दाङ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका विगतका कमजोरी सच्याउँदै जनताको चाहना र अपेक्षाअनुरूप अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । शनिबार दाङको लमहीमा आयोजित ‘पार्टी एकता सन्देश तथा आत्मालोचना सभा’ लाई सम्बोधन गर्दै प्रचण्डले १५ वटा कम्युनिष्ट घटकहरूको एकताबाट बनेको वर्तमान नेकपा केवल चुनावका लागि नभई, राष्ट्र र जनताको रक्षा गर्ने ऐतिहासिक संकल्पसहित गठन भएको स्पष्ट पार्नुभयो ।
उहाँले संविधानसभा मार्गबाट संविधान जारी गर्ने लामो संघर्ष र बलिदानकै उपलब्धि हासिल भए पनि जनअपेक्षाअनुरूप परिणाम दिन नसकेको स्वीकार गर्नुभयो । ‘हामीले राष्ट्र र जनताको हितमा पटक-पटक प्रयास गर्यौँ, तर अपेक्षित नतिजा दिलाउन सकेनौँ । कहाँ कमी भयो, कहाँ त्रुटि भयो भन्नेबारे क्रमशः समीक्षा गर्दै छौँ’, प्रचण्डले भन्नुभयो ।
आफूले सभालाई ‘आत्मालोचना सभा’ र ‘नयाँ संकल्प सभा’का रूपमा लिएको बताउँदै उहाँले विगतका गल्ती पुनः नदोहोरिने दृढता व्यक्त गर्नुभयो ।
पछिल्लो समय युवा पुस्ताले चलाएको आन्दोलनले पुराना नेताहरूलाई गम्भीर रूपमा झकझक्याएको उल्लेख गर्दै प्रचण्डले भन्नुभयो, ‘नयाँ पुस्ताको आन्दोलनले हामी सबैलाई घचघच्यायो । यसले आत्मसमीक्षा र रूपान्तरणको आवश्यकता महसुस गरायो । युवाहरू र जनताको चाहनाअनुसार काम गर्न अहिले बदलिनुको विकल्प छैन ।’
मजदुर, किसान, दलित, महिला, मुस्लिम, थारूलगायत उत्पीडित समुदायका हकहितका लागि नयाँ ढंगले संघर्ष गर्ने प्रतिबद्धता व्यक्त गर्दै उहाँले सुशासन, आर्थिक समृद्धि र रोजगारी सिर्जनामा ठोस परिणाम दिन नसकेकोमा आत्मालोचना गर्नुभयो ।
सभालाई सम्बोधन गर्न संयोजक ‘प्रचण्ड’सँगै सहसंयोजक माधवकुमार नेपाल, नेताहरू वामदेव गौतमलगायत प्रदेशस्तरीय नेताहरू सहभागी हुनुभएको थियो । नेकपाले शुक्रबारदेखि प्रदेश-प्रदेशमा सन्देश सभा आयोजना गरिरहेको छ । शुक्रबार सुदूरपश्चिम सन्देश सभाअन्तर्गत धनगढीमा कार्यक्रम गरिएको थियो । गण्डकीको पोखरामा मंसिर १४ गते, कोसीको विराटनगरमा मंसिर १५ गते सभा हुनेछ । साथै कर्णालीको सुर्खेतमा मंसिर १८ गते, मधेसको जनकपुरमा मंसिर २० गते र बागमतीको हेटौँडामा मंसिर २३ गते सभा हुनेछ । मंसिर २९ गते देशभरका पालिकाहरूमा एकता सन्देश सभा हुनेछ ।






निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
ठेक्का प्रक्रियामा अनियमितता : प्रतिस्पर्धीलाई
धान बालीमा कृषि यान्त्रीकरण :
फिफा विश्वकप २०२६ हेर्न डिशहोमको
भेडा-भेडासँग बाख्रा-बाख्रासँग
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम