राजनीतिको मियो सबैका लागि र सधैंका लागि निकै आकर्षक हुने गरेको छ । छिमेकी भारतदेखि अमेरिकासम्मका लोकतन्त्रहरूमा फरक पेशा-व्यवसायका, प्रशासनिक उच्च पदमा आसीन भएका वा सुरक्षा क्षेत्रमा लामो समयसम्म अनुभवकासाथ दक्षता हासिल गरेका सबै नै राजनीतिक तृष्णाबाट जति मुक्त हुँदैनन्, त्यति नै दलहरू पनि उनीहरूको उपयोगप्रति सचेत देखिएका छन् । कुनै पनि पेशा-व्यवसायमा भएका व्यक्तिहरू आफ्नो सरकारी सेवा अवधि पूरा भएपछि अथवा बीचैमा राजीनामा दिएर भए पनि राजनीतिप्रति आकर्षित भइरहेको प्रसस्त उदाहरण छन् ।
हाम्रो देशको प्रसंग फरक छ । आफू निकट, अथवा आफ्नो पार्टीको साख वृद्धि गर्ने र उपयोग गर्ने हेतुले अन्यपेसा व्यवसायका मानिसहरूलाई आकर्षित गर्ने र समाविष्ट गर्ने काम हुने गरेको छ । हाम्रो देशमा जुनसुकै क्षेत्रका व्यक्तिहरू भए पनि ती व्यक्तिहरूले आफ्नो विषय क्षेत्रमा चाहिँ दक्षता हासिल गर्न सकिरहेका हुँदैनन् तर राजनीतिक विश्लेषण भने सबैले गरिरहेका हुन्छन् भन्ने स्थापित धारणा छ । आफ्नो क्षेत्रबाहेक अर्को क्षेत्रको विश्लेषण र व्याख्या पनि गरिरहेका हुन्छन् । विगतदेखि अहिलेसम्म हेर्ने हो भने मेडिकल डाक्टरहरू राजनीतिमा आएका कुरा आजका होइनन् निकै पुराना हुन् ।
डा.तुलसी गिरीदेखि डा.केशरजंग रायमाजीसम्मका इतिहास यस्तै छन् । त्यसैगरी इन्जिनियरहरूले पनि आफ्नो इन्जिनियरिङ क्षेत्र छोडेर राजनीतिमा प्रवेश गरेका छन् भने कानुन व्यवसायीको निकै ठूलो संख्या राजनीतिक क्षेत्रमा संलग्न रहने गरेको छ । यी केही प्रतिनिधि उदाहरणमात्रै हुन् । यस्ता अनेकौं उदाहरण दिन सकिन्छ । संसद्मै हेर्ने हो भने पनि धेरै ठूलो संख्यामा सांसदहरू स्वतन्त्र राजनीतिभन्दा अन्य विभिन्न क्षेत्रबाट आउने गर्छन् । गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भएका बेला उहाँ संसद्मा बेहोस् हुनुभयो । त्यसबेला उहाँलाई तत्काल प्राथमिक उपचार सांसदहरूले नै गर्नुभयो जो डा.वंशीधर मिश्रलगायत चिकित्सक सांसदका रूपमा उपस्थित हुनुहुन्थ्यो । निजामती सेवाबाट अवकाश पाएका अथवा स्वेच्छाले पद त्याग गरेका व्यक्तिहरू मन्त्री भएका पनि अनेकौं दृष्टान्त छन् । राजा ज्ञानेन्द्रले सक्रियतापूर्वक शासन गरेका समयमा अनेक विज्ञ व्यक्ति सचिवबाट राजीनामा गरेर विश्राम गरिरहेको अवस्थामा मन्त्री भएका थिए ।
चुनावी सरकारको अध्यक्ष बनेर सर्वोच्च अदालतका प्रधानन्यायाधीश खिलराज रेग्मीले पनि काम गर्नुभयो । पछिल्लो समयमा पनि यस्तो लहर चलेको पाइन्छ । प्रहरी सेवाका उच्च पदस्थ अधिकृतहरू सेवानिवृत्त भएपछि राजनीतिमा आएका धेरै उदाहरण छन् । प्रहरी महानिरीक्षक भइसकेका दिलबहादुर (डिबी) लामा नेपाली कांग्रेसको मन्त्रिमण्डलमा सामेल हुन पुग्नुभएको थियो । अहिले पछिल्लो चरणमा प्रहरीको उच्च पदमा पुगेका व्यक्ति विभिन्न राजनीतिक पार्टीमा संलग्न हुनुभएको देखिन्छ । हालैमात्र पूर्वएआइजी विश्वराज पोखरेल राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्नुभएको छ । उहाँको प्रवेशलाई अर्थपूर्ण मानिएको छ । यस लहरमा पहिलेदेखि मिसिँदै आउनुभएका सर्वेन्द्र खनाल समुन्नत नेपाल पार्टी, नवराज सिलवाल नेकपा एमाले, रमेश खरेल नेपाल सुशासन पार्टीमा संलग्न हुनुभएको छ ।
उहाँहरूमध्ये सिलवाल र खरेल पूर्वएआइजी हुनुहुन्छ भने खनाल पूर्वआइजिपी हुनुहुन्छ । प्रहरी महानिरीक्षक भइसक्नुभएका ध्रुवबहादुर प्रधान राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेर राजनीति गरिरहनुभएको छ । उहाँ मन्त्रीसमेत बनिसक्नुभयो । यसरी राजनीतिमा आफ्नो विभिन्न किसिमको संलग्नता देखाए पनि उहाँहरू आफू आफ्नो सेवामा छँदा जति सफल हुनुहुन्थ्यो राजनीतिमा त्यति सफल बन्न भने सक्नुभएको छैन । राष्ट्रसेवकको मात्र कुरा होइन कलाकारहरू पनि राजनीतिमा प्रवेश गरिरहेकै छन् उहाँहरूको संलग्नता पनि त्यति सफलतापूर्वक अगाडि बढ्न सकेको छैन । गायक कलाकार तथा प्रसिद्ध सञ्चारकर्मी कोमल ओली भने एमाले प्रवेश गरेर राष्ट्रियसभाको सदस्यसम्म बन्नुभयो । उहाँ पहिले राप्रपामा हुनुहुन्थ्यो ।
अभिनयका क्षेत्रमा ख्याति कमाउनुभएकी रेखा थापा पनि राजनीतिमै संलग्न हुनुहुन्छ । कुनै समय करिश्मा मानन्धर पनि राजनीतिको मौलोमा जोडिनु भएको थियो । सफल हुनुभएको देखिएन । हालैमात्र राजनीतिमा प्रवेश गर्नुभएकी रीमा विश्वकर्माहरूको सफलता असफलता भोलिका दिनहरूमा पुष्टि हुँदै जाला तर हाम्रोमा कलाकारहरूको त्यत्रो ठूलो सम्मान हुने गरेको पाइँदैन । भारतमा हो भने कलाकारिता क्षेत्रबाट आफ्नो उचाइ प्राप्त गरिसकेका व्यक्तिहरू राजनीतिमा प्रवेश गरी जुन ठाउँबाट उठे पनि विजय हासिल गर्न सक्छन् । त्यहाँ कलाकारलाई उच्च सम्मानको दृष्टिले हेरिन्छ, हाम्रोमा भने कुनै कलाकार यसरी राजनीतिमा अगाडि बढ्न सकेका छैनन् । जेन-जी आन्दोलनपछि राजनीतिक समीकरण फेरबदल भइरहेका छन् । डेढ दशकदेखि क्रियाशील विवेकशील साझा पार्टी अहिले आएर राष्ट्रिय स्वतन्त्र पार्टीमा विलय भएको छ ।
कम्युनिष्ट पार्टीहरूमा पनि यसैगरी समीकरण फेरिने काम भएको छ । पुराना पार्टीहरूप्रतिको जनताको वितृष्णाले नयाँ पार्टीहरूप्रति आकर्षण बढ्दै गएको कारण २०७९ को आमनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी एकाएक ठूलो पार्टी बन्न पुगेको थियो । अब अहिलेको परिप्रेक्ष्यमा हेर्ने हो भने एकातिर केही प्रहरी सेवाका ठूला पदमा बसिसकेका व्यक्तिहरू रास्वपामा प्रवेश गर्ने र विवेकशील साझा जस्ता पार्टी पनि यसमा विलय हुँदै जाने हो भने यस पार्टीको सभापति जतिसुकै विवादमा परे पनि भोलि नेपालको राजनीतिक परिदृश्य निश्चय पनि फेरिन सक्छ । यद्यपि रास्वपाबाट अनेक प्रभावशाली नेता नेतृहरू अलग भएका पनि छन् ।
प्रहरी सेवाबाट पार्टी राजनीतिमा समाविष्टमध्ये प्रत्यक्ष निर्वाचनमा पूर्वमहानिरीक्षक प्रधान, दिबहादुर लामा र सिलवालबाहेक अन्य व्यक्तिहरू प्रतिस्पर्धी भएर पनि विजयी बन्न सक्नुभएको उदाहरण कमै छ । अहिले राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेपछि पोख्रेलको जन्मजिल्ला ओखलढुंगामा एक किसिमको फरक राजनीतिक परिस्थिति सिर्जना हुने हल्ला भने ह्वात्त बढेको देखिन्छ । तत्कालीन सरकारले राजनीतिक पूर्वाग्रहका कारण प्रहरी महानिरीक्षक नबनाइएका विश्वराज पोख्रेल तीन वर्षसम्म चर्चामा रहे पनि कुनै राजनीतिक पार्टीभित्र संलग्न हुनुभएको थिएन । नेपाली कांग्रेस, एमाले र विगत बीस वर्षयता माओवादीको त्रिकोणात्मक प्रतिस्पर्धा हुने ओखल्ढुंगा क्षेत्रमा अब चतुष्कोणीय हुने अनुमान गरिँदैछ ।
ओखलढुंगा जन्म र अध्ययनभूमि भए पनि लामो समयदेखि एकप्रकारले भुइँतहमा नजोडिएका पोख्रेलले आफूलाई ओखलढुंगामै प्रतिस्पर्धी बनाउने उद्घोष गरिसकेको हुनाले त्यहाँको राजनीतिक परिदृश्य रोचक हुने स्पष्ट छ । जे होस् संरक्षण खोज्न, महत्वाकांक्षा अथवा सेवाभावले होस् सुरक्षा, प्रशासन वा जुन क्षेत्रबाट अवकाश प्राप्त उच्चपदस्थ राजनीतिमा आउने लहर बढेबाट कुनै एउटा ठाउँको मात्र होइन देशकै राजनीतिक परिदृश्य फेरिन सक्नेछ, त्यसलाई भने अस्वीकार गर्न सकिँदैन ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच