काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन सर्वोच्च अदालतले परमादेश जारी गरेको छ । न्यायाधीशद्वय हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयको पूर्ण इजलासले सोमबार उक्त परमादेश जारी गरेको हो । नेपालको संविधानको धारा १६८ (२) बमोजिम मुख्यमन्त्री नियुक्ति हुनुपर्नेमा तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले १६८ (३) बमोजिम मधेश प्रदेशसभाका सबैभन्दा ठूलो दल नेकपा एमालेका संसदीय दलका नेता यादवलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो ।
सोही नियुक्तिविरुद्ध निवर्तमान मुख्यमन्त्री जितेन्द्र सोनल, नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवसहित ७३ जना सांसदहरूले दायर गरेको रिटमा सर्वोच्चले सोमबार परमादेश जारी गरेको हो ।
मुख्यमन्त्री यादवले विश्वासको मत पाए यही सरकारले निरन्तरता पाउनेछ । तर, उहाँले विश्वासको मत पाउन नसके नेपालको संविधानको धारा १६८ (२) अनुसार सरकार गठनको काम कारबाही अघि बढाउन प्रदेश प्रमुखसहितका नाममा परमादेश जारी भएको हो ।
भूमि आयोग खारेज गर्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर
सर्वोच्च अदालतले सरकारले गरेको भूमि आयोग र त्यसको जिल्ला संरचना खारेज गर्ने निर्णय बदर गरेको छ । भूमि समस्या समाधान आयोग खारेज गर्ने सरकारले गरेको निर्णयलाई सर्वोच्चले खारेज गरेको हो ।
न्यायाधीशद्वय सारंगा सुवेदी र श्रीकान्त पौडेलको इजलासले भूमि आयोगका अध्यक्ष हरिप्रसाद रिजालले दायर गरेको रिट जारी हुने फैसला सुनाएको हो । सरकारले भूमि आयोग र त्यसको जिल्ला संरचना खारेज गर्ने निर्णय गरेको थियो । उक्त निर्णयविरुद्ध अध्यक्ष रिजालले कात्तिक ९ गते सर्वोच्चमा रिट दायर गर्नुभएको थियो । उक्त रिटमा सुरुमा सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो भने त्यसपछि अन्तरिम आदेश जारी गरेको थियो ।
मन्त्रिपरिषद्ले २३ असोजमा भूमि समस्या समाधान आयोग र त्यसका जिल्ला समिति खारेज गर्ने निर्णय गरेको थियो । पछिल्लोपटक १३ कात्तिक २०८१ मा गठन भएको ‘भूमि समस्या समाधान आयोग’ ले ‘देशभरका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोवासीका नाममा जग्गा दर्ता एवं जग्गा प्राप्तिको अन्तिम पटकको अवसर’ भन्दै काम तीव्र गतिमा अघि बढाएको थियो ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच