढेर १४ अर्ब नौ करोड पुगेको छ भने इलेक्ट्रिक र इलेक्ट्रोनिक सामग्री आयात १४.४९ प्रतिशतले बढेर २३ अर्ब ९६ करोड पुुगेको छ ।
यातायात साधन र तिनका पार्टपुर्जा आयात पनि १५.१२ प्रतिशतले बढेर ३७ अर्ब ६९ करोड पुगेको छ भने कच्चा पामतेल आयात १४०.९९ प्रतिशतले बढेर तीन अर्ब ८३ अर्ब पुगेको छ । खाद्यान्न आयात पनि ४३.८४ प्रतिशतले बढेर १५ अर्ब ७४ करोड पुगेको छ । समीक्षा अवधिमा तयारी पोशाक आयातसमेत ९.७० प्रतिशतले बढेर १६ अर्ब ९७ करोड पुगेको छ भने दूरसञ्चार सामग्री आयात २१.२० प्रतिशतले बढेर १९ अर्ब ४२ करोड पुगेको छ ।
सुन आयात ५५१.८५ प्रतिशतले बढेर १६ अर्ब २३ करोड पुगेको छ । नेपालको आयात व्यापारमा प्रमुख मुलुकमा भारत, चीन, अर्जेन्टिना, युएई, संयुक्त राज्य अमेरिका, इण्डोनेसिया, थाइल्याण्ड, ब्राजिल, अस्ट्रेलिया, मलेसिया, कतार, जापान, क्यानडा र फ्रान्स प्रमुुखरूपमा रहेका छन् । चालु आर्थिक वर्ष २०८२/८३ को प्रथम चार महिना अवधिमा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा निर्यात र आयात दुवै बढ्दा व्यापार घाटा पनि बढेर गएको छ । सो अवधिमा व्यापार घाटा ११.९९ प्रतिशतले बढेर कुल व्यापार घाटा पाँच खर्ब १५ अर्ब ९६ करोड पुगेको केन्द्रले जनाएको छ ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच