नेकपा एमाले महाधिवेशनको तयारीका क्रममा छ । अन्य राजनीतिक दलहरूझैँ एमालेलाई पनि आन्तरिक मतमतान्तरले छोएको छ । तर, यस दलमा अहिले अन्य पार्टीहरूझैँ टुटफुटको गम्भीर अवस्था भने देखिँदैन । पछिल्ला वर्षमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र देखापरेका विभाजन तथा माओवादी केन्द्रमा देखिएको विचलनले नयाँ राजनीतिक समीकरण जन्माइरहेका छन् । रास्वपाबाट केही प्रभावशाली नेताहरू अलग भई नयाँ दल निर्माणमा लागे भने माओवादी केन्द्रले विभिन्न पार्टीसँग एकीकरण गर्ने प्रयास ग¥यो । यस क्रममा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकीकृत समाजवादीका केही शीर्ष नेतालाई आफ्नो पक्षमा आकर्षित गर्न सफल भए ।
माधवकुमार नेपाल र झलनाथ खनाल माओवादीसँग एकीकृत भए पनि पार्टीभित्रको सम्पूर्ण संरचना भंग गरेर पूर्ण एकीकरण गराउन प्रचण्ड सफल हुन सकेनन् । विचार, इतिहास र राजनीतिक संस्कार भिन्न भएकै कारण एकीकृत समाजवादीका थुप्रै नेताहरू प्रचण्ड नेतृत्वको दलमा मिसिन इच्छुक रहेनन् । हिंसात्मक विद्रोहको इतिहासबाट उदाएको माओवादीसँग विगतमा ती नेताहरूले खुलेर विरोध गरेका थिए-तर अहिले त्यही नेतृत्वसँग विलय हुनु उनीहरूको राजनीतिक यात्राको एउटा विडम्बना पनि हो ।
यस प्रक्रियामा घनश्याम भुसाल र रामकुमारी झाँक्री जस्ता नेताहरू अलगै बाटो रोजे । भुसालले माओवादीको हिंसात्मक इतिहाससँग आफूलाई जोडिन नसक्ने स्पष्ट संकेत गरे भने झाँक्री, जसले विगतमा एमाले नेतृत्वविरुद्ध तीव्र आवाज उठाएकी थिइन्, अन्ततः गल्ती स्वीकार गर्दै पुनः एमालेमा फर्किइन् । नेपालको राजनीति आजकल चेसका गोटीझैँ लगातार चलाइरहेको छ–को कहाँ पुग्छ, कसरी मोडिन्छ, पूर्वानुमान गर्न कठिन हुँदै गइरहेको छ । माओवादीका पूर्वउच्च अधिकारी रामबहादुर थापा ‘बादल’ र टोपबहादुर रायमाझी एमालेमा प्रवेश गरेपछि विभिन्न विवादमा तानिँदै जेलसम्मको यात्रा तय गर्नुपरेको उदाहरण ताजै छ ।
यसैबीच, एमाले भित्र पनि शक्ति समीकरण तीव्र रूपमा बदलिँदैछ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पक्षलाई कमजोर पार्न खोज्ने ओलीपक्षीय रणनीतिले आन्तरिक द्वन्द्वलाई अझ बलियो बनाएको छ । राजनीतिक रूपमा अविभाज्य देखिएका ओली-भण्डारी सम्बन्ध अहिले आएर कटुतामा परिणत हुनु एमालेभित्रको प्रतिद्वन्द्वताको नयाँ आयाम हो ।
ओली नेतृत्वले विरोधी पक्षलाई पछाडि धकेल्ने, कारबाही गर्ने वा स्पष्टीकरण सोध्ने प्रवृत्ति अवलम्बन गर्दै आएको आलोचना पाइन्छ । भर्खरैमात्र केही नेताहरू अनुशासनात्मक कारबाहीमा परेका छन् । एक समयमा ओलीका अत्यन्त निकट रहेका गोकुल बाँस्कोटा र योगेश भट्टराई अहिले खुला रूपमा ओली नेतृत्वको आलोचना गर्दै आएका छन् । भीम रावल तथा बामदेव गौतमजस्ता नेताहरू पनि त्यही किसिमले संगठनबाट बाहिरिएर अन्य राजनीतिक समीकरणमा उभिन पुगेका छन् ।
अहिले एमालेभित्र अध्यक्षका लागि ईश्वर पोखरेलले ओलीविरुद्ध चुनौती दिने घोषणा गरेका छन् । अर्कातर्फ, भीम रावल एमालेबाट निकालिएपछि प्रचण्डको राजनीतिक छातामुनि पुगेका छन् । विचार नमिले पनि राजनीतिक आसरा खोज्दै उनीहरू पुनः नयाँ गठबन्धनमा बसेका छन् । राजनीतिक अव्यवस्था, अहंकार र हठका कारण दलहरू टुक्रिने, नेताहरू एकअर्काविरुद्ध उभिने र अन्ततः राष्ट्रको हितभन्दा व्यक्तिगत स्वार्थ बलियो बन्ने प्रवृत्ति बढ्दो छ । एमालेका सन्दर्भमा यस्तो अहंकार मुख्यतः केपी शर्मा ओलीमा केन्द्रित देखिन्छ, जसको असर पार्टीभित्र दिगो रूपमा परेको छ ।
यही पृष्ठभूमिमा हुनलागेको एमाले महाधिवेशन निर्णायक बन्नेछ । पार्टीलाई सम्यक्, धैर्यवान, सन्तुलित र समावेशी ढंगले सञ्चालन गर्नसक्ने नेतृत्वको खोजी अहिले तीव्र आवश्यकता बनिरहेको छ । यो आवश्यकता केवल एमालेमै सीमित छैन, नेपाली कांग्रेससहित सबै प्रमुख दलहरू नेतृत्वगत निकास खोज्न दबाबमा छन् । कांग्रेसमा महाधिवेशन नै टार्ने प्रयास भइरहेका बेला एमाले भने प्रक्रियात्मक रूपमा अघि बढिरहेको देखिन्छ ।
नेपालको समग्र राजनीतिक संस्कृतिलाई हेर्दा अहिले देखिएको तरलता केवल एक-दुई दलको समस्यामा सीमित छैन । विगत तीन दशकको बहुदलीय यात्रामा राजनीतिक दलहरू संघीय लोकतान्त्रिक गणतन्त्रका संरक्षकका रूपमा उभिनुपर्ने हो, तर व्यावहारिक रूपमा उनीहरू नै अस्थिरता र अविश्वासका स्रोत बन्दै गएका छन् । विचारधारालाई पछाडि धकेलेर तत्कालीन राजनीतिक अवसरका आधारमा नेताहरूले गरेको आवत-जावत, एक दिन गाली गरेर अर्को दिन गठबन्धनमा उभिने प्रवृत्ति, राजनीतिक मूल्य-मान्यताका ठाउँमा स्वार्थ र सत्ताकामनाले कब्जा जमाएको अवस्था-यी सबैले पार्टीहरूलाई संस्थाको रूपमा कमजोर बनाएको छ ।
विगतमा जनताबाट उत्साहित समर्थन पाएका नेताहरू आज आन्तरिक विभाजनका बीच विश्र्वसनीयता पुनःस्थापन गर्ने प्रयत्नमा छन् । तर, राजनीतिक व्यवहारमा आएको गिरावट यति गहिरो छ कि केवल भाषणले मात्र यो भरोसा फर्कने अवस्था छैन । पार्टीभित्र विवेकपूर्ण बहसको संस्कृति हराउँदै जानु, विधि र प्रक्रियालाई अर्थहीन बनाउनु, आन्तरिक चुनावलाई औपचारिकतामा सीमित गर्नु-यी सबैले दलहरूलाई वैचारिक होइन, व्यक्तिकेन्द्रित संगठनमा परिणत गरेको छ ।
नेपालका प्रमुख दलहरूमा नेतृत्व हस्तान्तरणको स्पष्ट प्रक्रिया नहुनु पनि अहिले देखिएको राजनीतिक अव्यवस्थाको मुख्य कारण हो । दशकौंदेखि शीर्षस्थ भएको नेतृत्वबाट नयाँ पुस्तामा जिम्मेवारी सर्दै गयो भने पार्टी आन्तरिक रूपमा सुदृढ बन्छ, तर अहिले जुन संरचना बनेको छ, त्यसमा नेतृत्व परिवर्तन ‘संभावना’ होइन, ‘खतरा’ जस्तै ठानिन्छ । यही कारणले पार्टीभित्र असन्तुष्ट समूहहरू बढिरहेका छन्, जसले असमयमा विद्रोह, विभाजन वा विरोध जन्माउने अवस्था बनाइरहेको छ । राजनीतिमा पद, शक्ति र संगठनगत प्रतिस्पर्धा स्वाभाविक हुन् । तर, नेताहरूलाई लखेट्ने, धपाउने, कारबाहीमा सीमित गर्ने प्रवृत्तिले दलभित्र विभाजन र अस्थिरतामात्र बढाउँछ । राष्ट्रको हित र लोकतान्त्रिक मूल्यलाई प्राथमिकता दिने, भद्र राजनीतिक संवादलाई प्रोत्साहित गर्ने र आन्तरिक एकता मजबुत बनाउने संस्कृति विकास गर्नु आज अनिवार्य आवश्यकता बनेको छ ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच